मणि शर्माको “घर संसारका प्वालहरू”

व्यक्ति बृत्त

भाष्कर मैनाली शर्मा, दार्जिलिङ

मणि शर्मा द्वारा लिखित घर संसारका प्वालहरू उपन्यास पहिलो पटक सन् २०२४ मा प्रकाशित भएको हो। जम्मा १०२ पृष्ठमा सीमित यस पुस्तक आकारमा पातलो भए पनि विषयवस्तुको दृष्टिले भने गम्भीर, जीवनपरक र पठनीय बनेको छ।
यस उपन्यासले हाम्रो दैनिक जीवनमा आउने संघर्ष, उतार–चढाव, सामाजिक यथार्थ र जीवनका सुख–दुःखलाई कलात्मक ढङ्गमा प्रस्तुत गरेको छ। यहाँ देखाइएका पात्रहरू धनी–मानी वा विलासी जीवन जिउने होइनन्, बरु मध्यम तथा निम्न–मध्यम वर्गीय परिवारमा हुर्किएका साधारण मानिसहरू हुन्। उनीहरूको जीवनभोगाइ, संघर्ष, पारिवारिक झन्झट, सामाजिक विवशता र मूल्य–मान्यताका प्रश्नहरू नै उपन्यासको मुख्य धुरी बनेका छन्।
नेपाल तथा भारतीय समाजमा आजभन्दा ३०–४० वर्ष अघिसम्म दुई वा बढी विवाह गर्नु सामान्य कुरा मानिन्थ्यो। उपन्यासमा पनि यही प्रसङ्गलाई उठाइएको छ। लोग्नेले स्वास्नी हुँदा हुँदै दोस्रो विवाह गरेपछि उत्पन्न हुने सौता–सौतीबीचको विवादलाई प्रत्यक्ष भन्दा बढी परोक्ष रूपमा चित्रण गरिएको छ। जस्तै, लोग्नेले कान्छी बुडी ल्याएपछि जेठी बुडीले घरभित्र पस्न नदिएको घटना वा कान्छी सौताको छोरो खेल्दै गर्दा जेठी स्वास्नीले उसलाई सौताको छोरो भन्दै आगोले झोसिदिएको हृदयविदारक प्रसङ्ग यसैको उदाहरण हो।
शिक्षा अहिलेको जमानामा अत्यावश्यक भए पनि आर्थिक कठिनाईले यसलाई प्राप्त गर्न सजिलो छैन। उपन्यासमा पनि खसी बेचेर पढाइ खर्च जुटाउनु पर्ने प्रसङ्गमार्फत यस यथार्थलाई देखाइएको छ।
त्यस्तै, रोजगारी र जीविकोपार्जनका निम्ति बसाइँसराइ गर्ने परम्परा धेरै अघिदेखि नै समाजमा रहेको छ। यस उपन्यासमा खरसाङबाट सुकेपोखरी स्थान्तरण हुने घटना वा आफ्नो जन्मभूमि छोडेर कोलकाता पुलिसमा काम गर्न जाने प्रसङ्गले यसलाई उजागर गरेको छ। यस उपन्यासमा विभिन्न ठाउँहरू लाई पृष्ठभूमि बनाएर उपन्यास लेखिएको छ जस्तै खरसाङ सहर, सुकिया पोखरी, कोलकाता, सिलिगुडी, धरान, तिनधारे इत्यादि रहेको छ।
वृद्ध अवस्थामा बाबु–आमाको हेरचाह गर्ने जिम्मेवारी छोराछोरीकै हो। तर समाजमा कतिपय सन्तानले वृद्ध अभिभावकलाई उपेक्षा गर्ने प्रवृत्ति पनि पाइन्छ। उपन्यासमा छोरा आफ्ना वृद्ध बाबुलाई वर्षभरि वास्ता नगरी दशैंमा मात्रै गएर टीका लगाउने र एउटा टोपी लगाइदिएर फर्कने प्रसङ्गमार्फत यस्तो कठोर यथार्थलाई चित्रण गरिएको छ।
विवाह जीवनको महत्वपूर्ण मोड हो। उपन्यासमा यस प्रसङ्गलाई बारम्बार जोडिएको छ। कहिले ठूला तामझाम नगरी मात्र पारिवारिक भेटघाटमा विवाह सम्पन्न गर्ने, कहिले भगाइविवाहका घटनाहरू—यी सबैले समाजको विवाह सम्बन्धी विविधता देखाउँछन्।
मानिस बाँचुञ्जेल वास्ता नगरी मृत्यु भएपछि मात्रै रुवाबासी गर्ने र काज–किरियामा उपस्थित हुने हाम्रो समाजको विडम्बनालाई उपन्यासले उघारेको छ। त्यसैगरी केही मानिसहरू मेहनत नगरी गाउँ–गाउँ डुल्ने, काम नगर्ने प्रवृत्ति, नयाँ पुस्ता र पुरानो पुस्ताबीच विचारमा हुने टकरावजस्ता घटनाहरू पनि पुस्तकमा जीवन्त रूपमा देखाइएका छन्।
उपन्यासको भाषा अत्यन्तै सरल, सहज र पठनीय छ। लेखकले जटिल विषयलाई पनि सोझो ढङ्गमा प्रस्तुत गरेका छन्। घर संसारका प्वालहरू शीर्षक नै उपन्यासको जीवन–सन्देशलाई प्रतिबिम्बित गर्ने खालको छ। मानिसले जीवनमा भोगेका दुःख, कठिनाइ र दुविधा नै ती “प्वालहरू” हुन्, जसलाई भर्दै–पुर्दै मानिस आफ्नो जीवनयात्रा अघि बढाइरहेको हुन्छ। यसरी शीर्षक र विषयवस्तुबीच सशक्त सामञ्जस्य देखिन्छ।
समग्रमा, घर संसारका प्वालहरू साधारण मानिसको असाधारण जीवनकथाको दस्तावेज हो। यसले हाम्रो समाजको वास्तविक स्वरूप, मानवीय संवेदना र मूल्यहरूको गहिरो चित्रण गरेको छ।
०००
लेखक परिचयः भाष्कर मैनाली शर्मा भारतको दार्जिलिङमा जन्मेका हुन् र हाल सिलिगुडीमा वसोवास गर्छन् । उनले हिमालय दर्पण पत्रिकामा “घोप्टे युग” निवन्ध प्रकाशन गरेर साहित्य यात्रा अघि बढाएका हुन् । उनले दार्जिलिङ, कालेबुङ, सिक्किम, डूवर्स र नेपालका पत्र पत्रिकाहरूमा साहित्यिक तथा साहित्येतर लेखहरू नियमित रूपमा लेख्दै आइरहेको छन् ।