लघुकथाबारे नौ प्रतिभाका धारणा

अन्तरवार्ता

राजु क्षेत्री अपूरो

(लघुकथा सम्बध्द क्षेत्रका नौ प्रतिभाहरूलाई राजु क्षेत्री अपूरोले सोधेका थिए, “लघुकथा के हो? लघुकथालाई आफ्नो तवरले परिभाषित गर्नु पर्दा के कसरी गर्नुहुन्छ ?” यसका उत्तरहरू संक्षिप्त परिचयसहित प्रस्तुत छ।)

लघुकथाको क्षेत्रमा डा .पुस्करराज भट्ट कुनै नौलो नाम होइन।लघुकथामा पहिलो विद्यावारिधी गरेर आफ्नो पहिचान बनाइसक्नु भएका उहाँ नेपाली आधुनिक लघुकथा मञ्च पेजका संस्थापक एडमिन समेत हुनुहुन्छ । नेपाली लघुकथाका क्षेत्रमा आफ्ना मातापिताका नाममा अक्षयकोष खडा गर्ने उहाँ पहिलो व्यक्ति पनि हुनुहुन्छ । लघुकथा मै समर्पित उहाँले स्वदेश तथा विदेशबाट थुप्रै लघुकथा सम्मान प्राप्त गरिसक्नु भएको छ। उहाँका आधा दर्जन जति लघुकथा कृतिहरू प्रकाशित छन् । कुशल समालोचक र लघुकथामा एउटा इतिहास बनाइसक्नु भएका डा. भट्टले आफ्नो धारणा यसरी व्यक्त गर्नु भयो , “लघुकथा आख्यानको प्रमुख विधा हो । लघुकथा सुत्रात्मक हुन्छ । यसमा सुक्ष्म कथानक, सुक्ष्म परिवेशको आयोजना गरिन्छ । लघुकथामा प्रस्तुत हुने पात्र सिमित हुन्छन् । लघुकथामा कम शब्दमा प्रभावकारी विचार सम्प्रेषण हुन्छ । यो व्यंग्यात्मक, सन्देशात्मक र भावनात्मक हुन्छ । लघुकथाको अन्त्य आकस्मिक हुन्छ ।”
लघुकथालाई उचाइमा पुर्याउन पुरानो पुस्ताका लघुकथाकार नारायण तिवारीको महत्त्वपूर्ण भूमिका रहेको छ। शिशु अवस्थामा रहेको लघुकथा बिधालाई मलजल गरि हुर्काउने र फस्टाउने कार्य गर्ने मध्येको एक हुनुहुन्छ , उहाँ । सामाजिक सञ्जाल प्रयोगमा आएपछि लघुकथा कुनो नामक फेसबुक पेज खोलेर धेरै लघुकथाकारहरूलाई उहाँले प्रोत्साहन गरिसक्नु भएको छ। जीवनको लामो कालखण्ड लघुकथा मै समर्पित उहाँलाई लघुकथा समाज , हाम्रो लघुकथा केन्द्र जस्ता आधिकारिक संस्थाहरूले सम्मान अर्पण पनि गरिसकेका छन् । एउटा स्थापित जिउँदो इतिहास बन्नु भएका उहाँलाई सोधिएको सवालको जवाफ यसरी दिनु भएको छ।
“चस्स छोइने, मनमस्तिष्क हल्लाउँदै झिल्का उठ्नु लघुकथा हुनु हो । कौतुहलता जगाउन सक्नु विशेषता । लघु आकारप्रकारमा लेख्दैमा लघुकथा हुँदैन, बन्दैन । र, संक्षिप्तको लोभमा शिल्प नै नदेखिने गरी लेख्नु पनि मलाई उति ठीक लाग्दैन । जेहोस्, लघुकथा पूर्ण पठन हो, यो अधुरो हुँदैन, लाग्नु हुँदैन । लम्बेतान व्याख्याले लघुकथालाई दुरूह बनाउँछ । सटिक र चोटिलो भए पुग्यो ।”
लघुकथाको क्षेत्रमा नेपालमा पहिलो पटक दर्ता भएको आधिकारिक संस्था लघुकथा समाज नेपालका पूर्व सचिव एवं वर्तमान अध्यक्ष तुलसीहरी कोइराला लघुकथामा समर्पित व्यक्तित्व हुनुहुन्छ। उहाँले लघुकथाको परिभाषाको सन्दर्भमा सोधिएको प्रश्नको जवाफमा आफ्नो विचार यसरी राख्नु भएको छ , ” आख्यान विधाको लघुतम् उपविधा भएकाले लघुकथामा आख्यानमा हुनुपर्ने जति सबै तत्व त हुनुपर्छ नै । तर त्यतिले मात्रै लघुकथा पूर्ण र सटीक बन्दैन । थपमा कथा तत्वको ‘बीज’ लाई केन्द्रमा राखेर व्यङ्ग्यको बाण चलाएको हुनुपर्छ ताकि बाणले दिएको चोटको प्रभाव जो कोही पाठकले अनुभव गर्न सकुन् । छोटो हुँदैमा लघुकथा र लामो हुँदैमा उपन्यास भनियो भने त्यो विधाप्रति अन्याय गरेको ठहर्छ । कथावस्तुलाई बरालिन नदिइ मियोमा बाँध्न सक्नु नै कुशल लघुकथाकारको खुबी हो । ´´
