आज मेरो देश

कविता

सीता अर्याल, म्याडिसन, विस्कानशीन

आकाश आज च्यातिएको चिठीझैँ छ
आशाका अक्षरहरू वर्षाले बगाएको छ
आमाको काख माटो
पसिनाको फूल फुल्न नपाई वैलाएको छ।

युवाहरू उडे चराझैँ परदेश
खाली गुँडले प्रत्येक साँझ सुस्केरा हालिरहेको छ
गाउँका बाटाहरू वृद्ध आँखाझैँ
पर्खाइका जुलूसले भरिएका छन्।
सत्ताका दरबारहरू
सुनौलो पिँजडाझैँ चम्किए
जनताको सपना
भोकले चाउरिएको कमलझैँ झरिरह्यो।
देश मेरो दीपक
हावाको निर्दयी हातले
बारम्बार त्यो ज्योति थर्काईरह्यो
मन सल्किरहेको बत्ती
उज्यालोको आशामा प्रार्थना गरिरह्यो
देश दुख्दा आँसु आयो
ती आँसु केवल पानी होईनन्
ती हुन् इतिहासका मोती
भविष्यको घाम खोज्दै
हर रात अँध्यारोसँग
पौंठाजोरी खेलिरहेछन् ।

आऊ,
हामी आशालाई साँझका जूनझैँ उमारौँ
एकतालाई हिमालझैँ अटल बनाऔँ
माटोलाई आमाको मुस्कानझैँ
फेरि हराभरा बनाऔँ।

त्यस दिन,
देशको अनुहारमा
इन्द्रेणीको सप्तरङ्गी हाँसो फक्रिनेछ,
आज बगेका यी आँसु
विजयको मोती बनेर
नेपालीको आँखा आँखामा चम्किनेछ।