“च्यातिएको पृष्ठहरू” पढेपछि

पुस्तक समीक्षा

 भाष्कर मैनाली शर्मा, दार्जिलिङ

कालूसिंह रनपहेंलीद्वारा लिखित कथासंग्रह  च्यातिएको पृष्ठहरू कथासंग्रह पहिलो पटक सन् २०१७ को मार्च महिनामा प्रकाशित भएको हो। १२५ पृष्ठको यस कथासंग्रहमा २५ वटा कथाहरू सङ्ग्रहित छन्। आकारका दृष्टिले यो मझौला किसिमको कथासंग्रह हो।

यस सङ्ग्रहको पहिलो कथा चिनीको चिन्तामा’ कथाकारले चिनीरोग (डायबिटिज) लाई आधार बनाएर लेखेका छन्। यस कथामार्फत मानिसले अरूको हल्ला वा अपुष्ट सल्लाह सुन्नुभन्दा रोगसम्बन्धी विशेषज्ञ चिकित्सकको परामर्श लिनु नै उचित हुन्छ भन्ने सन्देश दिन खोजिएको छ।

लालटिन’ कथामा मानिस जति नै ठूलो पद वा प्रतिष्ठामा पुगे पनि आफ्नो विगत, जरा र माटो बिर्सनु हुँदैन भन्ने सन्देश प्रस्तुत गरिएको छ।

कम्प्लिमेन्ट्री कपी’ कथाले साहित्यिक पुस्तकप्रति मानिसहरूको घट्दो सम्मान र साहित्यप्रतिको मोह क्रमशः कम हुँदै गएको यथार्थलाई उजागर गरेको छ।

माकुरो जालभित्र’ कथामा धनको लोभमा मानिसले जुनसुकै हदसम्म पुग्न सक्ने, अरूलाई जालमा फसाउन सक्ने तथा स्वार्थका लागि नैतिकताको समेत बेवास्ता गर्न सक्ने प्रवृत्तिलाई चित्रण गरिएको छ।

ब्लेड रनर’ कथाले शारीरिक रूपमा अशक्त व्यक्तिको जीवनका आरोह–अवरोहलाई प्रस्तुत गरेको छ। यस कथामार्फत शारीरिक अपाङ्गता भए पनि दृढ इच्छाशक्ति र आत्मविश्वासका साथ जीवनमा ठूलो सफलता प्राप्त गर्न सकिन्छ भन्ने प्रेरणादायी सन्देश दिइएको छ।

वर्तमान समयमा सामाजिक सञ्जाल, विशेषतः फेसबुक, मानिसहरूको जीवनको अभिन्न अङ्ग बनिसकेको छ। यही विषयलाई आधार बनाएर कथाकारले फेसबुक फिलिप’ कथा लेखेका छन्। यस कथामा केही दुष्ट मानसिकता भएका व्यक्तिहरूले प्रेमको बहानामा अरूलाई कसरी ठगी र शोषण गर्न सक्छन् भन्ने देखाइएको छ। साथै, सामाजिक सञ्जालको अत्यधिक प्रयोगले मानिसहरू आफ्नो संस्कार र संस्कृतिबाट टाढिँदै पश्चिमी विकृत संस्कृतितर्फ आकर्षित भइरहेका छन् भन्ने यथार्थलाई पनि कथाले प्रस्तुत गरेको छ।

मातृत्वको तृप्ति’ कथामा कुनै पनि दम्पतीका लागि सन्तान प्राप्तिको सुख र त्यसले दिने आत्मिक सन्तुष्टिलाई मार्मिक ढङ्गले चित्रण गरिएको छ।

देहव्यापार आज विश्वव्यापी सामाजिक समस्याका रूपमा फैलिएको छ। कोही बाध्यतावश यसमा संलग्न हुन्छन्, कसैलाई जबरजस्ती धकेलिन्छ भने कोही धनको लोभमा आफैँ यस व्यवसायमा प्रवेश गर्छन्। यही विषयलाई आधार बनाएर कथाकारले शर्मिला सुवेदी’ कथा लेखेका छन्।

चिना’ कथामा हातको रेखा वा भाग्यमाथि मात्र भर परेर बस्नु उचित होइन, मानिसले स्वयं सत्कर्म गर्नुपर्छ र आफ्ना सन्तानलाई पनि नैतिक मार्गमा हिँड्ने संस्कार दिनुपर्छ भन्ने सन्देश दिइएको छ।

पानी’ कथामा बाबुआमालाई उनीहरू जीवित रहँदासम्म सम्मान र सेवा गर्नुपर्छ भन्ने भाव व्यक्त गरिएको छ। मृत्यु भइसकेपछि पश्चात्ताप गरेर केही गर्न खोजे पनि त्यसको कुनै अर्थ रहँदैन भन्ने कुरा मृत व्यक्तिलाई जबरजस्ती पानी खुवाउन खोजिएको घटनालाई माध्यम बनाएर प्रस्तुत गरिएको छ।

