पथराशीमा मुस्काएको कापचुली

नियात्रा

विष्णुप्रसाद शर्मा पराजुली

२०८१ वैशाख २६ गते बास बसेको घरमघर (३,९०० मि.)को पखेरोको धारैधार उक्ल्यौँ । त्यो दार्चुलाको उत्तर–पूर्वको उच्च हिमाली खर्क हो । होचो र कोप्चो परेको ठाउँमा बाक्लो बरफ जमेको थियो । त्यस्तो ठाउँमा हामीले क्र्याम्पोन लगायौँ । क्र्याम्पोनको तल्लो भागमा फलामको तिखो काँडा निक्लेको हुनाले बरफमा गाडिन्छ, लर्कनबाट केही हदसम्म जोगाउँछ । करवीर भारीसँग सामान्य जुत्तामा पनि चिप्लेका थिएनन् । हामीलाई डरै थियो । त्यो बिहान मौसम उघ्रेर सफा भयो । कापचुली हिमालवरपरका चुचुराहरू मनमोहक, सफा र हँसिला देखिन्थे ।
धरमघरको पखेरोभन्दा पश्चिम भागमा कापचुली (६,४६७ मि) हिमाल उभिएको छ । यो हिमाल अपि हिमालको पूर्वी पाखोमा रहेको छ । त्यससँगै जोडिएको मुख्य हिमालयको लामो शृङ्खला पूर्वतिर घुसेर सैपालको हिमालको पश्चिमसम्म पुगेको छ । हाम्रो चढाइ सामान्य थियो । पथ राशी हिमालको ४,२०० मिटरमा पुग्दा समग्र पखेरोमा बाक्लो बरफ जमेको थियो । त्यसको तल्लो भाग भीर थियो । सकेसम्म हिउँलाई छल्ने गरी धार समात्दै उक्ल्यौँ । पथराशीको पश्चिम पखेरो चढदै ४,५०० मिटरमा पुग्यौं । त्यस बेला भने पथराशी खान हामीभन्दा थोरै मात्र माथि देखिएको थियो । सूर्योदयसँगै त्यो हिमाली खण्ड खुसीले मुस्कुरायो । हिमाल हाँस्यो । झारलले कालो चट्टानको धारमा उभिएर उपत्यका हेर्दै जीउको हिउँ झारे । नाउर पाखैपाखा पूर्व लागे । माथिल्लो डोल्पातिर देखिने लामा पखेटा भएका गिद्ध देखिएनन् । हिमाली काग भने हाम्रो वरपर देखिएका थिए ।
अघिल्लो रात झरेको पातलो हिउँले पर्वतका चुचुरा अझ बढी चम्किला देखिन्थे । त्यो सफा, सुन्दर हिम पर्वतको दृश्यले हाम्रो थकाइ हराएको थियो । बिहानको पहिलो किरण कापचुलीमा पर्दा त्यो समग्र शृङ्खला सुनौलो पर्वतमा रुपान्तरण भयो । त्यस्तै दृश्य हेर्न हिँडेकाले हामी हर्षले रोमाञ्चित भएका थियौँ । त्यो सुनौलो रूप हाम्रो हृदयमा प्रवेश गरेर हाम्रो मुहारलाई चम्किलो पारेको थियो । मौसमको मनोवैज्ञानिक असरअनुसार हामी हिमालीझैं हाँसेका थियौँ । यदि बादल लागेको भए दिक्क लाग्थ्यो र पाइला पटक्कै सर्दैनथे ।
चार घण्टाको निरन्तर उचाइ यात्रापश्चात् बिहान १० बजे ४,७५० मिटरको उचाइमा रहेको पथराशी हिमालको खानमा पुग्यौँ । त्यहाँ तस्वीर लियौँ । त्यस बेलासम्म मौसम चौपट्टै सफा थियो । म र करवीर पथराशी खानमा पुग्दा साथीहरू झरिसकेका थिए । मैले कापचुली चुचुराको विभिन्न कोणबाट तस्वीर लिएँ ।
