नवीन पौड्याल
अहिलेका हाम्रा नयाँ पुस्ताका युवाहरू विस्तारै आफ्नो मौलिक भाषा, साहित्य, संस्कृति, भेषभुषा, लोकपरम्परा, गीत, सङ्गीत, संस्कार, समाज आदिदेखि टाडिँदै गइरहेका छन् भन्ने कुरा सर्वत्र चर्चा छ। हाम्रो आफ्नो मौलिक परम्परिक कुरा, मूल्य मान्यता महत्त्व जान्न छाड़े। न आफ्नो भाषा राम्रोसँग जान्दछन् न हाम्रा लोकगीत र सुगम सङ्गीत नै सुनेका छन्। न राम्रोसँग आफ्नो भेषभूषा लाउँदछन्, न चिन्दछन्। यस्तो स्थिति आएको मोटामोटी रूपमा ईश्वीको नयाँ युग अर्थात् २००० देखि यतादेखि हो। नयाँ युगको आगमनसँग हाम्रा आफ्ना मौलिक पक्षहरू घट्दै गएको प्रतीत हुन्छ।
अबका हाम्रा केटाकेटीलाई हाम्रा बुढा बाजे- बोजूहरूका अनुभव र ज्ञानका कुरा अपत्यारिलो लाग्न थाले। घरको सामान्य काम पनि जान्न छाडे। एक चपरी काँटा कोदालो चलाउन जान्दैनन्, एक मुट्ठी घाँस काट्न जान्दैनन्। न खरूकी घाँस चिन्छन्, न नेभारा, न खन्यूँ नै चिन्छन्। अबकाले युवाले दाउरा बोक्नुपर्दैन। डोको, थुन्से चिन्न छाड़े, कँचिया र हँसिया एकै ठान्न थाले, डाले घाँस के हो थाह छैन। खेताला-पात, अधियाँ, पर्मा, कुत, चर्चाई जान्न-सुन्न छाडे। गाउँघरका छरछिमेकी र आफन्त चिन्न छाडे। गाउँले साइनोहरू काका काकी बड़ा, बड़ी, फूपू फुपा-मामा, माइजू भन्न छाड़े। न काँचो अम्बक खान जान्दछन्, न ठोट्ने चिन्दछन्। न पेवा अदुवा रोप्छन् न झिँगनी-घिँरौला सब्जी जान्दछन्। रूखपात चिन्दैनन्, धान कसरी फल्छ भन्ने कुरा जान्दैनन्। शहरीकरणका नाममा अबका पुस्ता अप्राकृतिक बन्दै गइरहेका छन्। दुई पाइला हिँडेर जान नसक्ने भए। न धान खेती जान्दछन् न कोदोबारी खन्छन्। जीवन शैलीमा शारीरिक सङ्घर्ष छैन। न दाईँ र रोपाईँको अनुभव।
अहिलेले शिक्षा व्यवस्थामा नै खोट छ। धेरै अङ्क ल्याए पनि विषय ज्ञान थोरै पाउँछन्, व्यवहारिक ज्ञान थोरै हुन्छ। धेरै अङ्क पाएको त मुरैको डल्ला जस्तो फोस्के हुन्छन्। विषयगत तथ्य जान्दछन् तर गहन ज्ञान जान्दैनन्। विषयको वस्तुनिष्ठ संक्षिप्त उत्तर दिन जान्दछन् तर विषयगत विश्लेषण र तर्कसम्म उत्तर दिन जान्दैनन्। पहिलेका तुलनामा अहिलेका दशौं श्रेणीमा पढ्ने एउटा विद्यार्थीले कति जान्दछन्, त्यो थोरै नै भन्नुपर्दछ। गुणात्मक शिक्षा नभएर मात्रात्मक शिक्षा पाउँछन्। सजिलो बाटो हिँड्न खोज्छन्।
