महेन्द्र नेउपानेको लघुकथासङ्ग्रह ‘चुनावी सेरोफेरो’को विमोचन सम्पन्न

मुख्य समाचार

२१ चैत २०८२, भक्तपुर

सिर्जना अभियान समाजद्वारा आयोजित विमोचन कार्यक्रमका महेन्द्र नेउपानेको दोश्रो लघुकथासङ्ग्रह ‘चुनावी सेरोफेरो’को प्रमुख अतिथि डा. पुष्करराज भट्ट , विशिष्ट अतिथिद्वय डा. हरिप्रसाद भण्डारी र लता के. सी . एवं सभाध्यक्ष ध्रुव मधिकर्मी तथा कृतिकार नेउपानेले लघुकथा गान बजाउँदै कृतिको सामूहिक विमोचन गरे ।
कार्यक्रममा प्रमुख अतिथि भट्टले वर्तमान समयमा देखा परेका लघुकथाको प्रवत्तिबारे चर्चा गर्दै हिजोआज एकल विषयमा लघुकथाकृति लेखिने प्रचलन बढेको बताए । उनले यस्ता कृतिले वर्तमान समयको अभिव्यक्ति प्रवाह गर्ने विश्वास व्यक्त गरे ।
विशिष्ट अतिथि डा.हरिप्रसाद भण्डारीले कृतिकारलाई शुभकामना दिँदै विमोचित कृतिमाथि संक्षिप्त समीक्षा गरे । उनले ‘चुनावी सेरोफेरो’ लघुकथाकृतिको नाम सार्थक रहेको , निर्वाचन २०८२ को दौरानमा घटेका यावत् घटना र विषयलाई कृतिकारले संक्षिप्तरुपमा रोचक र मिठासपूर्णरूपमा लघुकथाहरू उनेको , लघुकथाका शीर्षकहरू सन्दर्भिक रहेको , आवश्यक पात्रहरूको सिर्जना गरिएको बताए ।
अर्का विशिष्ट अतिथि लता के.सी.ले कृतिकारको लेखनकला र शैलीलाई नजिकबाट हेरिरहेको बताउँदै छोटो समयमा दुईवटा कृति प्रकाशन गर्नु महत्वपूर्ण कार्य हो भनिन् ।
कृतिकारले कृतिको गर्भ र पृष्ठभूमिबारे औँल्याउँदै चुनाव घोषणा भएदेखि मतदानको दिनसम्म ५५ दिनमा लेखिएका ५९ लघुकथाहरू भविष्यका लागि दस्तावेज बनुन् भन्ने अभिप्रायले कृति प्रकाशन गरेको बताए ।
सो विमोचन कार्यमा विमोचित कृतिबाट शान्ता तिम्सिनाले ‘मातृभूमि’ र प्रार्थना खनालले ‘वेदना’ शीर्षकको लघुकथा वाचन गरे ।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष मधिकर्मीले कृतिभित्र समेटिएका लघुकथाहरू चुनावी माहौलसंग मात्र नजोडिएर आज र भोलिको समय पनि जोडेको विश्वास व्यक्त गरे ।
आयोजक संस्थाका सदस्य लक्ष्मी वैद्यले सो कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

०००