कोदे : आत्मकथ्य

कविता

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’, काठमाडौं

 

म जन्मँदै

कोदेको उपमा बोकेर

धरतीमा पहिलो पाइला टेकेँ–

कोदेकै घरभित्र ।

 

त्यसैले

मेरो पुर्ख्यौली पनि कोदे,

म जन्मजातै कोदे–

मेरो रङ कोदे,

काम कोदे,

खाना पनि कोदे ।

 

म आकाशसँग

हाँस्दै उभिएको डाँडामा

बाख्रा चराउँदै,

कोदोसँगै खेल्दै हुर्किएँ–

बारीका सुन्दर गरा–गरामा

हरियाली डिल र कान्लामा ।

 

स्कूले जीवनमा

‘कोदे’ बनाए मलाई

प्यारले जिस्किँदा होस्

वा हेपेर जिस्काउँदा,

मैले त्यही शब्दलाई

मेरो पहिचान ठानेँ,

कोदे हुनुको गौरव मानेँ ।

 

म सानो छँदा,

अज्ञानताको राज थियो–

कसैका लागि रमाइलो पात्र कोदो,

कसैका लागि हेयको वस्तु ।

 

बुझेनन् धेरैले कोदोलाई,

तर भोको पेटले बुझ्थ्यो

मेलापात, गोठाला र घर–आगनमा

कोदोको महिमा–

खुकुरीको चोट अचानोलाई थाहा भएझैँ ।

 

मैले कलेजमा

कोदो पढेँ र बुझेँ–

ज्ञान, विज्ञान र साहस रूपमा

तराईदेखि हिमाली काखसम्म,

आँगन–आँगन र खेत–बारीमा

नेपाली पहिचान बोकेर

मुस्कुराइरहेको जनहितकारी अन्न रहेछ ।

 

कहिले बन्छ

ढेँडो, फाँडो र रोटी,

कहिले चल्छ

छ्याङ, तोम्वा र रक्सी,

कहिले

पशुपन्छीको दाना र घाँस,

कहिले

बिरुवाको मल्चिङ र सास ।

 

बोकेर

भोक र श्रमसँग जुध्ने साहस,

शरीर थाम्ने तागत

माटोको उपहार अमृत–

शताब्दीको भोक बुझ्ने

स्वस्थ शरीरका लागि

प्रकृतिको

मौन औषधीय वरदान ।

 

आज

कोदो मगमग छ पाँचतारे होटलमा,

धनाढ्यको इज्जत र स्वादमा

तर मेरो पूजापाठमा चल्ने

तीनपाने रक्सी–

हाम्रा परम्परागत सिप

र मौलिक संस्कृतिमाथि

बुठ र डन्डा बजारिँदै

हेपिँदै, मिचिँदै र पेलिँदै

अवमूल्यन र घृणा हुँदै छ

विदेशी प्रभावमा ।

 

विश्वले

आफ्नो पहिचान बनाइरहेको छ

आफ्नो मौलिक वस्तु र संस्कृतिलाई

पेटेन्ट अधिकारले सिँगादै ।

 

तर नेपालले गुमाइरहेछ

कैयौँ मौलिक अधिकार

अझै यस्तै परिस्थिति रहिरहे,

नेवारी संस्कृतिको अमूल्य निधि

तीनपाने रक्सीको पहिचान पनि

नगुम्ला भन्न सकिन्न ।

 

त्यसैले,

रोकौँ सोमरसको आयात,

बढाऔँ कोदो खेती,

खोलौँ तीनपानेको बजार,

जगेर्ना गर्न

हाम्रा मौलिक पहिचान र संस्कृति ।

 

000