लघुकथाको क्षेत्रमा दर्ता भएको दोश्रो आधिकारिक संस्था लघुकथा प्रतिष्ठान पोखराका संस्थापक एवं वर्तमान अध्यक्ष कल्याण पन्त, जो एउटा कुशल लघुकथाकार , समालोचक पनि हुनुहुन्छ । उहाँले सोही प्रश्नको जवाफमा आफ्नो भनाइ यसरी राख्नु भएको छ , “लघुकथा भनेको आकारगत रूपमा छोटो तर प्रभावगत रूपमा अत्यन्त प्रभावशाली आख्यान हो। यसको गद्यसंरचना न्यूनतम भए पनि कथनशक्ति, भावना र संदेश अत्यन्त सघन र प्रहारक हुन्छन्। यसमा कम पात्र, सरल परिवेशका साथसाथै सङ्केतात्मक तथा कलात्मक अभिव्यक्ति हुँदा यसले तीव्र प्रभाव, चेतनात्मक झट्का वा भावनात्मक प्रतिध्वनि सिर्जना गर्छ।”
सोही प्रश्नको सन्दर्भमा लघुकथा संसारका व्यबस्थापक लघुकथामा समर्पित व्यक्तित्व राजन सिलवाल भन्नु हुन्छ , `समयसान्दर्भिक आख्यानको लघुत्तम तर अत्यन्त शक्तिशाली विधा हो , लघुकथा । तीक्ष्णतम भाषाशैली, प्रारम्भदेखि नै पाठकलाई तान्न सक्ने सामर्थ्य, पात्रहरूको जीवन्त कार्यव्यापार, सुषुप्त कथानकको उत्कर्ष निर्माणका साथसाथै अपरिहार्य मानिने उत्सुकतापूर्ण र चोटिलो समापन नै लघुकथाका विशिष्ट गुणहरू हुन् । यसमा दृश्यात्मकताको अपेक्षा गरिन्छ । लघुकथा सानो घटना, सानो सन्दर्भ, न्यूनतम पात्रको उपस्थिति र कार्यव्यापारमा दृढतापूर्वक उभिन सक्छ र पाठकलाई चकित, विस्मित, त्यसपछि के भयो होला अथवा कथा त यस्तो पो हुनुपर्छ भन्ने भावदशामा छाडेर जान्छ ।
२०७६ सालमा समयको मागसंगै जन्मिएको पेज हो , लघुकथा पाठशाला ! अर्थात् वर्तमान समयको आधिकारिक सMस्थाको रुपमा रहेको हाम्रो लघुकथा केन्द्र नेपाल । यही सस्थाका संस्थापक अध्यक्ष लता के. सी. बिगत ७ वर्षदेखि लघुकथामा समर्पित हुनुहुन्छ । उहाँका चारवटा लघुकथाकृति प्रकाशित भएका छन् भने संस्थालाई चलायमान बनाइरहन उहाँको सक्रियता अहिले उदाहरणीय बन्दै गइरहेको छ। लघुकथा क्षेत्रमा उहाँको योगदानको उच्च कदर गर्दै लघुकथा समाज नेपालको तर्फबाट पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान -२०८० अर्पण गरिसकेको छ। उहाँले यसरी आफ्नो विचार प्रस्तुत गर्नु भएको छ , “आख्यान तत्वसहितको छोटो आकारको रचना नै लघुकथा हो तर यो छोटोकथा भने होइन । सीमित पात्र , सीमित शब्द , एक परिवेश , एक वा दुई घटना , सशक्त विषयवस्तु , आकर्षक बुनोट , विशेष प्रयोजन , दृष्टिविन्दु , कौतुहूलता , लेखनमा तीव्र वहाव , व्यङ्ग्यपूर्ण वा झड्केदार समापन,भाषा र शैलीमा विशेष ध्यान पुर्याएर सिर्जित कथा र सानो आकार भएको चोटिलो, स्वतन्त्र र आख्यानको सशक्त प्रविधा नै लघुकथा हो ।”
