नवीन पौड्याल, कालिम्पोङ
१. आमुख – लोकसाहित्यबारे सामान्य चर्चा –
मानिसको सुन्दर भावनाको सिर्जनात्मक अभिव्यक्तिको एउटा प्रमुख माध्यम साहित्य हो। साहित्यलाई पनि सामान्य साहित्य र लोकसाहित्य गरी दुई प्रमुख प्रकारमा वर्गीकरण गरिएको पाइन्छ। लोकबाट रचिएको साहित्यलाई लोकसाहित्य भनिन्छ। यो लोकजीवनको सरल, सहज र स्वाभाविक अभिव्यक्ति हो। लोकभाषा र लोकसाहित्य कुनै पनि भाषा-साहित्यको मूल आधार हो। जब मानिस सभ्य भएको थिएन, त्यतिबेला उसले आफ्ना मनका सुख-दुःख, जीवन-मरणका भाव, आफुले देखे-भोगेका घटना तथा आवेग- संवेग अरूलाई सुनाउँथ्यो। त्यसै बेलादेखि लोकसाहित्यको प्रादुर्भाव भएको हुनुपर्छ। यसलाई मानिसको आदिम अवस्थाको अवशेष पनि मान्न सकिन्छ। मान्छे आदिम र असभ्य अवस्थादेखि सभ्यताका अनेक सिँढीहरू उक्लिसकेको छ तर पनि उसमा आदिम प्रकृतिका कतिपय अवशेष विद्यमान छँदैछन्। परम्परागत रूपमा मान्छेले भाषालाई ग्रहण गर्दैआएको छ र त्यसका माध्यमबाट आफ्ना कुरा अभिव्यक्त पनि गर्दछ। यसरी भाषाका माध्यमबाट व्यक्ति-व्यक्तिमा सर्दै र फिँजिदै जाने क्रममा समाजको साझा सम्पत्तिका रूपमा लोकसाहित्यिक सामग्री विकसित भएका हुन्छन्। अतः आदिम मानस, लोकमानस, मौखिक अभिव्यक्ति, श्रुतिपरम्परा, भाषिक माध्यम, साझा सामाजिक सम्पति आदिसँग लोकसाहित्य सम्बद्ध हुन्छ।
लोकसाहित्यका विशेषतालाई निम्न बुँदामा बाँड्न सकिन्छ- (क) सामुहिकता (ख) पारम्परिक (ग) मौखिकता (घ) गतिशालता, (ङ) रचनाकार अज्ञात र गौण, (च) रचनाकाल अज्ञात (छ) स्थानिकता, (ज) हार्दिकता, (झ) अनौपचारिकता, (ञ) अशास्त्रीयता (ट) अभिधामूलक अभिव्यक्ति इत्यादि। सामान्य साहित्यमा झैं लोकसाहित्यका पनि विभिन्न विधा-उपविधा हुन्छन्। अतः यसलाई लोककथा, लोककविता, लोकगीत, लोकगाथा, लोकनाट्य, उखान-तुक्का, वाग्धारा, गाउँखाने कथा, प्रहेलिका आदि विधाहरूमा विभाजन भएको पाइन्छ।
२. लोककथाको सामान्य परिचय–
लोकसाहित्यका विभिन्न भेदोपभेदमध्ये लोककथा एउटा प्रमुख भेद हो। यसले सबै वर्गका मानिसहरूको रूचिलाई समाविष्ट गरेको छ। जब मान्छेले अचम्म-उदेक, रोमाञ्चक, भयानक घटनादि देख्यो अथवा त्यस्ता कुरा कल्पना गर्यो तब उसले अरूलाई सुनायो होला। त्यही नै कुरा अरूले अरूलाई हुँदै पुस्तौंसम्म मौखिक रूपमा प्रचलन भई संसारमा लोककथाको सृष्टि भएको हुनुपर्छ। यसमा आदिम मान्छेका भावना, अनुभव, नीति-शिक्षा आदि संचित हुन्छन्। लोककथाभित्र