सदृश्य पर्दा : अन्तर सांस्कृतिक शृङ्गारभित्रको यौनमनोविज्ञान

पुस्तक समीक्षा

गोविन्द पौडेल, काठमाडौं

लेखकद्वय खेमराज पोख्रेल र विश्वराज अधिकारीको कथासङ्ग्रह सदृश्य पर्दा आद्योपान्त पठनपछि यौनमनोविज्ञानको परिधिभित्र पनि सामाजिक यथार्थका बिरसिला पाटाहरू सौम्य साहित्यभित्रै अटाउन सकिने रहेछ भन्ने सत्यको क्षितिज उघारिएको अनुभूति भएको छ । पूर्वी तराईको पृष्ठभूमि भएका लेखकद्वय आफ्ना क्षेत्रमा पहिल्यै स्थापित नाम हुन् । प्राध्यापन र साहित्य लेखनका क्षेत्रमा अतुलनीय योगदान दिएका लेखकहरूले सदृश्य पर्दाका माध्यमबाट नेपाली इरोटिक साहित्यलाई एक पटक पुन: नवीकरण गरेका छन् । नवीकरणको यो आयाम वास्तवमा चित्तबुझ्दो छ र यो यस्तो नवीकरण हो जसले नेपाली यौन मनोविज्ञान परक साहित्यलाई अन्तर सांस्कृतिक अन्तरघुलनसहित एउटा नौलो पगदन्डीतर्फ डोर्‍याएको छ । मन्दिरा मधुश्री र अनुपम रोशीको वजनदार भूमिका र प्राक्कथन पढ्दा प्रस्तुत कथा सँगालोका निम्ति अरू कसैले कुनै फूलबुट्टा भर्नु केवल बकबास पो होला कि भन्ने पिरोलो पनि उत्तिकै छ ।
यौन र यौवनका परिवेशलाई केवल यौनावेग र बैँसको भद्दा कामुकताभित्र नराखी साहित्यिक भद्रता र सौम्यताकै सीमाभित्र बसेर समाज र संस्कृतिको उच्चस्तरीय चित्र उतार्न सक्नु कथाकारहरूको विशेष प्रतिभा प्रशंसनीय छ । कथा सँगालोका कथाहरू पढिसक्दा साधारण भौतिक काया बोकेको पुस्तकले हामीलाई संयुक्त राज्य अमेरिका र नेपालको पूर्वी र मध्य तराईको खुस्बु एकैपटक छरिदिन्छ । यद्यपि एउटा साधारण पाठकका आँखाले हेर्दा यस सँगालाका अमेरिकी परिवेश बोल्ने कथा अझ सजीव हुन् कि भन्ने लाग्दछ । कथा बुनाइको सरलताभित्र पाइने प्रवासी नेपालीका बाध्यताका कहरहरू देखेर हाम्रा दुख जहाँकहीँ गए पनि जस्ताका तस्तै तिखा हुने पो रहेछन् भन्ने सत्यबोधले मुटु कटक्क खान्छ । जहाँ गए पनि दुखले मान्छेलाई छोड्दैन रहेछ । दुखको किसिम मात्र बदलिने रहेछ । आर्थिक गरिबीले मुलुकबाट लखिटिएका वा लखिटिन बाध्य गराइएका श्रीमान् वा श्रीमती , जो एक्लै बस्न विवश छन् तिनको जैविक , यौनिक , संवेगात्मक अनि मनोवैज्ञानिक जरुरत पूर्तिको वैकल्पिक माध्यम अपनाउँदा त्यसबापत प्राप्त हुने कुण्ठा , आघात र पश्चातापको जलन शमन गराउने शीतल जल कतै पाइन्छ कि नाइँ पात्र र पाठक दुबै अनभिज्ञ छन् ।
यौन , यौवन र बैँसका विषयमा नेपाली समाज मूलतः पाखण्डी छ । यौनलाई ऊ सृष्टिको निरन्तरता हो पनि भन्छ अनि यौन वर्जनाका अनेक विधानहरू पनि बनाउँछ । यौनकाप्रतिको समाजको यस्तो डबल स्ट्यान्डर्ड हामीले बुझेदेखि अहिलेसम्म पनि लगभग उस्तै नै छ । केवल मात्रा घटेको होला । एकल महिलाहरूको यौन आकाङ्क्षा र त्यसको लुकीछिपी पूर्ति गर्ने कामलाई समाजले सर्वथा अनुचित र दन्डनीय मानेको छ अपितु एकल महिलाको यौनावेगको सहज र स्वाभाविक आपूर्ति हुनुपर्छ भन्ने पक्षमा बोल्न सक्ने कथित क्रान्तिकारीहरू नै यस प्रकरणमा एकदम शान्त देखिन्छन् । तराई मधेशभित्रको जमिन्दारी संस्कृति , महिला शोषण र हिंसा अनि अन्धविश्वासका रीतिरिवाजले