सिद्धार्थ गौतम : गम्भीरतादेखि बुद्धत्वसम्म

गद्य विविध

गोविन्द पौडेल , काठमाडौं

सिद्धार्थ गौतम वर्तमान सौर्य गणनामा आधारित पात्रोका अनुसार एक ऐतिहासिक व्यक्ति हुन् । यद्यपि उनका विषयमा तथ्यपरक वस्तु कम र मिथहरू ज्यादा भेटिन्छन् । उनी यही धरतीमा अवतरण भएका शाक्यमुनि बुद्ध थिए। उनलाई दिइएको आम नाम सिद्धार्थ थियो । उनको क्षत्रीय कुल शाक्य वा शाक्यमुनिहरूको समुदाय थियो। बौद्धहरूका लागि उनी तथागत , महान तपस्वी र जिन (विजेता) भनेर चिनिन्छन् । धेरै बौद्धहरूले उनलाई इसापूर्व पाँचौं शताब्दीतिरका हुन् भनेर मान्छन्।
उनी वर्तमान बौद्ध समुदायका संस्थापक व्यक्ति हुन् । उनलाई उनका चेलाहरूले भगवान (भगवत् प्राप्त व्यक्ति ) भनेर सम्बोधन गर्थे । उनका लागि प्रयोग गरिएका विभिन्न उपनामहरूले उनलाई सबै क्षेत्रहरूमा पूर्णता प्राप्त गरेको अतिमानवीय सामर्थ्य भएका अलौकिक तपस्वीका रूपमा परिभाषित गर्दछन् । उनले पाएको ज्ञानलाई सिद्ध मानिन्छ । जस्तै: उनको शारीरिक रूपको अनुपम सौन्दर्य र अरूलाई आफ्नो कुरा अरूलाई बताउन सक्ने अद्भुत शैली ।
एक प्रबुद्ध प्राज्ञका रूपमा बुद्धको चौतर्फी प्रशंसा हुने गरेको पाइन्छ । गौतमले अतिमानवीय विभिन्न गुणहरूमाथि पारमितासिद्ध गरेको बुझिन्छ। यी विलक्षण प्रयासहरूले उहाँलाई जगत् र मनको सत्य स्वरूप र यिनको वास्तविक प्रकृति बुझ्न तत्पर गराएका थिए । उनका प्रयासहरूले मानिसका दु:ख र क्लेशहरूप्रति पूर्ण रूपमा ब्यूँझाउन तयार पारे जसरी उहाँ अघि अन्य बुद्धहरू ब्यूँझिएका थिए ।
सिद्धार्थको जन्म कपिलवस्तु नजिकै लुम्बिनीको कुनै नगर गणराज्यमा भएको थियो । वर्तमान राजनीतिक नक्सामा लुम्बिनी, कपिलवस्तु र तिलौराकोट नेपालको भूगोलभित्र पर्दछ्न् । उनका पिता शुद्धोदन कपिलवस्तुका प्रमुख शासक थिए। बुद्ध जन्मेको सात दिनपछि उनकी आमा महामायाको मृत्यु भयो । महामायालाई कतै मायादेवी पनि भनिएको छ । उनलाई उनकी काकी र सौतेनी आमा, गौतमी प्रजापतिले हुर्काएका थिए ।
बुद्धको नामकरण समारोहमा भेला भएका ब्राह्मणहरूले उनका शारीरिक चिह्नका आधारमा उनी या त विश्वव्यापी राजा वा बुद्ध बन्नेछन् भन्ने भविष्यवाणी गरेका थिए । जवान गौतमले धेरै आराम र विलासी जीवनको आनन्द उठाए र सोह्र वर्षको उमेरमा सुप्पबुद्धकी छोरी यशोधरा सँग विवाह गरे। यशोधरालाई कतै कतै गोपा पनि भनिएको छ ।
सिद्धार्थ गौतम २९ वर्षका हुँदा उनलाई जीवनमा सारै प्रभाव पारेका भनिएका घटना र दृश्य दृष्टिगोचर भएका थिए भन्ने कथन लोकप्रिय रूपमा सुनाइन्छ । ती दृश्यहरूमा वृद्ध, बिरामी , मृत शरीर र एक वैरागीको थिए । सिद्धार्थको एउटा छोरा पनि जन्मिएका थिए । उनको पुत्रको नाम राहुल थियो भनी बताइन्छ । राहुल जन्मिएपछि सिद्धार्थलाई झनै बढी जीवनको निस्सारताबोध भएको थियो । उनले आफ्नो पुत्रलाई सुन्दर भविष्यको आशीर्वाद दिए र त्यही दिन घरबाट निस्के। उनले आफ्नै सन्तानलाई