नीति-उपदेश र मनोरञ्जन वा दुवै हुन्छन्। घरमा बेलुकी फुर्सद पाई अगेनाको डिलको वरिपरि आगो ताप्दै बसी घरका बाजे बोज्यूले केटा-केटीलाई रोचक ढंगले लोककथा सुनाउने परम्परा रहेको छ। यसका पनि विभिन्न भेद रहेका छन्। परीकथा, किंवदन्ती, दन्त्यकथा, कथा-कुथुङ्ग्री आदि यसका भेद हुन्। यसभित्र मान्छे, चरा-चुरूङ्गी, पशु, भूत-प्रेत, अप्सरा, देव-देवता, राक्षस सबै समावेश हुनसक्छन्।यसको विषयवस्तुले पनि व्यापकता पाएको छ।
३. भारतमा नेपाली लोककथाको सङ्कलनको स्थिति –
भारतमा नेपाली लोककथा संकलम कार्य त्यति उल्लेखनीय र सन्तोक जनक छैन। केही जातगत गोष्ठीमा विद्यमान लोककथाहरूको संकलन गरिएका एक-दुई पुस्तक भएको जानकारी पाइन्छ। कालिम्पोङका इमानसिंह चेमजोङले संकलन गरी रोयल नेपाल एकाडमीले प्रकाशित गरेको पुस्तक हो किराती दन्त्य कथा( सन १९६४)। यसैगरी जी छिरीङको पनि लेप्चा दन्त्यकथा प्रकाशित छ। सन् १९८८ सालतिर महानन्द पौड्यालले हाम्रा केही लोककथा पुस्तक प्रकाशित गरेका छन् जो नेपाली लोककथा संकलनको ठोस उपलब्धी हो। सन् १९७७ मा द्रोण कुमार उपाध्याय र अन्यको सहकार्यमा असमीय भाषामा नेपाली लोककथा संग्रह नवमी नामक पुस्तक असम साहित्य सभा, गुवाहाटीबाट प्रकाशित भएको छ। यसै गरी सन् २००३ मा सुखनमद्वारा लिखित नेपाली परीकथा साहित्य एकाडमी, नयाँ दिल्लीबाट प्रकाशित भएको छ। प्रकाशप्रसाद उपाध्यायले संकलन गरेको नेपाली लोककथाहरू भाग एक र भाग दुई गरी सन् २००३ मा साहित्य एकाडमी, नयाँ दिल्लीबाट प्रकाशित छ।
४. लोककथामा अभिप्रायः
लोकसाहित्यको अध्ययन गर्ने क्रममा अभिप्रायको अवधारणा विकसित भएको छ। चूडामणि बन्धुका अनुसार समान स्थितिमा समान मनस्थिति निर्माण गर्नका लागि कुनै एउटा कृति वा विधाका विभिन्न कृतिमा पटक पटक दोहोरिने एउटै साँचामा ढलेका विचारहरू नै अभिप्राय हुन्।[1] यसैगरी मोहनराज शर्मा र खगेन्द्रप्रसाद लुइँटेलका अनुसार उही वा भिन्न कृतिमा पटकपटक पुनरावृत्त भइरहने स्थिर र असाधारण विषय, घटना, चरित्र, बिम्ब, प्रतीक, भाषिक ढाँचा, विश्वास आदि कथानक निर्माणका लघुतम एकाइलाई अभिप्राय भनिन्छ।