दिएका ताडना पढ्दा हामी मध्ययुगीन बर्बरता सम्झन पुग्छौँ । अमेरिकी वैभव र सम्पन्नताको सपना देखेर अनेक तिकडम गरिभ्याई बल्लतल्ल त्यहाँ पुगेका लकी नेपालीहरूको ब्याडलक त्यतिबेला सुरु हुन्छ जब उनीहरू त्यहाँका बिराना सहरहरूमा काम र रोटीका निम्ति सामुदायिक कुकुर लर्खराए झैँ लर्खराउन पुग्छन् । यस्तै विवशताका बीच पनि उनीहरू आफ्नो फगत शारीरिक भोक तृप्त पार्न एक र अनेक साथीहरू फेर्दै चाख्दै र छोड्दै गरिरहेका हुन्छन् । अमेरिकी स्वतन्त्रताको साम्राज्यमा जसोतसो प्रवेश गरे पनि नेपाली लगायत अन्य दक्षिण एसियालीहरू आफ्ना संकुचित सोच , मनोविज्ञान र रुढिवाद पनि सँगै लिएर हिँड्दारहेछ्न् । यसबाट प्रताडित हुनेहरूको मनोविकारको पाटो छुट्टै छ ।
भिजेको ओछ्यान कथा यौन कुन्ठा र उत्पीडन अनि दमनको कथा हो जसमा म पात्र भनिने नेपाली र एउटी भारतीय प्रौढ महिलाका संवेदना र शरीर साटिएको छ । करिब करिब बैँसको रस निखृसकेका यी दुई दक्षिण एसियायी दुखीहरू आफ्नै शारीरिक तिर्खा मेटाउन एक अर्कामा समाहित हुन्छन् । परिस्थितिजन्य मिलनपछि उनीहरू आआफ्नै बाटो लाग्छन् । फेरि उहीँ क्रमबद्ध जीवन सुरु हुन्छ । जीवनको क्षणभङ्गुरता र नश्वरताको अनुभूति भए पछि दुनियाँका कठोर विधानहरू फिक्का लाग्नेरैछ्न् । रतिरहस्य कथा ज्यादा भावनात्मक र दार्शनिक छ । हिन्दु दर्शनका यौनसंवेदना र कामवासनाको दार्शनिकीकरण गरिएको यस कथाले यौन र सम्बन्धका हिपोक्रेसीलाई व्यङ्ग्य गरेको छ र यौनको शाश्वततामाथि महानताको लेप लगाएको छ अपितु आफूमाथि भएको अन्यायका बदलामा सम्पूर्ण मानवजातिलाई यौनकी देवी रतिले सरापेकी छन् ताकि यौनका मामलामा मान्छेका जात कहिल्यै सन्तुष्ट नहोऊन् ।
अबन्दी कथा लेखक साहित्यकारहरूको पाखण्ड उधिन्ने कथा हो । यौवनका आवेग र आकर्षण तह लाउन कविहरूले राखेका नाम , उपनाम र पगरीको सतहीपना झल्काएको अबन्दी कथामा आफ्नै पति र पत्नी भएका कवि कवयित्रीहरू खै कुन अन्जान तत्वको आकर्षणले तानिएर हो यौवनको सागरमा डुबुल्की लाउन पुग्छन् । ग्वापो आमिगो कथाले जीवनको सेकेन्ड हाफ उमेर बाँचिरहेका सिनियर सिटिजनले भोग्नुपरेका थुप्रै मनोशारीरिक जरुरतलाई सम्बोधन गरेको छ । कहिल्यै पूर्ति नहुने मनका अभीप्साहरूको लिप्सा भौतिक साधनहरूको सहाराले शमन गर्ने क्लबहरू खुल्नु अमेरिकी समाजमा सामान्य भैसकेको छ । बेसाहा लोग्ने कथा अमेरिकी सम्पन्नतामा नेपाली सपना फुलाउन अमेरिकी जमिन गोडमेल गरिरहेका व्यथित नेपालीहरूको कथा हो । म पात्र र उसकी अस्थायी पाटनरको सङ्घर्ष , अतीत र असजिलो वर्तमान देखाइएको यो कथा अति मार्मिक छ । जीवनसङ्ग्रामका अनेक कष्ट र कहर सहेर थोरबहुत आर्थिक उन्नति गर्न मरिमेटेर मरिहत्ते गरिरहेका गुमनाम नेपालीहरू आफ्नो घुर्मैलो अतीत र धमिलो वर्तमान दुबैसँग जुधिरहेका हुन्छन् । यौन समागम र शारीरिक जरुरतलाई अति सामान्यीकरण गरिसकेका नेपालीहरू कतिपय मामलामा त्यहीँका रैथाने भन्दा दुई कदम अगाडि देखिन्छन् । भावनामा बाँधिइसकेको नयाँ सम्बन्ध पनि क्षणिक यौनतृप्तिपछि सकिनु र टुट्नु नर्मल भैसकेको देखिन्छ । एक निष्ठ विवाहको मन्त्र जतिसुकै जप्न लगाइए पनि कामको खोजीमा सातसमुद्रपारि पुगेको पुस्ताले अब एकल विवाहको पाखण्ड करिबकरिब छोडिसकेको छ र आजभोलि नैतिकता र सामाजिकता बन्धन थामेर बस्न सकिने अवस्था नै नभएकाले जीवन जिउने नयाँ मापदण्डहरू आफैं बनिरहेका छन् । पोलिगेमी ( बहुविवाह ) को रीतिरिवाज कम भएको भए पनि नयाँ भाव , भङ्गिमा र आवश्यकताका कारण बहुविवाहको नयाँ संस्करण सुरु भैसकेको छ । समाज लुकीछिपी वा हाकाहाकी तीव्र गतिमा बहुसम्बन्धात्मक , बहुगामी र बहुपहिचानात्मक बन्दै गएको छ ।
विशेष गरी एसियाली महिलाहरू अमेरिकी परिवेशमा ज्यादा स्वच्छतापूर्वक विचरण गरिरहेका देखिन्छन् अपितु नेपाली पुरुष ग्रन्थीले यस्तो काइदालाई सजिलै हजम गर्न सकेको छैन ।
बिगडल छौँडा कथाले अमेरिकी परिवेशमा मैथिली समुदायको एउटा युवकको फुक्काफाल जीवनशैली देखाएको छ । म पात्रको अनुशासित जीवन र उसको साथीले जिएको स्वच्छन्द जीवन तुलना गर्दा म पात्रलाई साथीकै जीवन लोभलाग्दो लाग्छ । मान्छे बहुगामी हुनुका कारण र परिवेशको लजिकल प्रस्तुती रहेको यो कथा पनि यौन आवेग शमनकै केन्द्रीयतामा फनफनी घुमेको छ । तराई मधेश परिवेशमा लेखिएका कथाहरू केही पुराना देखिन्छन् । मुखियाप्रथा , जमिनदारीप्रथा र ठाकुरगिरीका थुप्रै अवशेषहरू भरपूर हालिएका यी कथाहरू यौनावेगका वैकल्पिक पूर्तिका बाटा खोज्दा भएका भूल वरिपरि घुमेका छन् । यौनावेग परिपूर्तिका निम्ति हिँडिने कुनै पनि मार्ग सामाजिक वर्जना विपरीत नै मानिने प्रायः सबै समाजको विधान नै हुन्छ । जुन कुरा वर्जित मानिन्छ मान्छेका जातलाई त्यही प्यारो लाग्छ किनभने वर्जनामा रहस्य हुन्छ । खुल्दुली हुन्छ । मिठास हुन्छ । यही शारीरिक मिठास पाउन मानिस सामाजिक सांस्कृतिक बन्धनका समस्त डोरा चुँडाउन चाहन्छ । यिनै प्रतिबन्ध र प्रतिकारका दर्दभरि कहानी लेखिएका मिलनुआ , चमचोर , लछ्मनिया , अचम्मको सुहागरात , बलात्कार कि आनन्द ? जस्ता कथाले तराईमधेशको गैर नेपाली भाषी समाजको मनोग्रन्थी चिरेका छन् । यद्यपि बलात्कार कि आनन्द भन्ने कथाले नाबालक र नाबालिएका मानिएका केटा र केटीका हकमा के कस्ता क्रियाकलापलाई बलात्कार मान्नुपर्छ भन्ने विषय सजिलो नभएको सवाल उठाएको छ । कुनै एउटा किशोरलाई वयस्क महिलाले स्पर्श गर्दा र एउटी किशोरीलाई वयस्क पुरुषले स्पर्श गर्दा हुने भिन्नताका आधारमा कुन सीमा बलात्कार हो र कुनचाहिँ आनन्द हो कसरी ठम्याउने भन्ने सवालले प्रस्तुत कथा विवादास्पद बन्ने सम्भावना देखिन्छ किनभने हालैका दिनहरूमा रेप केसको इस्यु मूलतः महिलामैत्री देखिन्छ ।
अन्त्यमा, मूलतः यौनमनोवैज्ञानिक कथा सिर्जनाको साइकलजिकल पाटोलाई ज्यादा प्राथमिकता दिइरहेको नेपाली यौनमनोविश्लेषणात्मक कथा परम्परालाई अझ भिन्न र फराकिलो आयाम दिन सदृश्य पर्दा कथा सँगालोको आगमन स्वागतयोग्य छ । सङ्ग्रहका कथाहरूलाई यौन, आवेग र वासनाको हुरीले उडाएका छैनन् बरु वासनाका कथा बुन्ने लेखकहरूको सिर्जनशीलताबाट नेपाली यौन साहित्यले झन् राम्रा , खिरिला र चिल्ला कथाहरू पाएको छ ।

०००