चार मुक्तक

कविता

नीमा डि.सि., कोहलपुर बाँके हाल:अमेरिका

एक

खाइन्छ सिन्की-ढिँडो भोकलाई खीर किन चाहियो?
सङ्घर्ष मनको साथी हो भने व्यर्थ पीर किन चाहियो
शब्दले रिटिदिए पुग्छ यो सानो मेरो कोमल मुटुलाई
मुटुमै हान्नलाई धारिलो हतियार र तीर किन चाहियो! !

दुई

खुसी दिन्छु भनेर पाइला मोड्नु हुन्न साथी
मुटुभित्र दु:ख थुपार्न नाता जोड्नु हुन्न साथी
मन हो मन दुख्ने पनि सानो कुराले नै त हो
अन्जानमा भए पनि वचन छोड्नु हुन्न साथी! !

तीन

सकिन्न जमीन नटेकेर हावामा फल्न पनि
तेललाई बाती बातीलाई तेल चाहिन्छ बल्न पनि
मित्रभाव देखाइ यो मनसँग खेल्नेहरूको भीडभन्दा
बरु मन्जुर छु म, दुस्मनहरुको साथमा चल्न पनि !

चार

अरुको मर्म नबुझ्नेलाई आँसु र पानी उस्तै हो
जति मिलाए पनि फूल र काँडाको कहानी उस्तै हो
मेहनत नगर समय खेर न फाल फलको आशमा
बालुवामा जतिसुकै लगाए पनि लगानी उस्तै हो! !

 

कवि परिचयः नीमा डि.सि.राप्ती सोनारी गाउँ पालिका सिक्टा कोहलपुर बाँकेमा जन्मेकी हुन् र हाल अमेरिकामा वसोवास गर्छिन् । कविता विधामा मुक्तक, कविता, गजल लेख्ने उनको मुक्तकसंग्रह “जून ओर्लेर मनभरि“(२०७८) प्रकाशित छ ।