कापचुली हिमाल पहिलो पटक सन् १९७७ मा थोमस हर्लेले आरोहण गरेका हुन् । यसको दक्षिण मोहोडा भिरालो छ । पूर्वी मोहोडा भने पथराशी हिमालसँगै जोडिएको छ । यो हिमाल दार्चुलाको पूर्वोत्तर कुनामा रहेको क्षत्ती गाउँदेखि नजिक छ । यस वरपर ६,००० मिटर र त्यसभन्दा उच्च रहेका धेरै चुचुरा र धार छन् । ती सबैको नाम राखिएको छैन । अपि, नाम्पा, भबयसहित यस क्षेत्रलाई छ हजार मिटरका चुचुरा आरोहण र पदयात्राको लागि दार्चुलाको केन्द्र बनाउन सकिन्छ । त्यसको लागि गोरेटो, खाना खाने र बस्ने लज जस्ता आधारभूत आवश्यकताका संरचना निर्माण गर्नु पर्ने छ । हामीले यात्रा गर्दासम्म त्यहाँ गोरेटो र चिया पिउने छाप्रो समेत छैन । पाल र खाने सामान सहितको यात्रा धेरै महङ्गो हुन्छ । शरद र बसन्त ऋतुको बेलाको लागि मात्र भए पनि स–साना लज हुने हो भने त्यो क्षेत्र मानव हस्तक्षेत्र बिहिन यो क्षेत्र प्रकृति प्रेमी, पदयात्री र आरोहीकोलागि आकर्षित गन्तब्य हुनेछ । त्यसो हुनसके इच्छुक नेपाली भारतीय, अमेरिकी युवाहरू यस क्षेत्रमा रमाएर आउने थिए ।
अपि आधार शिविर पुगेर फर्केका हामी पद यात्राको दशौँ दिनमा थियौँ । यार्सालुका छाप्रो खोज्दै त्यस बेला हामीले जस्तो यात्रा गर्नु सहज छैन । छाप्रो खोज्दै रात काट्नु त दुःखमथि दुःख थप्नु मात्र हो । तैपनि घाजिर र क्षेत्तीका स्थानीय मित्रलाई पर्यटकीय विकासको अत्यधिक सम्भावना भएको कुरा गरेका थियौँ । धवलागिरि, अन्नपूर्ण, सगरमाथा, मकालु र कञ्चनजङ्घा क्षेत्र विश्वभर चर्चित छ । अब त्यस्तै चर्चित अपि, नाम्पा, जेठीबहुरानी, भवय, बबया र सैपाल हिमालय क्षेत्रलाई बनाउनुपर्छ । यी सुदुर पश्चिममा अमूल्य गहना हुन् ।
बिहानको त्यो सफा मौसममा मन्द मुस्कानका साथ उभिएका हिमचुचुरा, पखेरा र खानले हृदय प्रफुल्ल पा-यो । धेरै बेर बस्न चाहे पनि चिसो सिरेटो, पातलो अक्सिजनको कारण बिमार लाग्न सक्ने सम्भावना र समयकै कारण त्यहाँ बस्न मिल्दैन थियो । साहसिक यात्रा गर्दा सौन्दर्यलाई आँखाको माध्यमबाट हृदयको कुनामा राखेर हिँड्नुपर्ने हुन्छ । उच्च हिमाल र मानवबीच बस्ने बलियो मायाको साङ्लोलाई निर्मोही भएर चुँडाल्नुपर्ने हुन्छ । मैले पनि कापचुली हिमशृङ्खलासँग गाँसिएको मायाको डोरीलाई चट्ट चुँडालेर, दार्चुलासँग बिदा माग्दै पथराशी खानबाट सैपाल हिमालको दक्षिण खण्ड बझाङतिर प्रवेश गरेँ ।