पनि परम सत्यको खोजका निम्ति एउटा बाधक तत्वका रूपमा अनुभव गरेका थिए । उनले बच्चाको जन्म हुनु पनि सांसारिक आसक्तिको अर्को स्वरूप हो भन्ने ठाने । आफ्नो बुबाको दरबारबाट टाढा पुगेर सिद्धार्थले आफ्नै कपाल काटे । सांसारिक जीवनका सबै चिज र वस्तुहरू त्यागे र वनवासीको लुगा लगाए। उनले छ वर्षसम्म जङ्गलमा घुमफिर गरे । तपस्या र ध्यानका अनेक विधि र अभ्यास गरे । विभिन्न त्यागीहरूलाई भेटे र कुनै पनि योगीले पहिले कहिल्यै नगरेको कठोर तपस्याको अभ्यास गरे पनि उनले कठेर तपस्या गर्नुको अथवा आफूलाई चर्को शारीरिक पीडा दिनुको मूर्खता महसुस गर्न पुगे । यी कठोर अभ्यासहरूबाट सत्यको वास्तविक खोज र प्राप्ति कहिल्यै हुन सक्दैन भन्ने बोध भएपछि उनले यी अभ्यासहरू त्याग्ने निर्णय गरे।
अन्ततः भोजन ग्रहण गर्दै , शरीरलाई कुनै पीडा नदिई दत्तचित्त भई गरेको तपस्याका प्रभावद्वारा उनले भारतको गया नजिकै बोधि रूखमुनि बुद्धत्व अथवा जीवनको परम सत्य प्राप्त गरे। उनी सिद्ध मानव बने । प्रकृतिको अवतार बने र अलौकिक शक्तिहरू प्राप्त समेत समर्थ भए भन्ने विश्वास गरिन्छ ।
आफूले ज्ञान प्राप्त गरेपछि गौतम उपदेशक र शिक्षक बने र वाराणसी नजिकै सारनाथ वरिपरि हरिणहरूको वनमा आफ्नो पहिलो उपदेश दिएका थिए । उनको यही पहिलो उपदेशलाई धर्म चक्र प्रवर्तन सूत्र भनिन्छ । अथवा बुद्धको धर्मको पांग्रा घुमाउने पहिलो उपदेश भन्न सकिन्छ । उनले भिक्षुहरूको आफ्नै सङ्गठन बनाउन सुरु गरे र भिक्षुहरूको सङ्गठनका निमित्त बौद्ध हरूको नियम , शील र जीवननिर्वाहका अन्य व्यवस्था सुरु गरे। बुद्धत्व प्राप्त गरेपछि उनले उत्तरी भारतको गङ्गा मैदानका गाउँ र जङ्गलहरूमा घुमीघुमीकन चालीस वर्षसम्म आफ्नो उपदेश , देशना र धर्म प्रचार गरे।
बुद्धको शिक्षाको अन्तिम लक्ष्य भनेको मानिसलाई जन्म र मृत्युको चक्रबाट मुक्ति दिनु हो । यसलाई हिन्दुहरू मोक्ष भन्दछन् । जैनहरू यस परम लक्ष्यलाई कैवल्य भन्छन् । बुद्ध धर्ममा यही लक्ष्यलाई निर्वाण भनिन्छ । आफ्ना चार आर्य सत्य मार्फत उनले संसार दु:खले भरिएको छ भनेर सिकाए ।
ती दुःखहरू इच्छा, अज्ञानता र आसक्तिका कारण उत्पन्न हुन्छन् । दु:ख उत्पन्न हुने कारण पत्ता लागेपछि दु:खको निवारण पनि सम्भव छ भन्ने कुरा सर्वसाधारणलाई बुझाउन उनले अनेक प्रयत्न गरेका थिए । तसर्थ पीडाहरूको कारण नष्ट गरेर पुन: आनन्दिन जीवन बाँच्न सकिन्छ भन्ने कुरा सिद्धार्थले सम्झाए र यसका निम्ति हरेक मान्छे जोगी हुनु जरुरी छैन भनेर संन्यासको वैकल्पिक चुनाव पनि गर्न सकिन्छ भन्ने कुरा आम मानिसलाई बुझाउन खोजे । हाम्रा जीवनका अनेकौँ सफरहरूले निम्त्याउने सफरिङ समाप्त पार्न सिद्धार्थले केही सिद्धान्तनिष्ठ शीलहरू हामीलाई दिएका छन् । ती मार्गहरूलाई आर्य अष्टाङ्गिक मार्ग भनिन्छ । यहाँ मार्ग भन्नाले तरिका , उपाय वा समाधान भन्ने बुझ्नुपर्छ । ती मार्ग हुन् सम्यक दृष्टि , सम्यक लक्ष्य,सम्यक वाणी, सम्यक कर्म, सम्यक आजीविका, सम्यक प्रयास, सम्यक चेतना, सम्यक एकाग्रता ।
