सुबिन भट्टराईद्वारा लिखित साया उपन्यास : एक पाठकीय दृष्टिकोण

गद्य विविध पुस्तक समीक्षा

भाष्कर मैनाली शर्मा, दार्जिलिङ

सुबिन भट्टराईद्वारा लिखित उपन्यास ‘साया’ सन् २०१४ मा काठमाडौँबाट पहिलोपटक प्रकाशित भएको हो। यो उपन्यास लेखकको अत्यन्त लोकप्रिय कृति ‘समर लभ’ को दोस्रो भागका रूपमा परिचित छ। ‘समर लभ’ मा सुरु भएको कथावस्तुलाई निरन्तरता दिँदै ‘साया’ले त्यही कथालाई अर्को मोडमा अगाडि बढाएको छ। ‘समर लभ’ जहाँ समाप्त हुन्छ, ‘साया’ उपन्यास त्यहीँबाट सुरु हुन्छ।
यस उपन्यासको शीर्षक यसको मूल नायिका सायाकै नामबाट राखिएको छ। ‘साया’ उपन्यासमा पनि ‘समर लभ’ जस्तै मुख्य पात्र अतीत र साया नै हुन्। यो उपन्यास अतीत र सायाबीचको प्रेम, वैवाहिक सम्बन्ध, र त्यससँग गाँसिएका सामाजिक तथा मनोवैज्ञानिक द्वन्द्वहरूमा केन्द्रित छ।
‘समर लभ’ उपन्यासमा सायाले अतीतसँग सम्बन्ध तोडेपछि अतीतमा परेको गहिरो मनोवैज्ञानिक प्रभावलाई लेखकले सशक्त रूपमा चित्रण गरेका थिए। तर ‘साया’ उपन्यासमा भने सायाले किन अतीतसँग सम्बन्ध विच्छेद गर्न बाध्य भइन् भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास गरिएको छ। यस उपन्यासले अन्तर्जातीय विवाहको विषयलाई गम्भीर रूपमा उठाएको छ। आजको समयमा अन्तर्जातीय विवाह समाजमा केही हदसम्म स्वीकार्य भए पनि पूर्ण रूपमा सहज र सर्वस्वीकृत भइसकेको अवस्था अझै देखिँदैन।
उपन्यासमा एक खस–बाहुन युवक अतीत र काठमाडौँको संख्य वंशकी युवती सायाबीचको वैवाहिक सम्बन्ध प्रस्तुत गरिएको छ। प्रारम्भमा दुवै परिवारबाट सहमति नपाए पनि अन्ततः अतीतको परिवारले उनीहरूको सम्बन्ध स्वीकार गर्छ र उपन्यासको अन्त्यतिर सायाको परिवारले पनि उक्त वैवाहिक सम्बन्धलाई मान्यता दिन्छ। यसरी उपन्यास संयोगान्त अन्त्यतर्फ अग्रसर हुन्छ।
यस उपन्यासले एउटा महत्त्वपूर्ण सन्देश दिन्छ— केवल प्रेम हुनु नै सबै समस्याको समाधान होइन। प्रेम र विवाहपछि पनि विभिन्न सामाजिक, पारिवारिक तथा व्यक्तिगत अवरोधहरूका कारण सम्बन्धमा दरार आउन सक्छ। अतीत र सायाबीच गहिरो प्रेम हुँदाहुँदै पनि विवाहपछिको जीवन सहज रहँदैन। एक समय त उनीहरूको सम्बन्ध लगभग विच्छेदको अवस्थामा पुग्छ। तर अनेक उतारचढाव र संघर्षपछि उनीहरूले आफ्नो सम्बन्ध जोगाउन सफल हुन्छन्।
पाठकको दृष्टिले हेर्दा, यस उपन्यासले एउटा गहिरो प्रश्न पनि उठाउँछ— साहित्यमा प्रेम सम्बन्धहरू अन्ततः सफल देखिए पनि वास्तविक जीवनमा यस्ता कति प्रेमकथाहरू अधुरै टुंगिएका होलान्? कति मानिसहरू गहिरो प्रेम हुँदाहुँदै पनि बिछोडको पीडाबाट गुज्रन बाध्य भए होलान्? यस्ता विछोडहरूले मानिसको जीवनमा कति गहिरो नकारात्मक मनोवैज्ञानिक असर पार्छन् भन्ने बोध पनि यस उपन्यासले गराउँछ।
‘साया’ उपन्यासमा पनि ‘समर लभ’ झैँ प्रेम सम्बन्ध टुट्दा त्यसले पात्रहरूमा पार्ने गहिरो मानसिक पीडा र असरलाई लेखकले अत्यन्त संवेदनशील ढङ्गले प्रस्तुत गरेका छन्। साथै, नेपाली युवाहरू अध्ययन र रोजगारीका लागि विदेशिन बाध्य भइरहेको यथार्थलाई पनि उपन्यासमा समेटिएको छ। काठमाडौँ, धनगढी, विराटनगर, जोगवनी, दिल्ली, बिहार, गोवा तथा युरोपको नर्वे देशको ओस्लो जस्ता स्थानहरूलाई पृष्ठभूमि बनाएर कथा अगाडि बढाइएको छ।
समय सन्दर्भमा हेर्दा, यो उपन्यास त्यस्तो कालखण्डमा लेखिएको हो जब नेपाली समाज रोजगारी र अध्ययनका लागि युरोप–अमेरिका केन्द्रित हुँदै गएको थियो। सामाजिक सञ्जालहरूको उदय भइसकेको थियो र फेसबुक, स्काइपजस्ता माध्यमहरूले मानिसहरूको जीवनशैलीमा प्रभाव पार्न थालेका थिए। यी सबै पक्षहरू उपन्यासमा यथार्थपरक ढङ्गले प्रतिबिम्बित छन्।
अन्त्यमा भन्नुपर्दा, ‘साया’दुई व्यक्तिबीचको प्रेम सम्बन्धमा आधारित भए पनि यसले प्रेम मात्र पर्याप्त हुँदैन; समय, परिस्थिति र सामाजिक स्वीकार्यता पनि अनुकूल हुनुपर्छ भन्ने सन्देश दिन्छ। उपन्यास अत्यन्तै पठनयोग्य छ र विशेष गरी युवा पाठकहरूलाई आकर्षित गर्छ। लेखकबाट यस्तै संवेदनशील र यथार्थपरक उपन्यासहरू भविष्यमा पनि प्रकाशित भइरहोस् भन्ने अपेक्षा पाठक वर्गले राख्न सक्छ।

०००