अहिलेका युवा पुस्ताले न नारायण गोपाल चिन्छन् न किशोर कुमार। न भक्तराज आचार्यका मिठा भजन जान्दछन् न कुमार बस्नेतका लोकगीत सुन्छन्। न नेपाली गीतका शब्दको महत्त्व बुझ्छन् न संगीतको रागात्मकता सुन्छन्। मोहम्मद रफी साहेबका गीतको कोमलता सुनेकै छैनन्, न प्रेमध्वज प्रधानका गीतको मनमोहकता बुझ्छन्। न तारादेवी, न कोइलीदेवीका नाम सुनेका छन्। न रेडियो र टेपको गीत सुन्न पाएका हुन्छन्। हाम्रो भारतीय मूलका भरतनाट्यम, कथक, कथकली, कुचिपुड़ी, मणिपुरी आदि जस्ता शास्त्रीय नृत्य हेर्न नै रूचि लिन्छन्। जीवनको वास्तविक अनुभव गर्न पाएका छैनन्। चरेर खान होइन बोइलर कुखुरालाई चारो दिएर चारो मात्र खान जानेका जस्ता भएका छन् ।
यस्तो हुनुका मूलकारण अङ्ग्रेजी स्कुल पढाएर हो भनेर निष्कर्ष निकाल्न सकिन्छ। अङ्ग्रेजी स्कुल पढाएपछि सबै विषयको माध्यम अङ्ग्रेजी भएपछि अङ्ग्रेजी काइदा कानुनले चल्न फिर्न लागे। ज्ञान विज्ञानको विस्तारसित आफ्नो मौलिकता भन्ने बिर्सिदै गए। अङ्ग्रेजी भारत छोडेर गए पनि अङ्ग्रेजी रोपेर गए। अङ्ग्रेजी र पश्चिमी सभ्यता, संस्कृति र परम्परालाई चाल नपाउँदो गरी अपनाउन लागेका छन्। बिस्तारै आफ्नो त्याग्दै अर्काको अपनाउँदै जान लागेका छन्। उनीहरूका निम्ति नेपाली संस्कृति भनेको ढाकाको साडी र चोली तथा दौरासुरूवालमा नाच्नुसम्म मात्र हो। न चाड़ पर्वको वास्तविक ज्ञान राख्छन् न हाम्रा देवी देवरालीको महत्त्व बुझ्छन्। न घाँसको भारी बोकेर देउराली डाँड़ामा घाँसको भारी बिसाएर सुसेसीमा सुस्ताएको अनुभव गरेका हुन्छन्।
अङ्ग्रेजी स्कुल पढेर न राम्रोसँग आफ्नो मातृभाषा सिक्न पाएका हुन्छन् न त्यसप्रति मोह र महत्त्व राख्न सकेका छन्। न हाम्रा मौलिक शब्द नै चिन्दछन्। नेपाली विषयबाहेक अन्य विषयका शब्दका निम्ति नेपाली शब्द जान्दैनन्। न जातीय चेतना र अस्तित्वको भाव राख्छन्। न शुद्धसँग अङ्ग्रेजीमा नै पारङ्गत हुन्छन्। न अङ्ग्रेज हुन सक्छन् न पूर्ण नेपाली। भीरको चिण्डो उँधो न उँभो सरह भएका छन्। केही तकनिकी कम्युटर र मोबाइल तथा सूचना प्रविधि आदि विषयमा सिपालु भएका छन्। अङ्गेजी जानेर केही गरी खालान् तर आफ्नोपन गुमाएर अस्तित्वविहीन पनि बन्दैछन्। गुगल, युट्युब आदि जस्ता सञ्जालका भरोसामा तथ्य सङ्कलन गर्न सक्छन्। यद्यपि घरेलु दैनिकी, आफुले खाने अन्न फलफूल आदि फलाउन जान्दैनन् न आफुलाई नभइनहुने दुध दिने गौपालनबारे जानकारी र व्यवहारिकता जान्दछन्।
