कमला प्रसाईँका तीन कृतिको अन्तरक्रिया

समाचार

३१ असार २०८३, काठमाडौं ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले साहित्यकार कमला प्रसाईँका अनेसास नेपालले वि. स. २०७७ मा प्रकाशित कृतिहरु ‘चितामाथिको लास’ (नाटकसङ्ग्रह), ‘सिमाना’ (कवितासङ्ग्रह) र ‘हृदयभित्र’ (गीतिसङ्ग्रह)को अन्तरक्रिया कार्यक्रमको आयोजना गर्‍यो ।
प्रमुख अतिथि वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के.सी. ले पानसमा दीप प्रज्वलन गरेर सो कार्यक्रमको उद्घाटन गरेका थिए ।
साहित्यकार प्रसाईंलाई नेपाली साहित्य सिर्जना गरेर योगदान पु-याएबापत च्याप्टरले सम्मानपत्रसहित सम्मान गरेको हो । कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष वसन्त थापा वित्यासी र अनेसास पुरस्कार समिति सदस्य सन्ध्या पहाडीले प्रसाईंका ‘हृदयभित्र’ (गीतिसङ्ग्रह) र ‘सिमाना’ (कवितासङ्ग्रह)को चर्चा गरेका थिए ।
अनेसासका पूर्व अध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले शुभकामना मन्तव्य राख्दै प्रसाइँको योगदानको चर्चा गर्दै ‘चितामाथिको लास’ बारे चर्चा गरेका थिए ।
च्याप्टरका अध्यक्ष एवं अनेसासका नवनिर्वाचित केन्द्रीय सदस्य राजेन्द्र के. सी. को सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. सुरेन्द्र के.सी., नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ “रोदन”, युवराज नयाँघरे, अध्यक्ष राजेन्द्र के.सी.,रामप्रसाद दाहाल लगायतले मन्तव्य राख्दै कृतिकार प्रसाईंको योगदानको चर्चा गर्दै बधाई ज्ञापन गरेका थिए ।
कार्यक्रममा कविहरु गीता कार्की र गीता रेग्मीले प्रसाईंका कविताहरु वाचन गरेका थिए।
कृतिकार कमला प्रसाईंले आफ्नो लेखकीय मन्तब्य प्रस्तुत गरेकी थिइन् ।
संस्थाका वरिष्ठ उपाध्यक्ष मन्जिला अनिलले प्रसाईंलाई अर्पण गरिएको सम्मानपत्र वाचन गरेकी थिइन् । उपाध्यक्ष निर्मलरमण पराजुलीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम सञ्चालन महासचिव रन्जना निरौलाले गरेकी थिइन् ।
कार्यक्रममा साहित्यकार, पत्रकार, कलाकार र प्रसाईंका परिवारजनको बाक्लो उपस्थिति रहेको थियो ।

०००