२५ साउन २०८२, काठमाडौं
राजेन्द्र वाग्लेको ‘अन्तिम छाल’उपन्यास सम्माननीय पूर्व प्रधानन्यायाधीश सुशीला कार्की,पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडा,साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली,समालोचक प्रमोद प्रधान,उपन्यास लेखक राजेन्द्र वाग्ले,शारदा पत्रिका सम्पादक विमल भौकाजी तथा कलाकार सरोज खनालद्वारा सामूहिक रूपमा लोकार्पण गरियो ।
लोकार्पण अघि उपन्यासभित्र रहेको वाग्ले रचित एउटा गीत ‘आगो बनेर बल्न सक्छु,तुफान बनेर चल्न सक्छु’ बोलको गीतलाई प्रमुख आमन्त्रित व्यक्तित्व सुशीला कार्कीले ल्यापटपको बटन थिचेर उद्घाटन गरेपछि भिडियो गीत प्रदर्शन गरिएको थियो। उक्त गीतका गायक तथा सङ्गीतकार सन्तोष श्रेष्ठ हुन्।
प्रमुख आमन्त्रित व्यक्तित्व पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले जनता न्यायालयका बारेमा जान्न चाहन्छन्,न्यायाधीशहरूको दिनचर्या बारे थाहा पाउन चाहन्छन् भन्दै उनले ती कुरा उपन्यास लेखक राजेन्द्र वाग्लेका उपन्यासभित्र रहेको बताइन् ।
सर्वोच्च अदालतका पूर्व न्यायाधीश ईश्वरप्रसाद खतिवडाले आफ्नो शुभकामना मन्तव्यमा राजेन्द्र वाग्लेको उपन्यासभित्र जीवनको भोगाइ छ,उकाली र ओरालीको कुरा छ,दु:ख र सुखको कुरा छ भन्दै ६० प्रतिशत यथार्थ कुरा र ४० प्रतिशत जति काल्पनिक कुरा रहेको बताए।
कार्यक्रममा समालोचक प्रमोद प्रधानले लोकार्पित उपन्यास
‘अन्तिम छाल’माथि संक्षिप्त समीक्षात्मक टिप्पणी गर्दै न्याय सेवामा लामो समय बिताएर अवकाश प्राप्त गरेका लेखक राजेन्द्र वाग्लेको उपन्यासभित्र न्यायालयभित्रका थुप्रै कुराहरू उल्लेख भएको बताउँदै समालोचक प्रधानले न्याय सेवा बारेको यो उपन्यास पृथक पहिचान भएको बताए।
कार्यक्रममा उपन्यास’अन्तिम छालका’का सम्पादक विमल भौकाजी तथा कलाकार सरोज खनालले पनि शुभकामना मन्तव्य राखेका थिए।
सभापतिको आसनबाट बोल्दै सापस अध्यक्ष राधेश्याम लेकालीले लेखकहरूले हतारमा नलेख्न र नछपाउन अनि पुरस्कारका लागि नदौड्नद आग्रह गरेका थिए ।
कार्यक्रमको सहजीकरण तथा सञ्चालन कवि ठाकुर बेल्बासेले गरेका थिए ।
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)
