जयराज आचार्यलाई दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार प्रदान

मुख्य समाचार

१५ चैत २०८२, काठमाडौं

दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि काठमाडौ विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. शुरेशराज शर्माले अन्तर्राष्ट्रिय सम्बन्ध, परराष्ट्र तथा कूटनीति लगायत नेपाली, अङ्ग्रेजी र संस्कृत वाङ्मयमा पुऱ्याएको योगदानको उच्च मूल्याङकन गरी यस वर्ष २०८२ को “दण्डपाणि-नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार” प्रा.डा. जयराज आचार्यलाई अर्पण गरे ।
प्रमुख अतिथि डाङ. शर्माले नगद रु ५०,०००/- पुरस्कार तथा अभिनन्दन पत्र हस्तान्तरण गरेपछि प्रा.डा आचार्यलाई दोसल्ला ओढाई सम्मान गरेका थिए ।सो अवसरमा उहाँकी धर्मपत्नी उषा आचार्यलाई पनि दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
पुरस्कार वितरणपश्चात् समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा. सुरेशराज शर्माले दण्डपाणि अर्याल स्मृतिकेन्द्रले प्रतिभा सम्मानका लागि उपयुक्त पात्र छान्ने परम्परालाई निरन्तरता दिएकोमा खुसी व्यक्त गरे ।
पुरस्कृत व्यक्तित्व डा. जयराज आचार्यले आफ्नो मन्तब्यमा दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रबाट हालसम्म सम्मानित/पुरस्कृत व्यक्तिहरूको जीवनीलाई स्मृतिकेन्द्रकै मुखपत्र “ज्ञानविन्दु” पत्रिकामा जीवनी विशेषाङ्कको रूपमा प्रकाशित गर्न सुझाव दिए ।
यस अघिका वर्षहरूमा १७ जना राष्ट्रिय प्रतिभाहरूले यो पुरस्कार प्राप्त गरिसकेका छन् ।
स्मरण सहोस् आजका प्रमुख अतिथि प्रा.डा. सुरेशराज शर्माले पनि १५ बर्ष पहिले यो पुरस्कार प्राप्त गरिसक्नु भएको छ।

०००

त्यसै गरी जयराज आचार्य विषयक परिचर्चा कार्यक्रम जूमका माध्यमबाट सम्पन्न भएको छ । अघिल्लो दिन सम्पन्न प्रतिभा सम्मान कार्यक्रमको भिडियो क्लिप प्रदर्शन गर्दै अन्तरराष्ट्रिय नेपाली समुदायका बीच सम्पन्न उक्त कार्यक्रममा सल्लाहकारहरु, कोष संस्थापकहरु- कवि हरिहर अर्याल तथा साहित्यकार राजेन्द्रप्रसाद अर्याल, अनेसास, बिओटिका अध्यक्ष पदम विश्वकर्मा, अनेसास केन्द्रिय अध्यक्ष- सर्वज्ञ वाग्ले, एनआरएनए अमेरिकाका उपाध्यक्ष- डा.गंगाधर आचार्य, अन्य कवि ,लेखक साहित्यकारहरु लगायत संस्थाका पदाधिकारीहरुको उपस्थिति थियो। उपस्थित वक्ताहरुले जयराज आचार्य र दण्डपाणि अर्ज्यालको जीवनी व्यक्तित्व र कृतित्व वारे प्रकाश पार्दै स्मृतिकेन्द्रको सकारात्मक भूमिकाको प्रशंसा गरेका थिए। दुवै चरणको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष वरिष्ठ ईन्जिनियर ईश्वरचन्द्र बानियाले गरेका थिए ।
कार्यक्रम सञ्चालन महासचिव कपिल चन्द्र खनालले गरेका थिए।
गोरखामा वि.सं १९६३ मा जन्मेका विद्वान् शिक्षासेवी, इतिहासविज्ञ तथा समाजसेवी स्वर्गीय दण्डपाणि अर्ज्याल इतिहास ,ज्योतिष शास्त्र र संस्कृतिका अध्येता थिए र नन्दकुमारी उनकी धर्मपत्नी थिइन् ।
स्मरणीय छ, डा. जयराज आचार्य यो पुर्कार प्राप्त गर्ने १८औं विद्वान हुन् । प्रमुख अतिथि प्रा.डा. सुरेश आचार्य १५ वर्षअघि यो पुरस्कारद्वारा सम्मानित भइसकेका विद्वान हुन् ।

०००