हिउँ र बरफमा उकालो चढ्दाभन्दा ठाडो ओरालो झर्दा चिप्लने, हिमचिरा (हिम धाँजा, हिम भड्खालो) मा फस्ने अत्यधिक सम्भावना पाइला–पाइलामा हुन्छ । धवलागिरि परिक्रमा, माथिल्लो डोल्पा र मनास्लुमा मैले त्यो अनुभव सँगालेको छु । यदि डोरी टाँगेको छ भने सुरक्षित हुन्छ । आरोहण डोरी नभएको पखेराबाट चढ्दा वा ओर्लँदा प्रत्येक पाइला चाल्दा बडो होसियार हुनुपर्छ । सगरमाथाका साथै अन्य हिमालयको सफल आरोहण गरी झर्दा मृत्युवरण गरेका पासाङ ल्हामुशेर्पा जस्ता थुप्रै उदाहरण हामीसँग ताजा छन् । एकछिन चुचुरोमा उभिएर चारैतिर हेरेँ । सैपाल क्षेत्रमा बाक्लो घुरमैलो बादल थियो । दक्षिण भागमा पातलो हुस्सु नृत्यमा लीन थियो । क्षेत्तीका गाउँलेले गहुँ, उवा र जौले भकारी भरे झैँ गहिरा खोँचहरू सेतो कुहिरोले टमक्क भरिएका देखिन्थे । त्यस बेला म कुहिरोभन्दा माथि खानको शिरमा हिम चितुवा उभिए झैँ मक्ख परेर उभिएको थिएँ ।
पथराशीको पूर्वी मोहोडाबाट खोलामा झर्नुपर्ने थियो । पूर्वी मोहोडा पश्चिमको तुलनामा झन् ठाडो रहेछ । म र करवीर आफ्नै गतिमा झर्दै गयौँ । बरफ खण्ड सकिएपछि क्र्याम्पोन खोलेँ । आनन्द लाग्यो ।
पथराशी पर्वतको पूर्वी मोहोडाको अन्तिम खण्ड ठाडो चट्टानको एक धार भएर ओर्लनुपर्ने रहेछ । पाइला राख्ने ठाउँ पनि नभएपछि होसियार हुनैप-यो । चट्टानको चर्केको, फुटेको, पोरा परेको भागमा टेक्दै शरीरलाई सन्तुलनमा राख्दै झर्नुपर्ने रहेछ । करवीरका अनुसार एक पटक एरिक भालीले त्यस ठाउँमा डोरी टाँगेर ओर्लेका थिए । हामी झर्दा हिउँ थिएन ।
छोटो भए तापनि त्यो खण्ड कठिन नै लाग्यो । डोरी भइदिएको भए समस्या थिएन । म फ्रान्सको अल्पस पर्वतको केही ठाउँमा त्यस्तै भीरमा चढ्ने र ओर्लने गरेको छु । त्यहाँ डर लागेन किनभने त्यहाँ डोरी मात्र कहाँ हो र पहरामा फलाम ठोकेर टेक्ने खुड्किलो पनि बनाइएको थियो ।
टेक्ने ठाउँ नै नभएको पहरोबाट झर्नु सहज हुँदैन । दुर्घटनाको सम्भावना प्रचुर हुन्छ । त्यो खण्ड एक सय मिटर मात्र अग्लो थियो । त्यसैले कतै एक हात, कतै दुवै हात, खुट्टा र अग्लो गौँडोमा पहिरोतिर अनुहार पारेर ओर्लेँ । त्यसरी ४,७५० मिटरबाट पुनः ३,९०० मिटरमा झर्नुपर्थ्यो । त्यहाँ उचाइले भन्दा भीरले आँखा तरेको थियो ।