[2] यस्ता अभिप्रायहरूको अध्ययन विशेषरगी लोककथामा बढी प्रयुक्त हुन्छ भने लोकनाटक, लोकगीत र लोकगाथामा पनि अध्ययन हुन्छ। सामान्यभन्दा असामान्य र विशिष्ट विषयवस्तु भएका कथा आदिमा अभिप्राय हुन्छ। कथामा आमा हुनु सामान्य हो भने सौतेनी आमाको अत्याचार अभिप्राय हुन्छ। गलैंचा सामान्य हो तर उड्ने गलैंचा अभिप्राय हो। तन्त्रमन्त्रद्वारा आगो बाल्नु, वायुपंखी घोडा, जादूको छडी, सुनका केश भएकी राजकुमारी, सुगाले दोहोरो बोल्नु आदि अभिप्राय हुन्। यस अवधारणालाई विकसित गर्ने स्टिथ टम्सन हुन्। उनले संसारभरिका लोकसाहित्यका मूल वियवस्तुलाई लिएर लगभग पचास हजारवटा जति अभिप्रायहरू खुट्याउने काम गरेका छन्। उनले लोकसाहित्यमा अभिप्रायहरूको सूचीवद्ध गरी तयीर पारेको ग्रन्थ Motif- Index of Folk literature हो। उनले पौराणिक, पशु, जादु-टुना, मृतक, भूत-प्रेत, छलकपट इत्यादि सम्बन्धको मूल विषयलाई अँग्रेजीको वर्णमाला A देखि Z सम्म मूल वर्गीकरण गरेका छन्। त्यसमा प्रत्येक वर्गीकरणभित्र पनि भिन्ना-भिन्नै विषयअनुरूप सय-सयको संख्या दिई उपवर्गीकरण गरेका छन्। यस किसिमको अध्ययनले विश्वका सम्पूर्ण लोककथाका विषयवस्तुलाई समेटेको हुन्छ।
- हाम्रा केही लोककथामा सङ्कलित लोककथाहरूका विषय-
महानन्द पौड्यालद्वारा संकलित हाम्रा केही लोककथा (आकाशदीप प्रकाशन, गान्तोक, १९८८) मा जम्मा दसवटा लोककथा संकलित छन्। उक्त पुस्तकमा संकलित दसवटा लोककथाका मूलविषय र अभिप्रायहरूका केही सामान्य चर्चा गरिनेछ।
| मूलपात्र-पात्रा | मूलविषय | मूल कथ्य | परिणाम |
| गोलसिमल, बाबु, आमा र सौतेनी आमा | सौतेनी आमाको अत्याचार | डढ़ी मरेकाको नाम लिनुहुन्न
यस्ताको वर्णन गरे पनि आफैं डढिन्छ भन्ने लोकविश्वास |
रङ्गी-विरङ्गी प्वाँख भएको र गलामा रातो कण्ठ भएको सहकाली चरा गोलसिमलको सृष्टि |
| सुबीऊ- अविवेकी बाबु-आमा र छोरी सुबीऊ | दाम्पत्य मिलापको सुख तर विवेकहीनता | विवेक नभए मानिसले ठुलो धोका पाउँछ। | छोरी गुमाएका बाबु-आमा चरामा परिणत भई अझै सुबीऊ सुबीऊ भन्दै खोज्छन |
| बिरालाको प्रतिज्ञा-बिरालो र भङेरा | बुद्धिमत्ताले ठुलो काम गर्छ। | अर्काको विश्वास गर्नुहुँदैन। | बिरालो खाना खाइसकेर मुख धुन्छ। |
| उत्तिस र गुराँस- दुई रूख-पात्र | बिहे प्रसङ्ग | घमण्ड विनासकारी हुन्छ। | उत्तिस पैह्रेनीमा हुन्छ। |
| चौंरी र भैंसी- चौंरी र भैंसी र स्याल- पशुकथा | मित्रतामा बाधा दिने र स्वार्थपूर्ति गर्ने तत्व, पश्चाताप | मेलमिलापबाट सबैलाई फाइदा, अर्काको कुरा हानिकारक हुन्छ। | चौंरी उँधो फर्केको र भैंसी उँभो तर्केको हुन्। |
| किन रून्छन् कुर्ले ढुकुर-ढुकुर | पानी पर्दा चराको गुँड फुल्लिनु र घाम लाग्दा सुक्नु। | विवेकहीनताले विनास गर्छ। | ढुकुर घूँ घूँ गरी रोइरहनु।
