१० पुस २०८२, काठमाडौं
डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगितामा यस वर्ष अर्थात् वि.सं. २०८२ मा शिवराज शाहीद्वारा लिखित ‘एक मान्ठ एक देउता’ शीर्षकको कथाले प्रथम भएर नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । गत वर्षसम्म प्रथम पुरस्कार एकलाख रूपैयाँ भएकोमा यस वर्षदेखि दुई लाख पु-याइएको थियो । यसरी दुई लाखको प्रथम पुरस्कार पहिलोपल्ट प्राप्त गर्ने अवसर पनि शिवराज शाहीलाई प्राप्त भएको छ ।
त्यस्तै ‘भुइँकुहिरोको बीचमा’ शीर्षकको कथा दोश्रो भएर ऋतेश गुरुङले एक लाख प्राप्त गरेका छन् भने ‘अधुरो प्रतिलिपि’ शीर्षकको कथा तृतीय भएर इन्द्रप्रसाद गोतामे (जगतजंग) ले साठी हजार रुपैयाँ प्राप्त गरेका छन् ।
पुरस्कृत तिनै जनालाई नगद राशी, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो ।
प्रथम, द्वितीय र तृतीय हुने कथाका कथाकारलाई प्रधानमन्त्री सुशिला कार्की, विशिष्ट अतिथि सम्राट उपाध्याय, बाह्रखरी मिडियाका कार्यकारी अध्यक्ष तथा प्रधानसम्पादक प्रतीक प्रधान, प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य, डिश मिडिया लिमिटेडका अध्यक्ष हेमराज ढकाललगायतले माल्यार्पण, नगद पुरस्कार, ट्रफी, प्रमाणपत्र तथा सम्मानपत्र प्रदान गरेका हुन् ।
त्यस्तै उत्कृष्ट २२ कथाकारहरू चेतनाथ आचार्य, उमेश श्रेष्ठ, शेखर दहित, कृष्णराज सर्वहारी, प्रज्ञा निरौला, सीता पाण्डे, भोगेन्द्र लिङ्देन, हरिबोल काफ्ले, वसन्तबायुङ राई (नाम्दोचा), लक्ष्मण सिटौला जमुना भट्टराई, अनिता पन्थी, अविनाश भट्टराई, मन्दिरा मधुश्री, अमित घिमिरे, टीकाराम पोखरेल, उमा शर्मा, अनिता कोइराला, विष्णु एस राई, दामोदर ढुङ्गेल, प्रकाशकुमार शर्मा र डा. हिमलाल श्रेष्ठलाई सात हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।
यस बर्षको प्रतियोगितामा नेपालसहित भारत, चीन, यूएई, अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया, बेलायत, जापान, क्यानाडा, कतार, स्पेन, फिनल्यान्ड, साइप्रस, इन्डोनेसियालगायत देशमा बसोबास गर्ने नेपाली भाषी कथाकारले भाग लिएका थिए ।
सो कार्यक्रममा निर्णायक मण्डलका संयोजक अशेष मल्ल तथा आख्यानकार सम्राट उपाध्यायले पनि सम्बोधन गरेका थिए ।
सोही समारोहमा साहित्यकार नयनराज पाण्डेको सम्पादनमा पब्लिसिङ पार्टनर फाइनप्रिन्टबाट प्रकाशित प्रतियोगितामा छानिएका उत्कृष्ट २५ कथाको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा, २०८२’ को विमोचन गरिएको थियो ।
सो समारोहलाई बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले स्वागत र विशेष सम्पादक हरिबहादुर थापाले धन्यवाद व्यक्त गरेका थिए ।
वाह्रखरी मिडियाले विसं २०७६ सालदेखि प्रत्येक बर्ष यो कथा प्रतियोगिता गर्दै आइरहेको छ ।
स्मरणीय छ, वि.सं. २०७६ सालमा विना थिङ तामाङ, २०७७ मा मुना चौधरी, २०७८ मा मनोजादित्य नौपाने, २०७९ मा नविन अभिलाषी, २०८० मा मनोजवावु पन्त तथा २०८१ मा विष्णु पादुका प्रथम भएका थिए । यसरी यो प्रतियोगिताले सफलतापूर्वक सात वर्ष पूरा गरेको छ ।
“उत्कृष्ट कथा” पुस्तकको सम्पादन शुरुको वर्षदेखि २०७९ सालसम्म कथाकार राजेन्द्र पराजुलीले सम्पादन गरेका थिए भने उनको असामयिक निधनपछि विसं २०८० देखि आख्यानकार नयनराज पाण्डेले सम्पादन गर्दै आएका छन् ।
०००
(फोटो सौजन्यःबाह्रखरी)