खोलाको किनारमा पुगेपछि हामीले खाजा खायौँ । खाजामा कफी, चिउरा, भुजिया, चकलेट, मकै, भटमास, बागलुङ तिर पाईने भागो र गुन्द्रुकको छोप थियो । त्यो काठमाडौंकै थियो । त्यहाँ बझाङबाट किरा टिप्न आएका दुई बालक भेटिए । खाजा खान बोलायौँ तर पटक्कै मानेनन् । क्षणभर आराम ग-यौँ । त्यो समग्र उच्च हिमालयको वृक्ष विहीन क्षेत्र थियो । त्यसै क्षेत्रमा हो नाउर, झारल र हिम चितुवा हुने । मौसम सफा हुँदा नाउर र झारलको बथान नै देख्न सकिन्छ ।
हामी खोलो तरेर फेरि उकालो लाग्यौं । चढ्नुपर्ने हिमालको उच्च स्थानको नाम दुबै खान हो । त्यसको उचाइ ४,६०० मिटर मात्र थियो । त्यो हिमालको ४,००० मिटरदेखिका तल्लो पाखोमा नै बाक्लो हिउँ जमेको थियो । हुस्सु पनि तम्तयार भएर पखेरो ढाक्दै थियो । मौसम क्रमशः कालिँदै र अध्यारिँदै थियो । क्षण भरमा नै पानी र हिउँ सँगसँगै पर्न थाल्यो । फेरि हुस्सु, फुरुरु एउटा लाग्ना नाघेर खोल्सीतिर हुत्तियो । त्यो क्रम चलि नै रह्यो । हिमाल आरोहण गरे झैँ सुस्तसुस्त चढ्दै गयौँ । उचाइले पाँचै यात्रीलाई समस्या पारेको थिएन । त्यसको अर्थ सबै तन्दुरुस्त र बलिया थिए । अन्यथा चार हजार मिटरमाथि कसैलाई टाउको दुख्ने र चक्कर लाग्ने, खान मन नलाग्ने हुनसक्छ । त्यस दिनको त्यो अन्तिम चढाइ थियो ।
पखेरोको माथिल्लो खण्ड पथराशी पर्वतभन्दा अझ ठाडो थियो । त्यस्तै ७०–८० डिग्रीमा ठडिएको हुँदो हो । एक घण्टा पहिलेदेखि परेको हिउँ रोकिएको थिएन । हुस्सु बाक्लो भयो । मौसम झनै अँध्यारियो । पाँच मिटरभन्दा अगाडि केही पनि देखिएन । त्यस्तोमा सँगसँगै हिँड्ने, कसैलाई केही समस्या भएमा साथ दिने, एक्ला–एक्लै नहिँड्ने भनेको थिएँ । साथीहरू भने आफ्नै गतिमा थिए । चुचुरोभन्दा केही तल एउटा चुच्चो परेको हिउँ नभएको कालो चट्टान थियो । हामी त्यसको पूर्व उत्तरको खानमा पुग्नुपथ्र्यो । अगाडि हिँडेका यात्रीको पदचिह्न हेर्दै हिँड्नुपथ्र्यो। मसँगै करवीर थिए । केही अगाडि देवेन्द्र र ज्ञानेन्द्र देखिन्थे । मुकुन्दलाई देखेको थिइनँ । उनी त्यो चुच्चे चट्टानको सिधै माथि गएछन् । त्यस्तै पाँच मिनेट जति उनीसँग सम्पर्क भएन । हामी चिच्यायौँ । उचाइमा चिच्याउन पनि थप बल चाहिन्छ । उनी हामीभन्दा झण्डै एक सय मिटरमाथि पश्चिमतिर गएका रहेछन् । त्यतैबाट पूर्वी भन्ज्याङ आउन भन्यौं । हुस्सु लागेको बेला हराउने, हिमचिरामा फस्ने, पहिरोमा पुरिने खतरा उत्तिकै हुन्छ । त्यस कारण नजिक–नजिक भएर हिँड्नुपर्छ ।