|
| को हो को हो- तरूणी विधवा, युवक आदि | समाजले विधवालाई गर्ने दुर्व्यवहार। | कामवासना प्राकृतिक वस्तु हो। | मरेकी विधवा कोइली भई को हो कोहो गरी कराइहिँडेको। |
| विरालो र बाघ-पशुकथा | पशुजगत्मा मेल-जुलको प्रस्ताव तर बाघद्वारा अस्वीकार | एकता नै बल हो।
|
बाघ रूखमा चड्दैन औ बिरालाले हगेर गुहु लुकाउँछ। |
| देव शर्मा र भूत- मानवीय र मानवेतर पात्र-पात्रा | अन्न घटेको कारण र भूतको ओडार पत्तो पाउनु | आँट र साहस छ भने भूत पनि डराउँछ। | अन्नको सह राख्न धानको दाईँ गर्दा धानको वरिपरी गोबरको खरानीको रेखी हाल्ने प्रथा। |
| उखु- राजा इक्ष्वाकु, ऋषि विश्वमित्र र इन्द्रदेव-पौराणिक लोककथा | जिउँदै स्वर्ग जाने इच्छा,नयाँ स्वर्ग निर्माण | नयाँ वस्तुको रूपमा उखु | स्वादको मूल तत्वका रूपमा उखु। यसको सम्पूर्ण शरीर नै स्वादिस्ट हुन्छ। |
- हाम्रा केही लोककथामा प्रयुक्त अभिप्राय-
| लोककथा | मूलविषय | अभिप्रायको विषय | अभिप्रायको वर्गीकरण |
| गोलसिमल | सौतेली आमाको अत्याचार | S अस्वाभाविक क्रुरता | S-४००- ४९९ सम्म, क्रुर यातना। |
| सुबीऊ | वुद्धि-विवेकहीनता | J बुद्धिमान र मूर्ख | J १७००-२४४९ सम्म हुस्सु र बुद्धिहीन मान्छे। |
| बिरालाको प्रतिज्ञा | बुद्धिले ठुलो काम गर्छ। | J बुद्धिमान र मूर्ख | J ०-J १९९ सम्म बुद्धिको लाभ र भोग । |
| उत्तिस र गुँरास | घमण्ड र विहेका योग्य बर-बधुको सवाल। | L भाग्य | L ४००-L ४९९. घमण्डीको पतन। |
| चौंरी र भैंसी | अर्काको कुराबाट मित्रतामा बाधा। | B पशु र पशुत्व | B २००-B २९९, अर्काको कुरा सुन्ने र पछि बितिसकेर पश्चाताप गर्ने मानव स्वभावका पशु। |
| किन रून्छन कुर्ले ढुकुर? | विवेकहीनता | S अस्वाभाविक क्रुरता | S३०० –S ३९९, बाल-बालिकाको बध |
| कोहो कोहो | बैदब्ध जीवन र यौन | T यौन | T ४००-T ५९९ अबैध यौनसम्बन्ध, गर्भधारण र सन्तानोत्पत्ति |
| बिरालो र बाघ | घमण्डबाट आफ्नै नोक्सान हुन्छ। | L भाग्य | L ४००-L ४९९. घमण्डीको पतन। |
| देव शर्मा र भूत | भूतले अन्न चोरिदिनु र नोकसानी हुनु। | G भूतप्रेत र दैत्य | G ५००- G६९९, हरूवा भूतप्रेत |
| उखु | जिउदै स्वर्ग जाने इच्छा र नयाँ संसार | A धर्मगाथा | A२७००-A २७९९सम्म। बोटबिरूवाका गुण र विशेषताको उत्पत्ति |
- हाम्रा केही लोककथामा सङग्रहित लोककथाहरूको लोकतात्विक अध्ययन–
