भूतको कथा

गद्य विविध

जानकीप्रसाद पराजुली

मैनाले झ्वाट्ट सम्झिन् , ठुली आमाले एक दिन सुनाकी थिइन् भूतको कथा । त्यो कथा यै बाटोमा हिंड्दाको थियो ।
उनले भन्थिन् , “तिवुजे खोलाको बाटो कहिल्यै नहिंड्नु है । बाटोको छेउमा अलच्छिनी डरलाग्दो भिर छ । यो भिरले वर्षको एकजना मान्छे खान्छ । हिंड्दा हिंड्दै स्वाट्टै खसेको थाहै हुँदैन । कसरी लान्छ, लान्छ ? स्वाट्टै लान्छ । कसरी तान्छ, तान्छ । धेरै भयो, काल पल्केको छ गाउंमा । कसैलाई थाहा हुँदैन । गावैं सखाप बनाई सक्यो । क्यै गर्दा पनि टेर्दैन । कसैसंग डराउदैन । ढ्यांग्रो, तन्त्रमन्त्र, ढुंगामुंढा , गोली, बारुद, बन्दुक, पेस्तौल जे ले ठोक, तर मान्छेको क्यै चल्दैन । आएपछि कसैलाई न कसैलाई लग्यो लग्यो । बाटोको छेउमा नजाउ भन्दा कोही टेर्दैनन् । छेउ कता हो भन्ने पनि मरिगए थाहा हुदैन । दिउंसै रोएको आवाज सुनिन्छ खोलाको किनारमा । बच्चा बच्ची ग्वां ग्वां रुन्छन् । कहिले मिठो गितको आवाज सुरिलो धुनमा सुनिन्छ । कहिले भिरमाथीबाट ठुलो पहिरो गम्रंग खसेको सुनिन्छ । अजंगको आवाज आउंछ । कहिले रुख गर्ल्याम्म ढलेको सुनिन्छ । हाच्छिउं गरेको सुनिन्छ । मान्छे झुक्किने गरि सातचोटीसम्म हाच्छिंउ गर्छ । कहिले खोलामा बाढी आएको डरलाग्दो आवाज आउंछ । गरङ्ग, गडडङ्, स्वा को आवाज सुनिन्छ । हेर्दा मरिगए केही देखिदैन । म त कति चोटी डोकै छोडेर गुडुडु भागेकी छु । दाउरा न साउरा । एकछाक नखार मरिदैन भनेर । डरलाग्दो छ ,तिवुजेको किनार । कुनैकुनै बेला गडुंग आकाशको आवाज आउँछ ।”
त्यसैमा कुरा मिलाएर मैनाले त्यै बेला थपेकी थिइन् ।
“हो त नि ठूली आमा । एकदिन मामाको घरबाट मान बहादुर र म साँझमा आउँदै थियौं । हामीलाई पनि त्यस्तै परो । झमक्क साँझ परेको थियो । जुन भरखर झुल्केका थिए । पछाडिबाट सर्लङ्ग झाडीमा हाम्फाल्यो । म आम्मै भन्दै झसङ्ग भएर आत्तिए । मान बहादुरले पुलुक्क पछाडि हेर्यो । म त आत्तिएर उसैलाई अँगालो मार्न पुगेछु । यसो फर्केर मास्तिर हेरे । क्यै देखिएन । जुनताराले देखेको भए ती पनि जमिनमा खस्थे होलान् डरले ।”
मान बहादुरले भन्यो, “स्याल होला । जंगलतिर फाल् हान्यो । हिडौं ।”
मलाई पनि स्यालै होला जस्तो लाग्यो । त्यसपछि हामी हिंड्यौं । अलिक तल झरेपछि पात्लेको रुख बेस्सरी हल्लियो । दुवैजना उभिएर रुखको टुप्पामा हे-यौं । क्यै देखिएन । अनर्थै भयो । छक्कै प-यौं ।
मान बहादुरले भन्यो, “बांदर होला कता हाम फालेर भाग्यो ।”
मलाई पनि त्यस्तै लाग्यो । एकछिनमा आइमाई बेस्सरी रोएको सुनियो । कत्रो न आपद् विपद् परेको जस्तो । आपद्का बिलौंनाको आवाज । तर प्रष्ट नबुझिने । हामी त छक्कै पर्यौं । यो बिच जङ्गलमा , त्यो पनि यस्तो राती । को रोएकी होला भनेर छेउछाउ हे-यौं । क्यै देखिएन । त्यै भएर मैले भनें, “यहांबाट गाउंमा मान्छे रोएको आवाज प्रष्टै सुनिदो रछ । खै ? कोही मरेछ र हो की ? नबसौं, जाउँ । फेरि हिंड्यौं । एकछिनमा बोलि सुनियो ।
“मैना” भनेको जस्तै आवाज आयो ।
मैले भनें, “मान बहादुर , त्यै रुने आइमाई हो । यतै नजिकै छ कतै । सक्छौ भनें उ त्यो झाडीमा गएर हेर त । भूतै भए पनि क्यै ख्यांस्दैन । डरार काम बन्छ ? आइहाल्यो भनें निमठ नामठ पारेर किच्याउँला ।”
मान बहादुर झाडीतिर फर्क्यो । सबैतिर हेर्यो क्यै छैन ।
