पोखरामा ‘सत्यम्‌’को परिचर्चा सम्पन्न

मुख्य समाचार

२४ माघ २०८२, पोखरा

र्‍यान्डम रिडर्स सोसाइटीले आफ्नो नियमित कार्यक्रमअन्तर्गत पत्रकार तथा कथाकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्‌’माथि परिचर्चा गरिएको छ ।
कार्यक्रममा समालोचक डा. नेत्र एटमले ‘सत्यम्‌’को परिचर्चा गरे । उनले कथाकारले अनुभव र स्मृतिको संयोजन गरेर कथा लेखेकाले कथा जीवन्त बनेको धारणा राखे । कथाकारले अवलोकन, अन्तरक्रिया र अभिलेखलाई सामग्री सङ्कलनको पद्धति बनाउने गरेको बताउँदै सङ्ग्रहले अवलोकनलाई अधिक महत्त्व दिइएको बताए । उनले सामाजिक तथा सांस्कृतिक पक्ष समेटिनु कथाहरूको बलियो पक्ष भएको धारणा राखेका थिए ।
साहित्यकार सरुभक्तले कथाकार वियोगीका कथाले जनमानसलाई छुन सक्ने सामर्थ्य राख्ने बताए । उनले र्‍यान्डम रिडर्स सोसाइटीले गर्ने बौद्धिक बहसको एउटा सुन्दर शृङ्खलामा सहभागी हुन पाएकामा खुसी व्यक्त गरे ।
कथाकार वियोगीले आफूले जीवनका विभिन्न मोडमा देखेका र भोगेका विषषयवस्तुलाई कथामा उतारेको अनुभव सुनाए । उनले ‘सत्यम्’भित्रका कथाहरू समय र सत्यका आवाज भए पनि कतिपयमाथि आफूले न्याय गर्न नसेको स्वीकार गर्दै अनुभवलाई कलाको लेपन लगाएर आफूले कथाको स्वरूप तयार पारेको बताए । १५ ओटा कथा समेटिएको यो उनको पहिलो कथा सङ्ग्रह हो ।
सोसाइटीका सदस्य खिम लामिछाने ‘काजी’ले सञ्चालनमा गरेको कार्यक्रममा साहित्यकार सरस्वती प्रतीक्षा र सुरज पौडेलले समेत टिप्पणी गरेका थिए ।
कार्यक्रम सोसाइटीका अध्यक्ष दीपक पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।

०००