नगेन्द्रराज शर्मा तथा रोचक घिमिरे रेखा-पवन स्रष्टा सम्मानबाट सम्मानित

मुख्य समाचार

२४ फागुन २०८२, काठमाडौं

यसै वर्षको रेखा- पवन स्रष्टा सम्मान वरिष्ठ साहित्यिक पत्रकारद्वय नगेन्द्रराज शर्मा तथा रोचक घिमिरेलाई जनही रू ५० हजार ५१ नगद रकम सहित समर्पण गरिएको छ।
सम्मानित व्यक्तित्वहरूलाई अध्यक्ष श्रीओम श्रेष्ठले दुबोको माला लगाएर अभिनन्दन गरेका थिए भने पवन आलोकले सम्मानित व्यक्तित्व नगेन्द्रराज शर्मालाई सम्मानपत्र अर्पण गरेका थिए। त्यसैगरी अर्का सम्मानित व्यक्तित्व रोचक घिमिरेलाई रेखा कडेलले सम्मानपत्र अर्पण गरेकी थिइन् तथा पवन-रेखाकी माहिली सुपुत्री रीता केसी ले नगद राशि प्रदान गरेकी थिइन्।
सम्मान ग्रहणपछि मन्तव्यका क्रममा सम्मानित व्यक्तित्व नगेन्द्रराज शर्माले आफूलाई भाग्यमानी पुस्ता भनेकोमा खुसी व्यक्त गर्दै अभिव्यक्ति पत्रिका प्रकाशनका क्रममा पहिले गरेको दु:ख सम्झँदा अहिले खुसी लाग्ने गरेको बताए।आफ्नो लागि ईश्वर भनेको साहित्यकार हुन् र पूजा भनेको अभिव्यक्ति प्रकाशनको कर्म भएको बताए।साथै,प्रकाशनमा सहयोग पुर्याउने साहित्यकारहरू,घर परिवारका सदस्यहरू र अन्य सहयोगी हातहरूको प्रशंसा गर्दै आभार प्रकट गरेका थिए।
अर्का सम्मानित व्यक्तित्व रोचक घिमिरेले रोचक ढङ्गबाट आफ्नो मन्तव्य राख्दै नेपाली भाषा र साहित्यको उन्नयनमा लागेर राम्रै काम गरिएछ भनेर बताए। आफूलाई साहित्यमा लाग्न तारिणीप्रसाद कोइरालाले प्रेरित गरेको बताउँदै कवि महानन्द सापकोटाले घनानाथ घिमिरे रोचक लाई रोचक घिमिरे लेख्न लगाएको बताए।साहित्यिक पत्रकारितामा लाग्न आफ्ना साथीहरू भैरव अर्याल र रमेश विकलको ठूलो हात रहेको बताए। उनले धर्मपत्नी सुशीला घिमिरे तथा छोराहरू समेतको सहयोगले आफू नेपाली भाषा,साहित्य र पत्रिका प्रकाशनमा लाग्न पाएकोमा आभार प्रकट गरेका थिए।
समालोचक प्रमोद प्रधानले सम्मानित दुबै अग्रज लेखक तथा साहित्यिक पत्रकारका व्यक्तित्व तथा कृतित्वका बारेमा बोलेका थिए।मन्तव्यका क्रममा उनले हाम्रो उमेरजति त उहाँहरूले सेवा गरेको बताए।आफूहरू लेख्ने मात्र नभइ अरूलाई समेत लेख्न प्रेरित गर्ने व्यक्तित्व भएको बताउँदै नगेन्द्रराज शर्माले’अभिव्यक्ति’ र रोचक घिमिरेले’रचना’बाट थुप्रै साहित्यकारहरू जन्मनाउने काम गरेको बताए। मानस पिताहरूको संज्ञा दिंदै उनले नेपाली भाषा र साहित्यमा दुबै चिन्तक रहेको बताए। नगेन्द्रराज शर्माको दुई उपन्यासहरू ‘महापुरुष’र ‘दीवास्वप्न’ तथा दुई कथासङ्ग्रह’पिपलको बोट मुनि’ र ‘एकान्तका आफन्त’तथा रोचक घिमिरेको दुई संस्मरणकृतिहरू’सम्झनामा फक्रिएका फूलहरू’र ‘अनुहार र अनुभूति’का बारेमा समेत चर्चा गरेका थिए।
कार्यक्रममा प्रा.डाद्वय गोविन्दराज भट्टराई र लक्ष्मणप्रसाद गौतम तथा नाट्यकर्मी अशेष मल्लले शुभकामना मन्तव्य राख्दै सम्मानित दुबै व्यक्तित्वहरूका बारेमा संक्षेपमा प्रकाश पारेका थिए।
समाजका केन्द्रीय महासचिव प्रकाश घायलले स्वागत मन्तव्य राखेका थिए।
स्रष्टा तथा समाजका संरक्षक पवन आलोकले आफूले बीसकै दशकदेखि लेख्न थालेको बताउँदै साहित्यकार परशु प्रधान आफ्नो प्रेरक व्यक्तित्व रहेको र आलोक नाम उनले नै दिएको बताउँदै परशु प्रधान र भैरव अर्यालको स्मरण गरेका थिए। उनले साहित्यिक महारथीहरूलाई सम्मान गर्न पाएकोमा गर्व लागेको बताए।
कार्यक्रममा सम्मान संस्थापकहरूका तर्फबाट पवन रेखाकी माहिली सुपुत्री रीता केसीले सम्मान स्थापनाका बारेमा बोल्दै आफ्ना आमाबाबुको बिवाह उत्सवका अवसरमा उपस्थित सबैलाई धन्यवाद दिएकी थिइन्।साथै,उनले जेठी दिदीले आमाबाबुको विषयमा लेखेको मीठो कविता वाचन गरेर सुनाएकी थिइन्।
सभापतिको आसनबाट बोल्दै समाजका अध्यक्ष श्रीओम श्रेष्ठ’रोदन’ले नेपाली भाषा र साहित्यमा सम्मानित दुबै अग्रजहरूको ठूलो योगदान रहेको बताए।समाजले हाल नौ वटा पुरस्कार तथा सम्मान गर्ने गरेको बताउँदै सम्मानित दुबै व्यक्तित्वको बारेमा संक्षेपमा प्रकाश पारेका थिए। यस्तो सम्मानबाट नेपाल स्रष्टा समाज स्वयं सम्मानित भएको कुरा उनले महसुस गरेको बताए।
स्रष्टा पवन आलोक तथा श्रीमती रेखा कडेलको ५७ औँ शुभ बिबाहोत्सवका अवसर पारेर सो कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रमका सञ्चालन समाजका सदस्य मधु पाठक रहेका थिए।
स्मरणीय छ, रेखा-पवन स्रष्टा सम्मान साहित्यकार पवन कडेल आलोक तथा उनकी धर्मपत्नी रेखा कडेलको नाममा कडेल परिवार का तीन छोरीहरू,एक छोरा र बुहारीद्वारा स्थापित सम्मान हो।

 

०००
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’को सहयोगमा)