यही धेरै विरोध र विरोधाभासले भरिएको हाम्रो वर्तमान जीवनपद्धतिमा सम्यक भन्नाले के बुझिन्छ ? यसको वस्तुनिष्ठ जवाफ पाउन सजिलो छैन । प्रतिस्पर्धाको यो बेलगाम दौडमा हरेक व्यक्तिले आफ्नो अनुकूल कर्मलाई सम्यक कर्म हो भन्ने अडान राखे आश्चर्य नमाने हुन्छ । सिद्धार्थका अनुसार हरेक व्यक्तिले आफ्नो कर्म अनुरुपको फल भोग्नुपर्छ । कर्मको फल भन्ने आफ्नो सिद्धान्त मार्फत उनले प्रत्येक व्यक्ति आफ्नै भाग्यको निर्माता हुनसक्छ भन्ने व्यावहारिक दर्शन सिकाउन प्रयत्न गरे ।
सबैलाई प्रेमभावले हेर्नुपर्छ भन्ने उनको शिक्षा सदा स्मरणीय छ । उनले आफ्नो उपदेशको केन्द्रीय सारतत्वका रूपमा अरूप्रतिको करुणाभावलाई संसारको भलाइको लागि प्रयोग गर्नुपर्छ भन्ने कुरालाई जोड दिएका छन् । उनले दिएका शिक्षाहरूमा बारम्बार देखिने चिज भनेको सबैप्रतिको मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने विषय हो । बौद्ध साहित्यका धेरै रोचक कथाहरूले पशु, बालबालिका र दलितहरूप्रति बुद्धले देखाएको प्रेमको बारेमा बताउँछन्। उनले मोक्षप्राप्तिका निम्ति गरिने तपस्याको कठोरता र शरीर पीडाको आत्मघाती अभ्यासलाई निषेध गरेका छन् । उनले तपश्चर्याको उग्रता र विलासिताको व्यग्रता दुवै चिजलाई बेठिक ठहर्‍याएका हुनाले मानिसको सन्तुलित र सम्यक जीवन प्रणालीलाई मोक्षप्राप्तिको सरल उपायलाई जोड दिएका छन् । बुद्धको यही मार्गलाई मध्य मार्ग भनिन्छ । मध्य मार्ग सबै किसिमका उग्रता र उत्ताउलोपनाबाट मुक्त हुन्छ ।
बुद्धले के महसुस गरे भने जगतमा प्राप्त सबै सबै कुरा अनन्त र अनादि छन् । सबै चिज अनित्य छन् । कुनै पनि चिज सधैंका लागि रहँदैन । नाशवान् चिजहरूका विषयमा शोक गर्नु व्यर्थ छ भन्ने उनलाई लाग्यो । र उनले कुनै अमर आत्मा वा ईश्वरको अस्तित्वमा पनि विश्वास गरेनन् । उनका निम्ति त बरु ध्यान र एक्लो चिन्तन नै जीवन र जगत् बुझ्ने माध्यम थिए । उनले आत्माको अमरता र ईश्वरको अस्तित्वलाई पनि मानेनन् । उनले कुनै पनि घटना तिनका परिणामहरूका लागि कारणहरूलाई प्राथमिकतामा राखे । शिक्षा र ज्ञान प्राप्तिको लागि व्यक्तिले संयमतापूर्वक आध्यात्मिक खोजमा लाग्ने सल्लाह दिए ।
बुद्धले सुरुमा अनिच्छा देखाए पनि पछि उनले महिलाहरूलाई पनि भिक्षुहरूको सङ्घमा सामेल गराए । उनले तत्कालीन वर्ण व्यवस्थामा आधारित जाति व्यवस्थालाई पटक्कै मानेनन् र जातिप्रथाको पवित्रतालाई स्वीकार गर्न चाहेनन् । उनी वस्तुतः वर्ण व्यवस्था र यसले ठड्याएको सामाजिक स्तरीकरणको विरुद्धमा सबैभन्दा अगाडि उभिए । उनले कथित तल्लो अछूत समुदायका चेलाहरूलाई पनि आफ्नो सङ्घमा स्वीकार गरे।
