२६ पुस २०८१, काठमाडौं
विसं २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजन गरिँदै आएको कथा वाचन कार्यक्रमको पन्ध्रौं शृङ्खला सम्पन्न भएको छ ।
कार्यक्रममा सर्वप्रथम यस अभियानका परिकल्पनाकार कथाकार-नियात्राकार चन्द्रप्रसाद भट्टराईले अतिथिहरुको स्वागत गर्दै कार्यक्रमका उद्देश्यहरुबारे प्रकाश पारे । उनले विभिन्न पुस्ताका कलाकारहरूलाई एउटै मञ्चमा राखी तिनिहरू बीच व्यक्तिगत परिचय र फरक फरक कालखण्डमा प्रकाशित कथाका विषयवस्तु, शैली, प्रयोगबारे एक अर्कालाई जानकारी गराउने पवित्र उद्देश्यबाट यो अभियान सुरु गरिएको कुरा स्पष्ट पारे । “यसबाट नेपाली कथासाहित्यको विकासमा केही योगदान हुने हामीले विश्वास लिएका छौं ।” उनको भनाइ थियो ।
हरेक महिना कुनै दिवङ्गत स्रष्टाको एउटा कथा वाचन गरेर कार्यक्रम आरम्भ गर्ने चलन अनुसार यस पटक स्रष्टा मातृका प्रसाद कोइरालाको कथा ‘गरिब’ वाचन गरेर उनी प्रति सम्मान प्रकट गरिएको थियो । उक्त कथा ऐतिहासिक साहित्यिक पत्रिका शारदाको वर्ष ६ अंक ६ (विसं १९९७ आश्विन महिनाको अङ्क)बाट आयोजक समितिका सदस्य समिना खनाल पृथाले वाचन गरेपछि अन्य छ जना कथाकारहरूले २०३० को दशकदेखि २०७० को दशक सम्ममा प्रकाशित आ-आफ्ना कथा वाचन गर्नुभएको थियो ।
२०३० को दशकमा प्रकाशित कथा अन्तर्गत कथाकार धन्वन्तरि मिश्र (कात्यायन)ले ‘आदेश’ शीर्षकको आफ्नो कथा वाचन गरेका थिए ।
२०४० को दशकमा प्रकाशित कथा अन्तर्गत कथाकार शैलेन्द्र साकारले २०४२ सालमा प्रकाशित कथा ‘मर्नु पनि’आफ्नै कथा सङ्ग्रह ’कालपात्र र अरु कथाहरू’बाट तथा चन्द्रप्रसाद भट्टराईले ‘भोज जग्गुबाबुको’ वाचन गरेका थिए।
२०६० को दशकमा प्रकाशित कथा अन्तर्गत कथाकार डा राजेन्द्र विमलले ‘उधारो जुत्ता’ शीर्षकको आफ्नो कथा, तथा ‘अप्रमाणित हत्यारा’ कथाकार डा शेखरकुमार श्रेष्ठले वाचन गरेका थिए।
२०७० को दशकमा प्रकाशित कथा अन्तर्गत कथाकार पवित्रा अधिकारीले ‘अव्यक्त तारा’ शीर्षकको कथा वाचन गरेकी थिइन् ।
दुई घण्टा लामो सो कार्यक्रमको अन्त्यमा अर्का परिकल्पनाकार साहित्यकार पुष्कर लोहनीले विसं १९९१ मा शारदाको प्रकाशनपछि नेपालमा सुरु भएको कथा लेखनको इतिहास नब्बे वर्षको रहेको बताए । “त्यस बेला केही सीमित लेखक थिए, पाठक पनि सीमित थिए । प्रजातन्त्रपछि, खास गरी विसं २०१० मा ‘प्रगति’को प्रकाशन शुरु भएपछि गोष्ठीहरू हुन थाले, नयाँनयाँ लेखक निस्कन थाले । कथाकारहरू गोविन्दप्रसाद लोहनी, शंकर लामिछाने, विजयबहादुर मल्ल, गोविन्दबहादुर मल्ल गोठाले, दौलत विक्रम विष्ट, रमेश विकल, पोषण पाण्डेको उदय त्यसै कालमा भएको हो । म तिनीहरूको सामीप्यमा रहेको हुँदा यो विकासक्रमलाई नजिकबाट देखेको हुँ । मेरो आफ्नै कथा पनि २०१६ सालमा प्रकाशित भएको हो ।” उनको भनाई थियो ।
कार्यक्रम संचालन संयोजक कथाकार मन्दिरा मधुश्रीले संचालन गरेकी थिइन् ।
