नकुल सिलवाल
(नकुल सिलवाल सम्पादित “बगर” साहित्यिक पत्रिकाको “उत्कृष्ट दश” विशेषाङ्कमा प्रकाशित ४ विधाका १०।१० उत्कृष्ट रचनासँगै सिलवाल लिखित प्रतिभा परिचय क्रमसः साभार प्रस्तुत गर्ने क्रममा प्रस्तुत छ, “ गोविन्दबहादुर मल्ल ‘गोठाले’ को परिचय । )
केटाकेटीमा म पनि गोठालो गएको छु । बाख्रा, भैंसी चराएको छु । गोठमा बसेको छु । बाह्र-तेह्र वर्षमा नै, त्यसै बेला काठमाडौं आइयो पढ्नलाई ।
गोठालेका कृति पढ्दा पाठ्यपुस्तकमा ‘भुसको आगो’, ‘कृष्णे र खुकुरी’ कसले बिर्सन सक्छ र एक पटक पढेपछि । त्यसमा पनि जीवनमा ‘गोठालो’ भइसकेको म नाथेले पढ्दा त रचनाबाट भन्दा लेखकको उपनामबाट बढी प्रभावित भएँ ।
गोविन्द गोठालेले पनि गोठालो भएरै ‘गोठाले’ उपनाम राख्नुभएको होला भन्ने लाग्थ्यो तर होइन रहेछ । उहाँ त एकदम सहरको मानिस, राणाशासनमा आफ्नो खास नाम लुकाउन पो उहाँले ‘गोठाले’ नाम राख्नुभएको रहेछ । जे होस्, ‘गोठाले’ नाम नेपाली साहित्यमा अत्यन्तै चर्चित र प्रतिष्ठित भयो । नाटक, उपन्यास, कथा विधामा उहाँको उल्लेखनीय योगदान छ । पल्लो घरको झ्याल त्यत्तिकै ख्यातिप्राप्त उपन्यास हो । उहाँको अर्को उपन्यास “अपर्णा”लाई बगरले सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार समर्पण गरी प्रकाशनमा ल्याएको थियो ।
कुनै समय लेखनमा सुस्ताउनुभएको जस्तो देखिए पनि फेरि लेख्नुभयो उहाँले असङ्ख्य कथा । नेपाली कथासाहित्यमा एक हातका औंलामा कथाकारहरू नाम गन्ने हो भने ‘गोठाले’ पर्नुहुन्छ । आफ्नो मनोवैज्ञानिक विशिष्ट मूल्य र मान्यतासहित देखा पर्नुभएका कथाकार गोठाले आजसम्म पनि लेखनमा उस्तै इमानदार र प्रतिबद्ध हुनुहुन्छ । साह्रै सरल, सोझा र नरम देखिनुहुने गोठालेले मरिमेटेर पदमा जाने, पुरस्कार लिने गरेको देखिएन – लेखनमा नै दत्तचित्त ।
उहाँजस्ता साहित्यकार कमै जन्मे नेपालमा । छक्कापन्जा नगरी साधनामा जीवन व्यतीत गर्नुजस्तो कठिन के हुन सक्छ ! तपस्वी हुनुहुन्छ साहित्यकार गोठाले ।
पचास सालमा बाढीप्रकोपले असामान्य धक्का पुऱ्यायो । बढी नै धनजनको क्षति भयो । माथिकाहरू झरेर एकदम तल आइपुगे कति । जमिनदारले कामदारको लाइनमा बसेर सहयोगका लागि हात पसारे । त्यही मार्मिक विषयलाई गोठालेले आफ्नो अभूतपूर्व / असामान्य कथा ‘बाढी’ मा व्यक्त गर्नुभएको छ ।
उहाँको प्रस्तुत कथालाई हामीले त्यसै बखत सर्वश्रेष्ठ रचना घोषणा गरेका थियौं र सर्वश्रेष्ठ रचना पुरस्कार पनि प्रदान गरेका थियौं । ‘बाढी’ कथा २०५० को सर्वश्रेष्ठ घोषणा उही बेला भइसकेकाले यतिखेर त्यसलाई फेरि प्रबुद्धवर्गसमक्ष प्रस्तुत गरिएको छ ।
०००
