२२ चैत २०८२, काठमाडौं
लीलाध्वज थापा साहित्य प्रतिष्ठानको बैठकले पोखरेली स्रष्टा छन्दनायक माधव वियोगीलाई `लीलाध्वज थापा सम्मान´प्रदान गर्ने निर्णय गरेको छ ।
नेपाली साहित्यमा महाकाव्य ,खण्डकाव्य, कविता,कथा,निबन्ध,समालोचना,जीवनी,गजल, गीत आदि विधाका ४२ वटा पुस्तक प्रकाशन गर्नाको साथै नेपाली भाषाको श्रीवृद्धिमा लामो समयदेखि संस्थागत रूपमा पनि उल्लेखनीय योगदान पुर्याउँदै आएको कार्यको उच्च मूल्यांकन गर्दै उनलाई सो सम्मान प्रदान गर्न लागिएको जानकारी लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले दिएका छन् ।
नेपाली मौलिक सामाजिक उपन्यास विधामा सर्वप्रथम मदन पुरस्कार प्राप्त यशस्वी उपन्यासकार तथा कवि लीलाध्वज थापाको नाममा स्थापित नगद राशिसहितको सो सम्मान लीलाध्वज थापा साहित्य प्रतिष्ठानले विगत वर्षहरूदेखि प्रदान गर्दै आएको छ ।
उनलाई सो सम्मान आगामि चैत्र २८ गते प्रतिष्ठानको त्रैमासिक रचना वाचन कार्यक्रममा प्रदान गरिने छ ।
०००
