आचार्य प्रभा
सहँदै हजार पीडा पनि, आँसु पिएर बाँच्दैछु म
बजारिएथ्यो परेड छातिमाथी,सहेर बाँच्दैछु म ।
गरेकै हूँ गल्ति मैले, छलूँ कसरी चोखो छु भनी ?
डुब्दै पश्चातापमा आफ्नै, दिल थामेर बाँच्दैछु म ।
निस्सासिएँ चोटमा, अचानो झैं छिया छिया भई
निको पार्न आलो घाउ, मल्हम बनेर बाँच्दैछु म ।
जिउनु छ यहाँ छ्ट्पटिईं, जिउँदो लाश बनेर
थोरै बाँच्ने आशामा, मृत्यु सामु पुगेर बाँच्दैछु म।
थोरै मुस्काए झैं गर्छु, दुनियाँसामु खुशी देखाउँन
उत्रन नसकी आँसुको दहमा,डुबेर बाँच्दैछु म ।
कवि परिचयः दार्जिलिङमा जन्मेकओ आचार्य प्रभाको लेखन यात्रा विसं २०३४ सालबाट शुरु भएको हो । कविता ,कथा ,मुक्तक ,लघुकथा ,नाटक ,गीतिकथा ,गजल ,भजन,हाईकु,हाल रम्बास कविता इत्यादी विधामा उनी कलम चलाउँछिन् । उनका परदेशबाट(२०६२) कविता सङ्ग्रह, हसह्य चित्कार(सन् २०११) गजल सङ्ग्रह, नाकाबन्दी (२०७६) गीत सङ्ग्र तथा विधुर पुरुष(२०७९) लघुकथा सङ्ग्रह प्रकाशित छन् । उनका गीति एल्बमहरु पनि प्रकाशित छन् । लामो समय अमेरिकाको कोलोराडो वसोवास गरेकी उनी हाल भर्जिनियामा छिन् ।