मान बहादुरले भन्यो, “अचम्म हुँदैछ आज । दुबै जना डराए । न फर्केर मामा घर जानु । न अगाडि हिंड्नु । दोधारमा परे । एकछिनसम्म त्यहीं उभिएर फेरि सुन्यौं । चालचोल हरायो । फेरि अगाडि बढ्यौं ।”
मैले भनें, “मान बहादुर अलिक छिटो हिडौं ।”
उस्ले भन्यो, ““नडरा , जंगलको बाटो हो । यस्तै हुन्छ ।”
एकछिनमा हाम्रै पछाडि कोही आएजस्तो आवाज सुनियो । हातका चुरा छिंन्द्रिंग बजेको आवाज आयो । हिंडेको आवाज सुनियो । सुकेको पात माथि हिंडेको आवाज सर्लक्क सर्लक्क आयो । ख्वाक्क खोकेको सुनियो ।
मैले भनें, “हेर त , उ पर को हो ? यतै आउदैछ ।”
मान बहादुरले भन्यो, “पर्खौंन त एकछिन् , बिचरा आईमाइ रछे । राती हिंडेकी । जङ्गलको बाटो छ । गाउँसम्म लगिदिउँ न ।”
मैले पनि हुन्छ भनें ।
एकछिन त्यहिं पर्खियौं । हाम्रो नजिकै आई । को होला ? भनेर अनुहार हेर्न मान बहादुरले सलाई को-यो । सलाई झ्याप्पै निभ्यो । फेरि झ्यालको शिसा फुटेको जस्तो झरम्म आवाज आयो । आङ्ग सिरिंग भयो । त्यो आईमाइको सेतोलुगा त एकैछिनमा कालो भयो । दाहिने हातमा रातो रगत लतर पतर पोतिएको देखियो । देब्रे हात देखिएन । परैबाट हांसी निच्च । तर बोलिन ।
अगाडिका दाँत दुईवटा मात्रै थिए । लामालामा तन्केका । ओठको छेउछेउबाट चिउँडोतिर झरेका । आँखाका नानी देखिएनन् । कालो टोड्को मात्रै देखियो । टाउकोमा कपालै थिएन । तर घाँटीबाट कपाल झरेको थियो । कम्मर मुनी सम्म लत्रेको देखियो । भुँडीको छाला नाङ्गै थियो । मासु नभएका पिंडुला थिए । सेतो हड्डीमात्रै थियो । खुट्टा त पछाडी फर्केका थिए ।
मान बहादुर बोल्न सकेन । डरायो । एउटा वाक्य निस्केन मुखबाट । मेरा पनि खुट्टा काम्न थाले । बोलिनै आएन । राति किन हिंड्यौं होला जस्तो भयो । मान बहादुरले फेरि बिस्तारै सलाई को-यो । एक्कासी उउउउउउउ गरेको आवाजले चिल्लायो । म र मान बहादुर पनि आत्तिएछौं । हामी पनि उत्तिकै जोडले चिल्लायौं । आत्तिएर सलाईको काँटी भुईंतिर फालिदियो मान बहादुरले । भुईंका सुकेका पात सल्किन थाले । आगो दनन बल्यो । डढेलो लाग्ला जस्तै भयो ।
एकैछिनमा त्यो आईमाइ बेपत्ता भई । बाटो खाली भयो । मान बहादुरले आगो निभाई दियो । कतै डढेलोले जङ्गल सखाप नहोस् । किरा फटेंग्राहरु नमरुन् । अनि डरले थरर काम्दै घरतिर आयौं ।
बल्ल त्यो त भूत र,छ जस्तो लाग्यो ।”
त्यै बेलामा ठुली आमाले भनिन्– “राम,राम,राम । धन्न बांचेछौ । उस्ले बोलाउदा बोलेकी भए त्यहीं थला पर्थिस् । त्यो बाटो राती हिंड्नु हुदैन । ठूलो साँझपर्दा भूत हिंड्छ भन्छन् । तिमेरुले नै भेटेछौ । कतिलाई खाइसक्यो । सिधै आएर काँधमा चढ्छ अरे । सर्लक्कै लडाएर घाँटीबाट रगत पिउँछ अरे । धेरैलाई लग्यो यसरी नै । ससुराले भन्थे ।
आखिर ससुरा पनि त्यै चौतारामा मरेको भेटिएका हुन् । उत्तानो परेर लमतन्न सुतेका भेटिए । सेता आंखा आकासतिर पिर्लिक्क पल्टाएका । मुख अप्याक्क आंआंआं गरेर बाएर हात खुट्टा फालिएका । हेर्दै डरलाग्दो ।
मुर्दा बिसाउने चौतारो हो त्यो । पिपलको हाँगामा मुर्दा ठड्याएर टुं टुं शंख घन्काउछन् । सुन्दा पनि मुटु थर्किन्छ । कहिलेकहिं त मुर्दाको मुख ढाकेको पिताम्बर पनि सोहोरिएर तल खसेको हुन्छ । मुख अप्याक्क भएर मान्छेतिरै हेरिरहेको हुन्छ । हेर्दै डरलाग्दो । छाति फुल्ने ।
एक्लै कहिल्यै नहिंड्नु । चौतारोमा त रातभर नाच्छन् अरे मान्छे । त्यै भएर भूत्याहा चौतारो भनेका मान्छेले । दुईजना थियौ र पो बांच्यौ ।
भाग्यको कुरा कस्लाई थाहा हुन्छ र ?”

( “हिमालका भरिया’ कृतीको अँश )

०००