हाम्रो लघुकथा केन्द्र , नेपालका वर्तमान अध्यक्ष डा. शेखरकुमार श्रेष्ठ एउटा कुशल लेखक एवं सम्पादक समेत हुनुहुन्छ । अन्य बिधामा समेत दखल राख्नु हुने उहाँ पछिल्लो समय लघुकथा क्षेत्रमा समर्पित हुनुहुन्छ । सोही प्रश्नको जवाफमा उहाँले आफ्नो विचार यसरी पोख्नु भयो , “व्यावहारिक र ललित गरी कलाका दुई प्रकार छन् । ललितकलाभित्र साहित्य पर्दछ । साहित्यका कविता, नाटक, आख्यान र निबन्ध गरी चार विधा छन् । आख्यानभित्र कथा र उपन्यास पर्दछन् । यी दुईमध्ये कथाको रूप लिएर लघुकथा बनेको हो । जसरी मुक्तक/गजल कविता विधाभित्र पर्दछ, त्यसैगरी लघुकथा कथाको रूपमा पर्दछ । मुक्तक/गजल स्वतन्त्र भए झैँ लघुकथा आफैमा पूर्ण र स्वतन्त्र छ । जीवनजगत्‌मा घटेका वा घट्न सक्ने विविध घटना वा चरित्रमध्ये कुनै खास एक घटनाले उब्जाएका घटनाको परिणामलाई सीमित आयामका साथ कारण र कार्यको शृङ्खलामा उनेर गद्यभाषामा लेखिएको आख्यान लघुकथा हो ।”
पछिल्लो समयमा लघुकथामा समर्पित व्यक्तित्वको अर्को नाम हो , नन्दलाल आचार्य । उहाँ लघुकथा प्रतिष्ठान नेपाल नामक पेजका संस्थापक एडमिन हुनुहुन्छ । उहाँले लघुकथालाई यसरी परिभाषित गर्नु भएको छ ,`लघुकथा जीवनको ठूलो भावलाई सानो तर तीक्ष्ण झिल्कामा उतारिने मौलिक गद्यकला हो । यसमा शब्दभन्दा अर्थको घनत्व बलियो हुन्छ- एक वाक्यले नै मन हल्लाउन सक्छ । संवाद, चरित्र र परिवेश परस्पर ठोक्किँदा लघुकथाले एकैछिनमा झट्का दिन्छ । अप्रत्याशित तर तिखो मोड नै यसको प्रहार हो- छोटो, गहिरो, अविस्मरणीय । बिम्ब, प्रतीक र मौनताबाट निस्कने सन्देश नै यसको आत्मा हो । अत: लघुकथा भनेको क्षणमा युग देख्ने र पढिसकेपछि पनि मनमा बिउझैँ उम्रिरहने गद्यकला हो ।´
लघुकथा भनेपछि हुरुक्क हुने अर्को व्यक्ति हुनुहुन्छ , लक्ष्मी रिजाल। पछिल्लो समयमा लघुकथालाई दिगो दरिलो र चलायामान बनाउन लागिपर्ने व्यक्तिमध्ये उहाँ पनि पर्नु हुन्छ। लघुकथा प्रतिष्ठान नेपालका संस्थापक एडमिन रिजालले लघुकथाबारे आफ्नो धारणा यसरी प्रस्तुत गर्नु भएको छ , “लघुकथा जीवनको चोटिएको एक क्षणलाई तेजस्वी झिल्कोझैँ उतारिने सङ्क्षिप्त आख्यान हो । यो प्रभावले बाँच्ने विधा हो, जहाँ एक वाक्यले नै आत्मा हल्लाउन सक्छ । लघुकथा मूलतः २५० शब्दको सेरोफेरोमा लेखिएको ठूलो जीवन हो । यसमा समाजका छिद्र, सम्बन्धका तुवाँलो र अस्तित्वका मौन चिरा बिम्ब, प्रतीकहरूमा प्रतिविम्बित हुन्छन् । सङ्क्षेप लघुकथाको शक्ति हो, आकस्मिकता यसको स्वभाव र अन्त्य-प्रहार यसको धर्म हो । कम शब्दको धारबाट गहिरो जीवन-सत्य बगाउने कला नै आधुनिक लघुकथा हो ।”
लघुकथालाई चिनाउन अग्रज व्यक्तित्वहरूले आआफ्नो ढङ्गले परिभाषित गर्नुभएको छ। वर्तमान समयका लघुकथामा समर्पित अन्य धेरै व्यक्तित्वहरूले लघुकथालाई शाब्दिक अर्थमा जसरी बुझेपनि यसको निचोड यस्तो देखिन आउँछ , `एउटा निश्चित मूल्य र मान्यताको परिधीभित्र रहि सरल र सटिक ढङ्गको माला उनेर कौतुहलता प्रदान गर्दै एउटा ठोस उद्देश्य सहित आकर्षक समापन गरिएको लघुत्तम आकारको त्यो कथा जसले पाठकको मन र मस्तिष्कमा तरङ्ग पैदा गरोस् , जसलाई हामी लघुकथा भनेर भन्न सक्छौँ।´

000