प्रस्तुत लोककथा संकलनमा विभिन्न प्रकारका लोकतत्वहरू सम्मिलित छन्। कतै लोकआहान, लोकविश्वास, लोकपरम्परा, लोकसंस्कृति, उखानादि पाइन्छन्। संकलनको पहिलो लोककथा गोलसिमलमा यस्ता विभिन्न लोकतत्वहरू भरपूर छन्।दाम्पत्य जीवनमा सन्तान प्राप्ति एउटा ठुलो उपलब्धी हो। यद्यपि आमाको मृत्यु बालसन्तानको निम्ति ठुलो अभिशाप हो। आमा मरे छोरो-छोरी टुहुरा हुन्छन् भन्ने लोकअनुभव पाइन्छ।सौतेली आमाको व्यवहार पनि लोकानुभाव हो। काम गर्दा मरिदैन, छोरीको जातलाई नजिकै बिहा गरी पठाउने आमाबाबु अन्धा हुन् भन्ने लोकआहान पाइन्छ। यस लोककथामा लोकविश्वासका केही नमूना पाइन्छन्। दुःखी मान्छे मरेपछि पनि उसको इच्छा पूरा हुँदैन र अर्को जुनीमा उ चरा भएर पनि अघिल्लो जुनीको मान्छे हुँदाको मृगतृष्णाको पछि कुद्छ भन्ने लोकविश्वास पाइन्छ। गोलसिमल सहकाली पक्षी, जुन खेतबारीमा गोलसिमलको बास हुन्छ, त्यहाँ प्रचुर अन्न फल्छ। मंगसीरको धानको खेतमा खलामा सुसेल्नु, पसेल्नु र हल्ला गर्नु हुँदैन, यसो गर्दा गोलसिमल भाग्छ र सह जान्छ। डढ़ी मरेकाको नाम लिनुहुँदैन, डढ़ी नष्ट भएका वस्तुको वर्णन गर्नुहुँदैन, त्यसो गर्दा आफै डढिन्छ अथवा त्यो आपद् फेरि आफुमा दोहोरिएर आइलाग्छ।भाग्य फुट्नु, आँखाको कसिंगर हुनु, रगतको आँसु बगाउनु, जस्ता वाग्धारा र धरनाढुक दिनु जस्तो ठेट लोकलवज पनि पाइन्छ।
सुबीऊ लोककथामा लठेप्रा परेका दम्पति छन्। जस्तालाई तस्तै जुर्छ। लोग्नेस्वास्नी झगडा गर्ने साइनो होइन, सदैव सँगै बस्नुपर्छ, कदा3पि छुट्टिनु हुँदैन भन्ने लोकविश्वास छ। पनि दुखी मान्छे मरे अर्को जुनीमा चराको रूपमा जन्मन्छ भन्ने लोकविश्वास पाइन्छ। यसका साथै लोग्ने-स्वास्नी बाझ्ने-जुझ्ने साइनो होइन भन्ने लोकभावना पनि पाइन्छ। समाजमा सन्तान नहुने दम्पतिलैई समाजले हेला गर्छ। यसो भएमा ठउलो अभिशाप मानिन्छ – लोकचलन छ। सन्तान प्राप्तिको सुख एक अपूर्व आनन्द हो। मान्छेले विवेक गुमाउनु हुँदैन, यसो भए आफ्नो प्रिय वस्तु नै गुम्नसक्छ भन्ने नैतिक सन्देश पाइन्छ।
बिरालाको प्रतिज्ञा लोककथामा बुद्धिले ठुलो काम गर्छ। यसले ज्यानसमेत जोगाउन सक्छ भन्ने लोकोपदेश दिएको पाइन्छ। मुख नधोइकन खानाले प्राणीको परत्र बिग्रन्छ। प्राणीको यस जुनीपछि पनि अर्को पनि लोक छ। त्यो परलोकका लागि प्राणीले यही जुनीमा असल काम गर्नुपर्छ भन्ने लोकविश्वास पाइन्छ। सुइँकिनु, फँधेरा, वचनहारा, परत्र, वाचाबन्धन, बाह्र-सत्ताइस्, सुइँकुच्चा आदि यसमा प्रयुक्त लोकभाषिक शब्द अथवा लोककथ्य हुन्। बिरालाले खाइसकेर मात्र मुख धोएको कारणको पृष्ठभूमिगत लोककथा सम्मिलित छ।
