माई फ्रेन्ड (लघुकथा)

Uncategorized

दिव्य गिरी

‘दुई चार दिन भयो । दीक्षा पहिलेकी जस्ती छैन । धेरैजसो समय मोवाइल हेर्नमा नै बिताउँछे । कम बोल्छे । पढाइमा पनि त्यति ध्यान दिएको देखिन्न । ’ साँझको खाना खाइसकेपछि राधाले पतीलाई भनी ।
‘किन र ? तिमीले सोधिनौ ?’ रवीन्द्रले प्रश्न ग-यो ।
‘दुई तीन पटक सोधेको हो, जबाफ नै दिन्न । चुपचाप बसि दिन्छे ।’
‘अब, के गर्ने त ? बाह्र पास गरेपछि यसो भनसुन गरेर कतै काममा लगाउँला भन्ने सोचेको छु । यो पिउनको जागिरले मात्र कति धान्न सकिन्छ !’
‘तपाइँले एकपटक सम्झाउनु प-यो छोरीलाई ।’
‘छोरीलाई त आमाले पो सम्झाउने हो । बाबुले के भनेर सम्झाउने ?’
‘छोरीको बाबु भएर मात्र पुग्छ ? सबै बोझ आमाले नै बोक्नु पर्ने ?’ राधा अलिकति रिसाई ।
‘हुन्छ, भोलि मैँ सोधुँला ।’ रवीन्द्र सकारात्मक भयो ।
भोलिपल्ट दीक्षा क्याम्पस जानै लागेकी थिई ।
‘क्याम्पसमा पढाई कस्तो छ ?’ रविन्द्रले सोध्यो ।
‘’ठीकै छ ।’ रूखो जबाफ दिएर दीक्षा फटाफट भरेङ ओर्लेर तल गई । रमेशले फेरि प्रश्न गर्ने अवसर नै पाएन । दीक्षा बाहिर मूल ढोकामा पुग्दा न पुग्दै कोठाभित्र टेबुलमाथिको मोवाइलमा घण्टी बज्यो ।
रमेशले मोबाइल हे-यो । ‘माई फ्रेन्ड’ भन्नेले गरेको थियो । उसले मोबाइलको हरियो सङ्केतमा थिचेर कानमा राखेको मात्र थियो उताबाट आवाज आयो– ‘हेलो प्यारी ! कति अबेर गरेको फोन रिसिभ गर्न पनि !’
रमेशले मोवाइलको रातो सङ्केत थिचेर झ्यालबाट बाहिर हे-यो । दीक्षा भने झोला खोतल्दै फटाफट फर्केर आइरहेकी थिई ।
दीक्षा सरासर कोठाभित्र पसी । रमेशको हातमा मोवाइल थियो र उही ‘माई फ्रेन्ड’ ले दोस्रो पटक गरेको घण्टी एकनास बजिरहेको थियो ।

०००

लेखक परिचयः दिव्य गिरी मूलतः कवि हुन् । उनको पहिलोपुस्तक मुक्तक सङ्ग्रह “कङ्काल बस्ती” विसं २०३८ सालमा प्रकाशित भएको थियो । उनका हालसम्म २ मुक्तक सङ्ग्रह, एक गजल सङ्ग्रह, ३ हाइकु सङ्ग्रह, कविता, संस्मरण, कथा र लघुकथाका एक एक सङ्ग्रहप्रकाशित छन् र एक हाइकु सङ्ग्रहको अङ्ग्रेजी अनुवाद पनि प्रकाशित छ । उनी रैथाने काठमाडौं उपत्यकावासी हुन् ।

Leave a Reply