कविताः युगको अन्तिम रात

कविता

मीनकुमार नवोदित, काठमाडौं

 

युगको अन्तिम रात अस्ताउनुअघि

डाँडामा टुक्रुक्क बसेर बिदाइको हात

हल्लाउनेछ घामले ।

 

उड्नुअघि एकै ठाउँ भेला भएर

गाउने छन् चराहरूले दु:ख–सुखका गीत

पग्लनुअघि हिउँको शिरमा

बल्नेछ समयको अन्तिम आगो ।

 

जीवनको अन्तिम कुनामा पुग्न

हतार हुने छैन बतासलाई

थकाईका पोकाहरूलाई सिङ्गोरीमा झुण्ड्याएर

आफ्नै किनारामा अडेसो लाग्दै सुस्ताउनेछ नदी

मन्दिरका ताला तोडेर

सडकमा निस्कने छन् देउताहरू ।

 

युगको अन्तिम रात–

आँगनमा निस्किएर

खेल्ने छैनन् केटाकेटी

बन्द हुनेछ वृद्धवृद्धाको खोकी

रोकिनेछ भ्mयाउँकिरीको आवाज ।

 

रोगले ग्रस्त पृथ्वीलाई

छिचिमिराझैं भेला भएर मान्छेले

काखमा राखेर हल्लाउने छन्

अन्तरिक्षबाट ओर्लेर

ताराहरूले सुम्सुम्याउने छन्

जूनले हतासिंदै चुम्बन गर्नेछ

पृथ्वीको मृत्यु हुनुअगावै

आत्महत्या गरिसकेको हुनेछ विज्ञानले ।

 

पृथ्वीलाई काँधमा बोकेर

मलामी जाने कोही रहने छैनन्

त्यही रातदेखि खोजी हुनेछ

मान्छेविहीन अर्को पृथ्वीको ।

 

कवि परिचयः मीनकुमार ‘नवोदित’२०५२ देखि निरन्तर लेखनमा संलग्न छन् । उनका “फूलबारीभित्रका भमराहरु” (कवितासङ्ग्रह–२०५७), “झरीले रुझेको गाउँ” (कवितासङ्ग्रह–२०७०) “समयको बयान” (कवितासङ्ग्रह–२०७८) प्रकाशित छन् । उनले विसं २०७७ को युवा वर्ष मोती पुरस्कार प्राप्त गरेका छन् ।

1 thought on “कविताः युगको अन्तिम रात

  1. कविता : युगको अन्तिम रात
    घतलाग्दो रचना पढन मिल्यो । कविलाई बधाई एवम् हार्दिक शुभकामना ।

Leave a Reply