उत्तिस र गुराँस लोककथामा पनि मंगसीर महिनामा बिहे गर्ने लोकव्यवहार देखिन्छ। यो महिनामा आफ्ना सन्तानको बिहे गरिदिए असल हुन्छभन्ने लोकविश्वास छ। छोराका लागि बुहारी खोज्न अर्काको घरमा मंगनी गर्न जानु, बिहे गरी घर व्यवहार चलाउनु आदि यसमा प्रयुक्त लोकव्यावहारका नमुना पाइन्छ। बिहे आफ्नो समान कुल-घरानाभित्र गर्नुपर्छ नत्र आफै लज्जित होइन्छ भन्ने लोकधारणा पनि पाइन्छ। कन्यार्थी, अग्निशर्मा, स्वार्लाङ-स्वार्लाङ, फर्फर-फर्फर, कुटुम्बेरी, नाम्लेशरीर, झरिझुट्ट, ज्याम्ते, काङ्लाङ- कुङ्लुङ, भदौको सारौं, उत्तिसे धाप आदि शब्द-शब्दावली यसका लोककथ्य हुन्।
चौरी र भैंसी लोककथामा लोकविश्वासका केही राम्रा उदाहरण पाइन्छन्। स्यालको कुरा सुनेर यी दुई बलवान समान जातका पशुहरू आपस्तमा लड्छन्। समाजमा लडा़उनेको कमी हुँदैन तर कुरा राम्ररी नबुझी कुनै काम गर्नु हुँदैन। यी दुइ लडाइं गर्दा गर्दा थाक्छन् अनि पछिबाट मात्र आफ्ना भूल थाहा पाउँछन्। चौंरी कहिले ठाडो शिर गराएर हिँड्दैन र बस्तैन तथा भैंसी कहिल्यै निचा शिर गर्दैन र ठाडो मन्टो लगाई हिँड्छ, बस्छ। मुख फेरिनु, बलले मात्तिनु, खनकपा, कुइरीमण्डल, ट्याम, सिँगौरी, उभौली र उँधौली, फलमासु, रक्ती, गिज्गिजे, आदि यसका लोककथ्य हुन्। कानमा विष खन्याउनु, मुखमा पानी भरिनु, मुख फेरिनु, ठहरै हुनु, फुङ नराख्नु इत्यादि वाग्धारा र ठेट शब्दको प्रयोग पाइन्छ। मित लाउनु, मित लाएपछि बाझ्नु-जुझ्नु हुँदैन र यसो गरेमा घोर पाप लाग्छ, ठुलो नोक्सानी हुन्छ, परायले मौका पाउँछ भन्ने लोकव्यवहार र लोकविश्वास पाइन्छन्।
किन रून्छन् कुर्ले ढुकुर लोककथामा ढुकुर घूँ घूँ गरी रोएको कारण ढुकुरको जोडीले आफ्ना विवेक गुमाएर आफ्ना प्यारा बचेराहरूको ज्यान लिएको कारणले रोएको हो भन्ने किंवदन्ती छ। रातभरि पानी पर्दा भिजेर ढुकुरको गुँड़ फुल्लिएर ठुलो हुनु र दिनभरिको घामले सुकेर सानो हुनु स्वाभाविक कुरा हो तर यस्तो कुरा नजानी आफ्नो थकाइ र झोकको कारण आफ्ना बचेराहरूले नै गुँड खाइदिए भन्ठानेर उनीहरूलाई ठुँगेर मार्छन्। हृदय फुट्नु, प्राणको बाजी लाउनु, हानेको काँढ, मनप्राण गल्नु, धावा बोल्नु आदि यसमा प्रयुक्त वाग्धारा हुन्। भुक्कुरचाँदे यसमा प्रयुक्त लोकशब्द हो।