करवीर र म दुवै लाग्ना (४,६५० मि.) पुग्दा शक्तिशाली चिसो कठोर स्याँठसहित सिमलको भुवा जत्रो भुल्के हिउँ र पानी प-यो । मैले झोलामा भएको बर्सादी भेटिनँ । करवीरको डबल ब्यागमा छ कि भनेर खोलेर हे-यौँ । भेटिएन । लुछुप्पै भिज्यौँ । करवीरले प्लास्टिक ओढे । भिज्दै झरेँ । बाक्लो हिउँ खण्ड सकिएपछि क्र्याम्पोन खोलेर झोलामा राखेँ । पानी र नयाँ हिउँले माटो भएको ठाउँ गलेको थियो । ढुङ्गा चिप्लो भयो । हिउँ पर्न छोड्यो । पानी रोकिएन ।
त्यसै बेला महादेव जाडे र महादेव पर्वत देखिए । महादेव जाडे कुकुरको आकारमा रहेको ढुङ्गा हो, जसले सँगै रहेको महादेव पर्वतलाई सुरक्षा गरेको जस्तो देखिन्छ । त्यसैले त्यसलाई महादेव जाडे भनिएको करवीरले सुनाएका थिए । ओरालो झर्दै हामी समथर खण्डमा रहेको वीरफट्ट पुग्यौँ । पानी रोकियो । त्यो समग्र हिमाली उपत्यका महादेव, पार्वती, शुर्मा देवीको क्षेत्र रहेछ । सतलजको पूर्वी किनार नाङ्गा पर्वतदेखि तिब्बतको नाम्चा बारबासम्म २,५०० किलोमिटर लम्बाइमा फैलिएको उच्च हिमालय पर्वतमालालाई अति प्राचीनकालदेखि शिव र पार्वतीको क्षेत्र भनिन्छ ।
हिमालय परिचय भाग–१ (सन् १९५३) मा राहुल साङ्कृत्यायनले उल्लेख गरेअनुसार ई.पू. २००० मा खस जाति पूर्वी मध्यएसिया काशगर (तरिम उपत्यका), खोतान (तक्लामकान)बाट हिमालयततिर आउनुपूर्व यस क्षेत्रमा किन्नर र किराँतको राज्य थियो । त्यसपछि खस जाति यस क्षेत्रमा प्रवेश गरे र तिनको वंश हाल बर्मासम्म फैलिएको छ । खसको प्रवेशपछि किराँत पूर्वतिर लागे भन्ने एकथरी विश्लेषकको भनाइ रहेको छ । किराँतले शिवलाई किराँतेश्वर महादेव भन्दछन् । बझाङको उत्तर–पश्चिम कुनो जहाँ हामीले यात्रा गरिरहेका थियौँ, त्यो क्षेत्र अति प्राचीन कालमा घुमन्ते, प्रकृतिपूजक, शिवगण, किराँत, खस, खस साम्राज्य, भुरे टाकुरे, बाइसे, विशाल नेपाल हुँदै वर्तमान नेपालको भूमि हो । मिथक अनुसार शिव, शुर्मा र पार्वतीको वासस्थान भनेर स्थानीयले विश्वास गरिएको शुर्मा देवीको वीरफट्ट क्षेत्रमा हामी थियौँ ।
वीरफट्ट भनेको पाटन हो । शुर्मा देवी जात्राको बेला शुर्मा सरोवर पुगेर फर्केपछि व्रतालु युवाबीच त्यस चौरमा दौड प्रतिस्पर्धा गरिने रहेछ । त्यस दौडमा जित्नेलाई वीर उपाधि दिइने रहेछ । त्यसैको नामबाट त्यस पाटनको नाम वीरफट्ट भएको रहेछ । वीरफट्टसँगै वीरे ओडार रहेको छ । त्यस ठाउँमा बझाङ शुर्मा गाउँपालिकाका एक युवाले खाना पकाउने छाप्रो र सुत्नका लागि पाल बनाएका रहेछन् । यार्सा खोज्न आउने, जानेहरूलाई चाहिने सामान पनि त्यहाँ राखेका रहेछन् । त्यो साँझ योजनाअनुसार त्यहीँ बस्यौँ ।