गौतमको व्यक्तित्वको बारेमा धेरै कम जानकारी उपलब्ध छ। पौराणिक कथाहरूले उनलाई सुनौलो रङ्गको व्यक्तिको रूपमा वर्णन गरेका छन् । उनको आवाजमा आठ गुणहरू थिए भनी बताइन्छ । ती हुन् : उच्चता, बोधगम्यता, मधुरता, श्रवणता, निरन्तरता, विशिष्टता, गहिराइ र प्रतिध्वनि । बुद्धका विरोधीहरूले उनलाई मोहनी लाइदिने जादुगर भन्ने गर्थे । बुद्ध अरूलाई आफ्नो नियन्त्रणमा राख्न वशीकरण मन्त्र प्रयोग गर्थे र उनी कुनै बोधिसत्व होइनन् भन्ने अफवाह फैलाउँथे । उनी सबैलाई अकर्मण्यता र अल्छ्याइँको शिक्षा दिन्छन् भन्ने पनि आरोप लगाइन्थ्यो ।
उनी एकान्त मन पराउँथे र प्रायः लामो समय मान्छेको भीडदेखि टाढा कतै समय बिताउँथे ।उनी एकान्तवासमा रहँदा केवल एक भिक्षुलाई मात्र उनी आफ्ना लागि खाना ल्याउन अनुमति दिने गर्थे ।
एकान्तप्रिय भए पनि कुनै जिज्ञासु आउने बित्तिकै उनी तुरुन्तै तयार हुन्थे र आफ्नो आध्यात्मिक सल्लाह दिन थाल्थे । उनी यस पृथ्वीका आनन्दित व्यक्ति मध्ये सबैभन्दा आनन्दित थिए । उनी कसैको पनि विरोध गर्दैनथे । उनी कसैलाई दुर्व्यवहार पनि गर्दैनथे । उनी रिस , राग , कामना र आग्रहहरूबाट मुक्त थिए ।
बुद्ध आफ्ना चेलाहरूप्रति अत्यन्तै समर्पित थिए।
कहिलेकाहीं उनी आफैं बिरामीहरूको हेरचाह गर्थे । यसरी आफ्ना अनुयायीहरूका लागि बुद्ध स्वयं करुणा र कर्मका उत्तम उदाहरण बनेका थिए । उनको भक्तिको बदलामा उहाँका चेलाहरूले उनको पूजा गरे।
बौद्ध साहित्यका धेरै कथाहरूले आफ्ना चेलाहरूको आध्यात्मिक विकास र उन्नतिमा उहाँको गहिरो चासोलाई औंल्याएका छन् । बुद्धले आफ्ना शिष्यहरूलाई आफ्नो प्रकाश आफैँ बन्न प्रेरित गरे । भिक्षुहरूलाई आफ्ना लक्ष्यहरू प्राप्त गर्न सहज रूपमा प्रोत्साहन दिए । उनी आफूलाई भेट्न आउनेहरूको स्वास्थ्य अवस्थाको बारेमा कुरा गर्थे । उनी सबैसँग मुस्कुराउँथे र विरोधीहरूको पनि चित्त बुझ्ने गरी उपदेश दिन्थे ।
यद्यपि बुद्धले कसैलाई पनि दार्शनिक विषयहरूसँग सम्बन्धित प्रश्नको उत्तर कहिल्यै पनि दिन चाहेनन् भन्ने बताइन्छ । उनले दु:खको चर्चा गरे । दु:ख हटाउने उपायहरू बताए तर दर्शनशास्त्रमा उनको खास रुचि कहिल्यै भएन । किनभने उनी दार्शनिक विवाद गर्नु र सत्य खोज्नुको कुनै तारतम्य छ भन्ने ठान्दैनथे ।
सिद्धार्थ सत्यका आविष्कारक थिए । उनी सरल हुँदाहुँदै पनि करिजम्याटिक छवि र व्यक्तित्वका धनी साधु थिए। उनी मानव हृदयका कुशल शिक्षक थिए । र एक कुशल मानवका रूपमा त्यतिबेलाका समकालीनहरू बीच उनको एक अद्वितीय प्रतिष्ठा थियो । त्यही अद्वितीय प्रतिष्ठा र प्रज्ञा त आजपर्यन्त छँदैछ ।
बुद्धको जीवनकालमा नै मानिसहरूले उनलाई सन्त , महात्मा , तथागत र भगवान् सम्मको हैसियत र सम्मान दिएका थिए । आज बुद्धकै देशना र शिक्षणहरूमा आधारित भएर संसारभरि बौद्ध धर्म अभ्यास गरिएको छ भन्ने दाबी गरिन्छ । यी दिनहरूमा विश्वविद्यालयहरूमा दिइने प्रवचनमा बुद्धका वास्तविक भावनाहरूको अंश उदधृत हुन्छ कि हुन्न भन्ने कुरा पनि गम्भीरतापूर्वक निरीक्षण गर्नुपर्ने अवस्था आएको छ ।

०००