९ फरवरी २०२५, नर्थ क्यारोलाइना
ख्यातिप्राप्त साहित्यकार राजेश्वर देवकोटाले आफुले प्राप्त गरेको मदन पुरस्कार र साझा पुरस्कारको राशीबाट २०४६ सालमा हजुरबुबा हरिभक्त देवकोटाको नाममा सांस्कृतिक केन्द्रको स्थापना गरी प्रत्येक वर्ष श्रीपंचमीका दिन गोरखा जिल्लामा जन्मेका या गोरखासम्बन्धी साहित्यिक काम गर्ने स्रष्टालाई प्रदान गरिंदै आएको “हरि उत्कृष्ट प्रतिभा पुरस्कार-२०८०” डा. ऋषि बस्ताकोटीको “विसंगत बस्ती ” कृतिलाई एक कार्यक्रमको आयोजना गरी प्रदान गरियो ।
कार्यक्रममा प्रमुख अतिथि चर्चित साहित्यकार डा. नीलम कार्की निहारिकाले डा. ऋषि बस्ताकोटी जस्तो अब्बल साधकलाई हरि उत्कृष्ट प्रतिभा पुरस्कार समर्पण गर्न पाउँदा गर्व अनुभूति भएको बताइन् ।
कार्यक्रमको सहआयोजक नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका बारेमा चर्चा गर्दै पूर्व अध्यक्ष मनोज प्रधानले संस्थाले मासिक घरदैलो साहित्य कार्यक्रम निरन्तर संचालन गर्दै आइरहेको र यस संस्थामा आबद्ध हुने धेरै साहित्य अनुरागी मित्रहरू साहित्य लेखनमा सफल हुँदै आइरहेको थुप्रै उदारहरण भएको बताए ।
नर्थ क्यरोलाइना नेपाली साहित्य समाजका अध्यक्ष शिखर दुलालले पुरस्कृत कृति समाजको ऐना जस्तै भएको र यसमा भएका मुक्तकहरुले वेथिति, कुसंस्कार र अव्यवस्था विरुद्द शब्दको आन्दोलन सुरु गरेका छन् भन्दै “विसंगत बस्ती” युग सचेत पाठकले पढ्न पर्ने खालको कृति हो भन्ने धारणा राखे ।
पुरस्कृत स्रस्टालाइ बधाई दिदै साहित्यकारहरू नम्रता गुरागाई, पेशल पोखरेल, भूमि नेपाली, प्रभा पोखरेल र पारु तिमल्सिनाले संग्रहभित्रबाट आफूलाई मन परेका मुक्तकहरु वाचन गर्दै “विसङ्गत बस्ती”का केही मुक्तकहरु पर्यावरण पाठ्यक्रममा पनि समावेश भएकोमा लेखकलाई बधाई दिए ।
सम्मानित स्रष्टा बस्ताकोटीले हरि उत्कृष्ट प्रतिभा पुरस्कारलाई आफ्नो साहित्यिक जीवनमा प्राप्त महत्वपूर्ण सम्मानको रुपमा लिएको बताए ।
हरि साँस्कृतिक केन्द्रका पुरस्कार संरक्षक ईश्वर देवकोटाले पुरस्कृत स्रस्टा ऋषि बस्ताकोटीलाई मायाको चिनो सहित नगद रु पच्चीस हजार छयालिसको चेक हस्तान्तरण गर्दै गोर्खाको माटोमा जन्मेका ऋषि बस्ताकोटी जस्ता नेपाली साहित्यका क्त स्रष्टालाई पुरस्कारद्वारा सम्मानित गर्न पाउँदा र नयाँ पुस्तालाई साहित्यको बाटोमा उत्प्रेरित गर्न पाउँदा आफ्ना पिता-पितामहको सपना साकार गर्ने बाटोमा आफू हिंडेको महसुस भएको बताए ।
कार्यक्रममा स्रष्टा बस्ताकोटीकी जीवनसंगिनी कल्पना घिमिरेले पनि मन्तब्य राखेकी थिइन् ।
कार्यक्रमको सुरुमा सहभागीहरूलाई स्वागत गर्दै राजेश्वर देवकोटाका पनातिनी केरी देवकोटा र पनाति नील देवकोटाले आफ्ना पितापुर्खाको नेपाली साहित्य, संस्कृति सम्बर्धनमा भएको योगदानलाई नजिकबाट बुझ्न पाएको र हजरबुवा इश्वर देवकोटाको परिकल्पना अनुसार हरि संस्कृतिक केन्द्रका कामहरूमा सहभागी हुन पाउँदा गौरव महसुस भएको उल्लेख गरे ।
समारोहलाई अघिल्लो बर्ष यसै पुरस्कारबाट सम्मानित गोर्खाली लोककवि सुरेशकुमार भट्टले समेत सम्बोधन गरेका थिए ।
कार्यक्रममा हरिभक्त देवकोटाका कान्छा सुपुत्र तथा केन्द्रका संस्थापक राजेश्वर देवकोटाका भाइ जगदिश्वर देवकोटाले जुमबाट सम्बोधन गरेका थिए ।
कार्यक्रमलाई केन्द्रका अध्यक्ष डा. प्रभा कैनीले जूममार्फत काठमाडौँबाट संस्थाका गतिविधि प्रस्तुत गर्दै पुरस्कृत कृति “विसंगत बस्ती” र यसका स्रष्टा डा ऋषि बस्ताकोटीको साहित्यिक योगदानको समेत चर्चा गरिन् ।
संस्थाद्वारा प्रकाशित वार्षिक प्रकाशन “आवर्तन” को पाँचौं अंकको चितवनबाट विमोचन गर्दै केन्द्रका सल्लाहकार तथा प्रधान सम्पादक केदार खनालले विमोचित अङ्कमा समेटिएका सामग्रीका बारेमा चर्चा गरे ।
हरि सांस्कृतिक केन्द्रले स्थापना दिवसको अवसरमा हरेक वर्ष आयोजना गर्ने अन्तर माध्यमिक विद्यालय निवन्ध प्रतियोगितामा यस बर्ष “सपनाको मेरो नयाँ गाउँ” शिर्षकमा आयोजना गरिएकोको तथा पुरस्कृत गरिसकिएको एबम् उत्कृष्ट निवन्धहरू “आवर्तन” मा प्रकाशित गरिएको कुरा कार्यक्रम संयोजक विजयराज न्यौपानेले बताए ।
कार्यक्रममा अमेरिकाको नर्थ क्यारोलाइनामा भौतिक उपस्थितिमा तथा जूम प्रविधि मार्फत काठमान्डू, गोरखा, चितवन, क्यानाडा र अमेरिकाका बिभिन्न शहरहरूबाट हरि सांस्कृतिक केन्द्रका पदाधिकारी सहितका साहित्य अनुरागीहरू सहभागी भएका थिए ।
०००