सानैदेखि अङ्ग्रेजी स्कुल पढाउँदा दूरगामी प्रभाव परेको हुन्छ। यसले पाश्चात्य सिद्धान्त, सभ्यता, संस्कृति, इतिहास आदिबारे मात्र बढी पढेका सुनेका बुझेका हुन्छन्। पाश्चात्य विद्वानहरूको विचार र मतलाई नै बढी मान्यता दिन्छन्। यद्यपि हाम्रा पूर्वीय विद्वानहरूबारे चासो राख्दैनन्। उनीहरूले निम्ति भारतीय सभ्यता संस्कृति, शिक्षा आदिप्रति उदासीन भाव लिएका हुन्छन्। भारतीय ज्ञान परम्परालाई पनि मान्यता दिँदैनन्। न आफ्नो धार्मिक परम्पराप्रति उति चासो नै लिन्छन्। यो लेख अङ्ग्रेजी स्कुल पढेका जम्मैलाई नलिएर सामान्य रूपमा पर्यवेक्षण गरेर लेखिएको हो।
अङ्ग्रेजी स्कुल पढेर भविष्यको हाम्रो जातिलाई ठुलो खति हुँदै छ। न आफ्नो माटो र देशप्रति उति चासो राख्छन्, न सामूहिकता बुझ्दछन्। सामूहिकताको भावना घट्दै गएर मानिस एकल बन्दैछन्। आफ्ना मौलिक परम्परा, सभ्यता संस्कृति, मान्यता आदि दिनानुदिन खिइँदै जाँदै छन्। हाम्रो आफ्नो पोखरी हुँदाहुँदै अङ्ग्रेजीरूपी ठुलो समुद्रमा बिलाएर जाने सम्भावना हुन्छ। भँडार खनेर आँगन पुर्ने मानसिक जन्मिरहेको छ। आफ्नो जातिगत संस्कार र संस्कृतिदेखि टाडिदै र छाडिदै गएको लाग्छ।
ठुल्ठुला अङ्गेजी विद्यालय पढेका अबका पुस्ताले धेरै कुरा गुमाउँदै छन्। हाम्रा मूल्यवान आफ्नो मातृभाषा, हाम्रा संस्कार, संस्कृति, सभ्यता, जीवनशैली, लोकपरम्परा, जातीय भेषभूषा आदिदेखि विस्तारै टाडिँदै जान्छन्। जीवनमा अपनाउन पर्ने संस्कृति अब प्रदर्शनमुखी बन्दो छ। पहिले सामान्य रूपमा गाउँ घरमा प्रचलित हाम्रा लोकपरम्परा अब विशेष कार्यक्रमको मञ्चतिर मात्र देख्न पाइन्छ। दौरा सुरुवाल र फरिया चौबन्दी चोली लाउनलाई कार्यक्रम नै पर्खिने पर्ने छ। बनावटी र देखावटीमा निर्भर रहने चलन बढ्दो छ।
एउटा बहुभाषिक समाजमा रहेर अर्काको प्रभाव पर्नु स्वभाविक हो तर यस प्रकारले आफैंलाई मेटेर अघि बढ्नु उचित होइन। भारत र नेपाल जस्ता देशहरू बहुसांस्कृतिक बहुभाषिक बहुभौगोलिक प्रवृत्तिका छन्। गङ्गामा अरू नदीहरू आएर मिसिए पनि गङ्गा नदीको आफ्नो अस्तित्व पहिचान र परम्परा छ। हाम्रा मौलिकता जोगाउन सके मात्र अङ्ग्रेजी र अङ्ग्रेजी विद्यालय अध्ययन गरेको सार्थक हुनेछ। नत्र भँडार खनेर आँगन पुरे जस्तो हुनेछ।
०००
लेखक परिचयः नविन पौड्याल भारतको कालिम्पोङमा जन्मिएका हुन् । सन् १९८३ मा स्कूलको वार्षिक पत्रिका “सुमाइट” मा कविता प्रकाशन गरी साहित्यिक जगतमा प्रवेश गरेका हुन् । उनको लेखनको मूल विधा समालोचना हो । उनका आख्यान अनुशीलन(ईसं २०११), साहित्य अुशीलन (ईसं २०१४), साहित्य सन्धान (ईसं २०१८), कृति सन्धान (२०२१) भारतीय नेपाली समालोचक सन्दर्भिका (ईसं २०२२), नेपाली गीतको सेरोफेरो( ईसं २०२३), चिन्तन समीक्षण (२०२४) लगायतका कृतिहरु प्रकाशित छन् । उनी तल्लो बम बस्ती, कालिम्पोङ, भारतमा बसोवास गर्छन् ।