त्यो दिन समुद्र सतहदेखि ३,९०० मिटरबाट सुरु गरी ४,७५० मिटरको पथराशी खानमा पुग्यौँ । त्यसपछि आठ सय पचास मिटर ठाडै झरेर ४,६५० को दुबै खान पुग्यौँ । त्यहाँबाट दुबै खान पर्वतदेखि सिङ्गो पर्वत झरेर बास बस्न फेरि ३,९०० मिटरमा नै भेडकियौँ ।
त्यो दिन पाटन, खोलो, भिर, पहिरो, जङ्गल, चट्टान, बरफ, दुई हिमालय पर्वतको अग्लो खानसमेत पार गरेका थियौँ । हामी हिँडेको बाटो भएर अधिकांश पद यात्री हिँड्दैनन् । त्यो दार्चुलाबाट शुर्मा सरोवर जात्रामा आउने तीर्थयात्रीहरूको मात्र क्षेत्र हो । सामान्य मात्र डोरेटो बनाइदिने, असोज–कात्तिक र वैशाख–जेठमा सात–आठ घण्टाको फरकमा खाना खान र बास बस्न मिल्ने छाप्रो बनाइदिने हो भने यो क्षेत्र पदयात्राको लागि अत्युत्तम प्रकृतिमय छ । धेरै यात्रीको भिड नहुने, मानव हस्तक्षेपहीन कुमारी प्राकृतिक अवस्थामा रहेको, विकट र जङ्गलीपनमा भएकाले यस क्षेत्रमा पदयात्रीले यात्रा गर्न रुचाउनेछन् भन्ने मेरो विश्वास छ । यसका लागि यहाँ पर्यटक आवतजावत गर्न मिल्ने पदमार्ग, पुलपुलेसा, पदमार्ग चिह्न र छाप्रोको बन्दोबस्त गर्नु जरुरी देखिन्छ ।
पथराशी र दुबै खान पार गरेर दार्चुलाका तीर्थयात्री शुर्मा सरोवरमा शुर्मा भवानीको पूजा गर्न बाहेक अरू कामको लागि यस क्षेत्रमा आउँदैनन् । भेडापालन र यार्साका खर्क दार्चुलातिरकै हिमालयमा गर्छन् । उनीहरू शुर्मा भवानीलाई इष्टदेवीको रूपमा मान्दछन् । देवीले उनीहरूको जीवनमा सुख अर्पण गर्छिन् भन्ने पूरा विश्वास छ । हिमाली बासिन्दा बर्खामा भेडा, च्याङ्ग्रा चराउँदै माथिल्लो लेक पुग्ने र भदौको अन्तिमदेखि चराउँदै तल्लो लेक र गाउँतिर झर्छन् । त्यसै बेला विभिन्न जडीबुटी पनि सङ्कलन गर्दछन् । गाउँमा वर्षमा एक पटकमात्र आलु, जौ, फापर बाली लगाउँछन् ।
यार्सागुम्बा खोज्न दुई महिना उच्च हिमालय पर्वतका शेर (पाटन) मा बिताउने यहाँका बासिन्दाको जीवन चक्र हो । त्यति गर्दा पनि खान नपुग्दा कृषि र सडक मजदुरी गर्न भारतका पहाडमा जानु हो । शुर्मा भवानीको निर्णय त्यस्तै भएकोले त्यो जीवन बिताउन परेको भन्नेमा विश्वस्त छन् उनीहरू । यस क्षेत्रका बासिन्दाको जीवन मानव विकासको प्रारम्भिक चरणको कृषि र पशुपालन युगको झल्को दिने प्रकारको छ । त्यस बेलाका बासिन्दा शुर्मा सरोवरलाई आज प्रकृतिकी संरक्षक मानेर पूजा गरे झैँ पूर्णतः प्रकृतिपूजक नै थिए ।
