बूढो पास्नीको अवसरमा कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

समाचार

९ चैत २०८१, काठमाडौं ।

साहित्यिक पत्रकार सङ्घको आयोजनामा कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको बूढो पास्नीको पूर्वसन्ध्यामा राजधानीमा ३८ संघ संस्थाले सामुहिक रुपमा उनलाई तथा उनकी पत्नी नीरू श्रेष्ठको अभिनन्दन गरे। उनलाई प्रदान गरिएको अभिनन्दन-पत्र उनकै कद बराबरको रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि त्रिविका पूर्व कुलपति केदारभक्त माथेमा र कार्यक्रम एवम् साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली लगायतले अभिनन्दनपत्र हस्तान्तरण गरेका थिए ।
सो अवसरमा नरेन्द्रबहादुर श्रेष्ठबारे विभिन्न व्यक्तिहरूद्वारा लेखिएका आलेख र उहाँका विभिन्न व्यक्तित्वबारे जानकारी दिने आलेखहरु समावेश “नरेन्द्रबहादुर श्रेष्ठ : आलेख र अभिलेख” ग्रन्थको विमोचन भयो । सो ग्रन्थको सम्पादन प्रधान सम्पादक प्रमोद प्रधान र सम्पादकहरू श्रीओम श्रेष्ठ “रोदन”, विमल भौकाजी र मुरारी सिग्देल रहेको समूहले गरेको हो । ग्रन्थमा ८० लेखकका रचना समावेश छन् ।
सोही कार्यक्रममा नरेन्द्रबहादुर श्रेष्ठका जरा कलाले सजिएको नयाँ वर्ष २०८२ को क्यालेन्डर समेत लोकार्पण गरिएको थियो ।
साथै सर्वनामद्वारा नरेन्द्रबहादुर श्रेष्ठबारे तयार गरिएको वृत्तचित्रको प्रदर्शन गरिएको थियो । यस वृत्तचित्रको निर्देशन वरिष्ठ नाट्य कर्मी एवं आख्यानकार अशेष मल्लले गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व उपकुलपति केदार भक्त माथेमाले समाजलाई बाटो देखाउने सिर्जनशील व्यक्तिहरूको अभिनन्दन आफैमा महत्त्वपूर्ण कार्य भएको बताए ।
अभिनन्दित व्यक्तित्व नरेन्द्र बहादुर श्रेष्ठले आफ्नो साहित्यिक र कला यात्राको पृष्ठभूमि बताउँदै आजको दिन आफ्नो जीवनको अविस्मरणीय दिन भएको तथा आफ्नो जीवनमा आमा र श्रीमती दुवैको महत्त्वपूर्ण योगदान भएको बताए ।
अध्यक्षको आसनबाट साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले अभिनन्दित व्यक्तित्वको योगदानबारे चर्चा गर्दै यो अभिनन्दन वहाँले समाज र देशलाई दिनुभएको योगदानको लागि भएको बताए ।
कार्यक्रममा प्रमुख वक्ता समालोचक प्रमोद प्रधानले नेपाली कविता, कला, समाज सेवा र अध्यात्म यी चार क्षेत्रमा नरेन्द्र बहादुर श्रेष्ठको योगदान अविस्मरणीय रहेको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष कुशकुमार जोशी, वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठ, ॐ आदि फाउन्डेसनका प्रमुख सल्लाहकार लक्ष्मी प्रसाईं तथा अभिनन्दित व्यक्तित्व नरेन्द्र बहादुर श्रेष्ठका
जेष्ठ सुपुत्र निश्चल बहादुर श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए । सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलले अभिनन्दनपत्र पढेर सुनाएकी थिइन् ।
सो कार्यक्रम कवि एवं चर्चित पत्रकार ठाकुर बेलवासेले सहजीकरण गरेको सो सो कार्यक्रममा राजधानीका विभिन्न साहित्यिक सांस्कृतिक सङ्घ संस्थाका प्रतिनिधिहरू तथा साहित्यकार साहित्य प्रेमीहरूको उपस्थिति रहेको थियो ।

०००

Leave a Reply