पूर्णिमा’ कथामा छोरीप्रति आमाबुबाको अथाह माया हुँदाहुँदै पनि एक दिन उनीहरूले आफ्नो माइतीघर छोड्नुपर्ने यथार्थ प्रस्तुत गरिएको छ। साथै, मागी विवाहमा आफूले चाहेअनुसारको जीवनसाथी पाइने वा नपाइने अनिश्चिततालाई पनि कथाले उजागर गरेको छ।

रक्सीको बान’ कथामा अरूको घरपरिवार बिगार्ने रक्सी बेचेर जीविका चलाउनु भन्दा इमानदार श्रमबाट जीवनयापन गर्नु नै उचित हुन्छ भन्ने नैतिक सन्देश दिइएको छ।

दुमो पैसा’ कथाले गरिबीको पीडा, संघर्ष र आवश्यक पर्दा सहयोगका लागि अरूसँग आर्थिक सहायता माग्नुपर्दाको अप्ठ्यारोलाई यथार्थ रूपमा चित्रण गरेको छ।

पुरानो रोमर घडी’ कथाले आफूसँग भएका बहुमूल्य वस्तु वा सम्बन्धको महत्त्व मानिसले तिनलाई गुमाएपछि मात्र बुझ्ने स्वभावलाई प्रस्तुत गरेको छ।

पासाण गुरु’ कथामा ग्रामीण क्षेत्रको शैक्षिक अवस्था र जिम्मेवार पदमा बसेका व्यक्तिहरूले शिक्षा क्षेत्रमा अपेक्षित सुधार गर्न नसकेको यथार्थ चित्रण गरिएको छ।

चियाबारी’ कथाले चियाबगानका मालिकहरूले सोझा, निमुखा मजदुर तथा श्रमिकहरूमाथि गर्ने आर्थिक र सामाजिक शोषणलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ।

मुठभेड’ कथामा गोर्खा जातिको वीरता, खुकुरीको ऐतिहासिक महत्त्व तथा आफ्नो क्षति सहेर पनि अरूको सुरक्षा गर्ने गोर्खाली परम्परालाई चित्रण गरिएको छ।

दघिराम दम्पतीको दर्द’ कथामा धनी वर्गले ऋणको बहानामा गरिब परिवारमाथि गर्ने शोषण र अन्यायलाई देखाइएको छ।

अन्तिम क्षण मुमताजको’ कथामा कथाकारले मुमताज र शाहजहाँको प्रेमकथालाई आधार बनाएर भावनात्मक कथा सिर्जना गरेका छन्।

काँचुली’ कथामा घरभित्रका समस्यालाई घरमै समाधान गर्नु उचित हुन्छ भन्ने सन्देश दिइएको छ। घरायसी विवाद बाहिर फैलिँदा दुष्ट प्रवृत्तिका मानिसहरूले त्यसलाई अझ जटिल बनाउन सक्छन् भन्ने कुरा कथाले स्पष्ट पारेको छ।

लोदर’ कथामा अप्ठ्यारो परेको बेला सहयोग गर्न नआउने तर झुटा आरोप र लाञ्छना लगाउन भने पछि नपर्ने छिमेकीहरूको प्रवृत्तिलाई चित्रण गरिएको छ।

कथा जस्तै एउटा कथा’ मा मानिसहरूले आफ्ना ज्येष्ठ आफन्तहरू जीवित रहँदासम्म वास्ता नगर्ने तर उनीहरूको मृत्यु भएपछि सम्पत्तिको लोभमा मात्र चासो देखाउने स्वार्थी मानसिकताको चित्रण गरिएको छ। जीवित अवस्थामा माया र सम्मान नदिई मृत्यु भएपछि देखावटी शोक गर्नु मानवीय स्वार्थको एउटा कटु यथार्थ हो भन्ने सन्देश यस कथाले दिन्छ।

माछाको मोल र रनेको भङ्ग सपना’ कथामा कथाकारले शिवकुमार राईको प्रसिद्ध कथा माछाको मोल’ को विनिर्माण (Deconstruction) गर्ने प्रयास गरेका छन्।

यस सङ्ग्रहको अन्तिम कथा च्यातिएको पृष्ठहरू’ नै यस कथासङ्ग्रहको शीर्षक कथा पनि हो। यस कथामा नारी अस्मिता, नारी अस्तित्व तथा आत्मसम्मानका विविध पक्षलाई केन्द्रमा राखेर कथा प्रस्तुत गरिएको छ।

समग्रमा, च्यातिएको पृष्ठहरू कथासङ्ग्रहमा समाजका विविध पक्ष, मानवीय संवेदना, पारिवारिक सम्बन्ध, सामाजिक विकृति, नैतिक मूल्य, गरिबी, शोषण, प्रेम, संस्कार तथा समसामयिक समस्याहरूलाई सरल, प्रभावकारी र यथार्थपरक शैलीमा प्रस्तुत गरिएको छ। प्रत्येक कथाले पाठकलाई कुनै न कुनै जीवनोपयोगी सन्देश दिन सफल भएको अनुभव हुन्छ।

 

000