कोहो कोहो लोककथामा बालविधवाको मार्मिक कथा छ। यसमा गट्टी खेल्नु, भाडा-कुटी खेल्नु जस्ता लोकबालखेलको प्रसङ्ग पाइन्छ। हाम्रो अघिल्लो पुस्तासम्म बालविवाह हुन्थ्यो। वाल-लीला, क्रीडा, कौतूक गर्ने बेलामा बिहे गरेर घर पठाइन्थ्यो। यसै गरी बिहेमा कसार बटार्नु, टिकी लगाउनु, सिलोक गाउनु, कुम्ले बिहे गर्नु, राती बिहेमा जग्गेमा बिहेका विभिन्न कुरा हुनु आदि बिहेसम्बन्धी लोकसंस्कृति दृष्टान्तका रूपमा पाइन्छ। यसैगरी मानिस मर्दा उसकी स्वास्नी कोरामा बस्नु, कोरामा बस्नेलाई कसैले छुनु नहुने, बिधवाको चुरा र रङ्गीन वस्त्र फुकाई सेतो सारी धारण गर्नु, तेह्र दिनसम्म उसिनेका खाना मात्र खान दिनु जस्ता मृत्यगत लोकसंस्कार देख्न पाइन्छ। यस लोककथामा पनि दुखी मानिस मरेपछि चराको जुनी पाइन्छ औ चरा भएर पनि मानिस हुँदा पूरा नभएको इच्छा प्राप्तिको लालसा हराउँदैन भन्ने लोकविश्वास पाइन्छ। कोइलीले को हो कोहो भनी कराउँदै हिँडेको कारणको लोककथा गाँसिएको पाइन्छ। निकोढंग, ऐंठन पर्नु, चित्त फटाउनु,घर काढ्नु,ठुन्का, पराले ओछ्यान, भकारीले कोठा बार्नु, खसम आदि यसमा प्रयुक्त लोककथ्य हुन्।
बिरालो र बाघ लोककथामा पनि लोकविश्वासका केही नमूना पाइन्छन्। बाघ रूख चड्न जान्दछ तर ओर्लन जान्दैन, बाघको नाक मुखमै लिपिएको बुचो हुनु, बिरालाको आँखामा लेग्रा हुनु, बिरालो बन छाडेर गाँउ पसी मान्छेको शरण लिनु, बिरालाले हगिसकेर गुहु पुर्नु आदि सम्बन्धित कुराहरूमा लोककथा गाँसिएको छ। अनेकताले विनास निम्त्याउँछ भन्ने लोकोक्तिको उदाहरणस्वरूप बाघ र बिरालाको लोककथा गाँसिएको पाइन्छ।
देवशर्मा र भूत भन्ने लोककथामा पनि लोकतत्वका अनेक उदाहरण पाइन्छन्। ओडारमा भूतको बास हुनु, भूत पनि अनौठा आकार-प्रकारका हुनु, खुट्टाले नहिंडेर बत्तिएर हिंड्ने हुनु, मान्छेसित भूत पनि डराउनु, भूतले धान चोर्नु, दाईं गर्दा भूतले धान नचोरोस् भनी धानको थुप्रोमा भैंसीको गोबरको खरानीको रेखी हाल्नु, दाईं गर्दा थलामा सुसेल्नु हुँदैन किनभने अन्नको सह जान्छ, भैंसीको गोबरले खला लिप्नु, ढिकुटीमा गह्रौं ढुङ्गो राखेर भैंसीको गोबरको खरानीको वरिपरि रेखी हाली बन्द गर्नु गरे अन्नको सह बस्छ भन्ने लोकविश्वास पाइन्छ। यसैगरी मानिस बौलाएमा र मानिसलाई भूत लागेर छटाएमा झार-फूक गर्ने लोकचिकित्सा पनि देखाइएको छ।
उखु लोककथामा पौराणिक आधारभूमि देखिन्छ। उखुको सर्वाङ्ग गुलियो हुनाको कारणलाई पौराणिक लोककथा जोडिएको छ। ऋषि विश्वमित्रले देवराज इन्द्रको सेखी गरेर दोस्रो लोक बनाई नौलो चिजका रूपमा उखु फलको सिर्जना गरेको लोककथा पाइन्छ।
