२५ पुस २०८२, काठमाडौं
दायित्व वाङ्मय प्रतिष्ठान,नेपालद्वारा आयोजित कार्यक्रममा नेपाली वाङमयका चार स्रष्टा तथा साहित्यसेवूहरू पुरस्कृत भएका छन् ।
शङ्कर कोइराला आख्यान पुरस्कार नगद राशि रू २५,०००/- सहित कथाकार मधुवन पौडेल, कुमार-सरस्वती साहित्य पुरस्कार नगद राशि रू २५,०००/- सहित समालोचक प्रा.डा.लक्ष्मण प्रसाद गौतम, चूडामणि भाषाव्याकरण-कोश पुरस्कार नगद राशि रू ५१,१११/- सहित लेखक तथा साहित्यिक पत्रकार रोचक घिमिरे तथा रामप्रसाद पन्त वाङ्मय पुरस्कार नगद राशि रू ५५,५५५/-सहित कथाकार किशोर पहाडी पुरस्कृत भएका हुन् ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख आमन्त्रित व्यक्तित्व महेश्वर शर्माले वैदिक सम्बोधन गर्दै दायित्व वाङ्गमय प्रतिष्ठानद्वारा आफू पनि पुरस्कृत तथा सम्मानित भइसकेको स्मरण गराएका थिए।पुरस्कार भन्ने कुरा ठूलो चिज हो तर यसको महत्त्व घट्न नदिन र गरिमा कायम राख्न सक्नुपर्ने बताए।प्रत्येकले आफ्नो दायित्व बोध गरेर दायित्व निर्वाह गर्नुपर्ने बताए।
सभापतिको आसनबाट बोल्दै दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले पुरस्कृत तथा सम्मानित चारैजना स्रष्टाहरूका बारेमा संक्षेपमा प्रकाश पारेका थिए।प्रतिष्ठानको गतिविधि तथा पुरस्कारहरूका बारेमा बोल्दै उनले प्रतिष्ठानले विभिन्न पुरस्कारहरू समर्पण गर्दै आएको र दायित्व पत्रिका प्रकाशनका सम्बन्धमा समेत प्रकाश पार्दै धन्यवाद ज्ञापन गरेका थिए। अध्यक्ष पन्तले पुरस्कार स्थापनागर्ने स्रष्टाका परिवारहरूप्रति आभार प्रकट गरेका थिए।
कार्यक्रममा पुरस्कृत तथा सम्मानित चारैजना स्रष्टाहरूले मन्तव्य राखेका थिए।
कार्यक्रमको सुरुमा प्रतिष्ठानका पूर्व महासचिव लेखप्रसाद निरौलाले स्वागत मन्तव्य राखेका थिए।मन्तव्यका क्रममा उनले चारै जना पुरस्कृत तथा सम्मानित स्रष्टाहरूको संक्षिप्त परिचय सहित स्रष्टाहरूको कृतित्व तथा व्यक्तित्वमाथि प्रकाश पारेका थिए। उनले पुरस्कार स्थापनाकर्ताहरूका बारेमा समेत प्रकाश पारेका थिए।
प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व साहित्यकार तथा साहित्यिक पत्रकार डा. महेश्वर शर्मा रहेका थिए।
कार्यक्रममा दायित्व द्वैमासिक पत्रिकाको पछिल्लो अङ्क १५६ को विमोचन गरिएको थियो भने दायित्व पत्रिकाको आजीवन र विशिष्ट सदस्यहरूलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो।
सो कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव यादव भट्टराईले गरेका थिए।
स्मरणीय छ, शङ्कर कोइराला आख्यान पुरस्कार कोइराला परिवार तथा साहित्यकार सुश्री भद्रा घलेद्वारा स्थापित पुरस्कार हो । कुमार-सरस्वती साहित्य पुरस्कार डा.कुमारबहादुर जोशीको परिवारद्वारा स्थापित पुरस्कार हो। चूडामणि भाषा व्याकरण-कोष पुरस्कार चूडामणि गौतम जीवित छँदै उनले स्थापना गरेको पुरस्कार हो। भाषा शब्द पछि मात्र थपिएको हो। रामप्रसाद पन्त वाङ्गमय पुरस्कार दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा नियात्राकार रामप्रसाद पन्त द्वारा स्थापित पुरस्कार हो।
सो अवसरमा शङ्कर कोइरालाका सुपुत्र अनिल कोइराला,कुमारबहादुर जोशीका सुपुत्र कुमुद जोशी,चूडामणि गौतमका धर्मपत्नी विष्णुमाया गौतम तथा सुपुत्र असीम गौतम उपस्थित रहेका थिए ।
०००
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)
