दिव्य गिरी
जङ्गलको राजा सिंहसँग छट्टु स्यालले मीत लगाएपछि स्यालले आफूलाई नै सिंह ठान्न थालेथ्यो।
उता सिंह पनि आफूलाई स्यालजत्तिकै चतुर सम्झिन्थ्यो ।
जङ्गलका अन्य जनावरहरू सिंह र स्यालको मितेरी साइनोबाट अनभिज्ञ थिए । यति चाहिँ सत्य थियो कि उनीहरू सिंह र स्याल दुबैदेखि होशियार थिए ।
एकदिनको घटना हो, सिंह जङ्गलमा आहाराको खोजीमा लुखुरलुखुर हिँडिरहेको थियो भने स्याल चाहिँ एउटा सिनो खान व्यस्त थियो । सिंहले टाढैबाट स्यालले सिनो खाइरहेको
देख्यो । ऊ सरासर स्याल भएतिर गयो । स्यालले शुरूमा त सिंहलाई नदेखेझैँ गर्यो ।
जब सिंह गर्जियो, तब श्यालले आवाज आएतिर टाउको उठाएर हे-यो । उसले सिहँलाई आफू नजिकै आइरहेको देख्यो ।
सिँह स्यालको नजिकै गयो । स्यालले भन्यो – “प्रणाम मितज्यू !”
“प्रणाम !” सिंहले स्यालले खाँदैगरेको सिनोलाई हेर्दै भन्यो -“म तीनदेखि भोकै छु, मितज्यू ”
“दुःखको कुरा, हजुर मरेको जनावर खानु हुन्न, के गर्नु ! अप्ठ्यारो छ मितज्यु ” । स्यालले मुख मिठ्याउँदै भन्यो ।
स्यालको जवाफ सुनेर सिंहले पनि त्यो कुरा स्वीकार गर्यो । तर सिंहलाई निकै भोकले सताएको थियो ।
यता स्याल चाहिँ सिनो लुछिरहेको थियो । केहीबेरमै स्यालले हड्डी मात्रै राखेर सिनो पूरै खाई सिध्यायो ।
भोकले चूर भएको सिँहले भोक खप्नै सकेन ।
क्षणभरमा नै सिंहको पञ्जामा स्याल छट्पटाउँदैथ्यो ।
०००