८. प्रस्तुत लोककथा सङ्ग्रहको मूल्याङ्कन–
यस लोककथा सङ्कलनभित्र केही नीतिकथा छन् जसमा मान्छे र पशु सबैबाट केही नैतिक पाठ सिकाइन्छ। मान्छेबाहेक यसभित्र बाघ, बिरालो, चौंरी, भैंसी, स्याल, चरा-चुरूङ्गी आदि रहेका छन्। पशु-पक्षीले मानवीय भाषा व्यवहार गरेता पनि त्यसबाट मानवीय नैतिक शिक्षा अभिव्यक्त गरिएको पाइन्छ। यसभित्र विधवा समस्या, विवेक गुमाई बेठिक काम गरेकामा पश्चाताप, दुखी भई मान्छे मरे अर्को जुनीमा चरा-चुरूङ्गी भएको, विभिन्न पशु-पक्षीका सामान्य विशेषता र चालचलनको पृष्ठभूमिको लोककथात्मक आधार आदि कुरा यसको विय़यवस्तुभित्र रहेका छन्। यसमा लोककोपदेशका अतिरिक्त लोकव्यहारिक कुराहरू पनि यत्रतत्र पाइन्छ। यस लोककथासंग्रहमा लोककथ्यका शब्द-शब्दावली, लोकोक्ति, उखान-तुक्का आदि लोकतात्विक पक्षहरू पनि प्रशस्त मात्रमा भेटिन्छन्। भने सयका संकलक श्री पौच्याक लोककथा संकलन र सम्पादनमा कुशल देखिन्छन्।
९. उपसंहार–
महानन्द पौड्यालद्वारा संकलित हाम्रा केही लोककथामा लोकतत्वका विविध पक्षहरू देखापर्छन्। यसमा लोकविश्वास, लोकव्यवहार, लोकसंस्कृति, लोकरीतिका विभिन्न कुराहरू पाइन्छन्। यसमा संकलित गोलसिमल लोककथामा लोकतत्व सबैभन्दा बढी पाइन्छन्। यस संग्रहभित्रका बाघ र बिरालो,किन रून्छन् कुर्ले ढुकुर?, चौंरी र भैंसी, इत्यादि पशुकथाहरू हुन् भने नीतिकथाहरू पनि पाइन्छन्। यसभित्र नैतिक उपदेश, लोकव्यवहारिक कुराहरू पाइन्छन्। यस सङ्ग्रहको अभिव्यक्त भाषा र शैली पनि लोक-लवज र लोकभाषामा नै बढी गरिएको छ। यसमा प्रयुक्त कतिपय शब्दहरू ठेट ग्रामीण र लोकमा प्रचलित नै पाइन्छन्। यसको आयाम छोटो भए तापनि भारतमा नेपाली लोककथा संकलन कार्यमा महत्वपूर्ण स्थान ओगटेको छ।
प्रमुख सन्दर्भ सूची-
- महानन्द पौड्याल, हाम्रा केही लोककथा, गान्तोक, आकाशदीप प्रकाशन,१९८८।
- डा. चूडामणि बन्धु, नेपाली लोकसाहित्य, काठमाडौं, एकता बुक्स्।
- मोहनराज शर्मा र डा खगेन्द्रप्रसाद लुइँटेल, लोकवार्ताविज्ञान र लोकसाहित्य, काठमाडौं, विद्यार्थी पुस्तक भण्डार, २०६३।
- डा. मोतीलाल पराजुली, नेपाली लोककथाको विश्लेषण, काठमाडौं।
[1] चूडामणि बन्धु, नेपाली लोकसाहित्य, काठमाडौं, एकता बुक्स, २०५८।
[2] मोहनराज शर्मा र खगेन्द्रप्रसाद लुइँटेल, लोकवार्ताविज्ञान र लोकसाहित्य, काठमाडौं, विद्यार्थी पुस्तक भण्डार,२०६३।
