२ चैत २०८०, काठमाडौं
अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको नाममा स्थापित “नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार” यस वर्ष अर्थात् २०८० का लागि झापाका बरिष्ठ भाषा साहित्य सेवी तथा साहित्यिक पत्रकार चुडामणि रेग्मीलाई प्रदान गर्ने निर्णय भएको छ ।
नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोषका अध्यक्ष पवन आलोकको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । सो निर्णयका लागि बसेको बैठकमा ‘अभिव्यक्ति’ पत्रिकाका संरक्षक नगेन्द्रराज शर्माका साथै कोषका अन्य सदस्यहरू विधान आचार्य, देविका तिमिल्सिना, श्रीओम श्रेष्ठ रोदन, शङ्कर भारती र किशोर पहाडी उपस्थित थिए ।
२५ हजार राशीको यो पुरस्कार प्राप्त गर्ने श्री रेग्मी तेश्रो प्रतिभा हुन् । स्थापनाको पहिलो वर्ष २०७८ मा रोचक घिमिरे तथा गत साल विसं २०७९ मा रामप्रसाद पन्तले यो पुरस्कार प्राप्त गरेका थिए । यस बर्ष पहिलो पल्ट पुरस्कार काठमाडौं बाहिर गएको छ ।
विसं १९९३ साल चैत २९ गते वाना सँखुवासभामा रेग्मीले विसं २०१३ सालमै बनारस अध्ययनका लागि बसाइको क्रममा “छात्रदूत” सम्पादन गरेका थिए । त्यस्तै उनले “छहारी” द्वैमासिकको सहसम्पादन, जनवार्ता, कस्तुरी, युग ज्ञान साप्ताहिक लगायत विसं २०३८ देखि जूही त्रैमासिकको समेत सम्पादन प्रकाशन गरेका थिए । एक समयमा जूहीका बिशेषाङ्कहरु मात्र नभइ सामान्य अङ्कहरु समेत साहित्यिक जगतका लागि चासो र रुचिका बनेका थिए ।
मेची क्याम्पसमा लामो समय प्राध्यापनपश्चात् अवकाशप्राप्त रेग्मी झर्रोवादी आन्दोलनमा समेत संलग्न भएकाले आफ्नो निवासको नाम नै “झर्रो नेपाली घर” राखेका थिए ।
०००