साँझतिर धुवाँभित्र रुमल्लिँदै हामीले खाना खायौँ । छाप्रोका मालिक मिलन बोहोरा व्यापारिक क्षमता भएका थिए । उनी यार्सा खोज्ने वर्षा ऋतुदेखि शरद ऋतुको पहिलो चरणसम्म वीरे ओडारमा बस्ने गर्छन् । उनी र उनकी पत्नी बाघ मार्न धुवाँर्ने ओडारजस्तै होचो, धुवाँले गुम्सिएको छाप्रोमा हाँसी खुसी थिए । उनको साथमा उनकी साली पनि थिइन् । दिउँसो साली र पत्नी यार्सा खोज्न जान्थे । बिहान बेलुका मिलनलाई सघाउथे ।
पालको एक कुनामा एक धामीले अर्की एक बिरामी महिलाको गालामा तिखो फलामको हतियारले घोच्दै, मनमनै मन्त्रले फुक्दै झारफुक गर्दै थिए । महिलाको निधार, टाउको र दाँत दुखेको थियो । खाना खाएकी थिइनन् । उनले फुकेपछि सञ्चो हुने विश्वासमा ती महिला थिइन् । लेकमा पुगेपछि उनलाई त्यस्तो भएको थियो । स्थानीय विश्वासअनुसार उनलाई उचाइको बिमार लागेको नभई हिमाली भूतप्रेतले सताएको थियो । झारफुकपछि सन्चो भइ हाल्छ भन्ने विश्वास बिरामी र झाँक्री दुवैलाई थियो । तर सत्य के थियो भने उनलाई उचाइको विमार लागेको थियो ।
बोहोराले रक्सी, भेडाको मासु, झारलको सुकुटी खान कर गरे । हुन त त्यो के हो थाहा भएन तर झारलको सुकुटी भनेर खुवाए । महङ्गो उस्तै । त्यस क्षेत्रमा झारल नपाइने पनि होइन । बन्दुक बोकेका शिकारी फाटफुट नदेखिएका पनि होइनन् । जङ्गली जनावरमाथि आक्रमण हुँदा शुर्मा देवीले कति रोक्न सक्लिन् ! आफैं विचार गरौं । यद्यपि म र मसँगै हिँड्ने साथीहरू जङ्गली जनावरको चरन क्षेत्र मास्ने, झारल मार्ने कार्य गलत हो भन्छौँ ।
मैले चिसा कपडालाई स्लिपिङ ब्यागभित्र हालेँ । अग्लो र फराकिलो पाल भएको हुनाले त्यो रात कापचुली हिमालको आधारभूमि तथा शुर्मा भवानीको काखमा निद्रा राम्रै प-यो । प्राचीन शिवगण, गन्धर्व, किन्नर, द्रविड, दरद, खस, शक, यवन, कम्बोज आदि जाति विचरण गर्ने त्यस पावन भूमिमा आनन्दानुभूति भयो । रातभर सपनामा पनि खस साम्राज्यकालिन पवित्र भूमि मानसरोवर, गुगे, सतलजसम्म विचरण गरिरहेँ ।

०००

लेखक परिचयः विष्णुप्रसाद शर्मा पराजुली मूलतः नियात्राकार हुन् । पर्वतमा जन्मेका उनी हाल बूढानीलकण्ठमा बसोवास गर्छन् । उनका तीन नियात्रा कृतिहरू “तिब्बत यात्रा, (२०७२ ),” डोल्पोः विश्वको जीवित सङ्ग्रहालय” (२०७४), श्वेत पर्वत, (२०७८) प्रकाशित छन् । उनको एक कृति अङ्ग्रेजी भाषामा समेत प्रकाशित छ ।

1 thought on “पथराशीमा मुस्काएको कापचुली

Leave a Reply