वासु शशी स्मृति परिषदबाट तीन प्रतिभा पुरस्कृत

मुख्य समाचार

१३ चैत्र २०८२, काठमाडौं।

साहित्यकार वासु शशीको ९० औँ जन्मजयन्तीको अवसरमा आयोजित समारोहमा वसन्त चौधरीलाई २५,०००/- राशीको वासु शशी साहित्य पुरस्कार, साहित्यकार जयदेव भट्टराईलाई २१,०००/-राशीको वासु शशी स्रष्टा पुरस्कार तथा साहित्यकार हरि मञ्जुश्रीलाई २५,०००/- राशीको कृष्ण-सरस्वती साहित्य पुरस्कार प्रदान गरियो ।
पुरस्कार समर्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गीतकार यादव खरेलले वासु शशीसँगको सम्बन्धको स्मरण गर्दै वासु शशी नम्र मिजासका अभिमान नभएको व्यक्तिका रूपमा चित्रण गरे। गद्य पद्य दुबैमा उनका थुप्रै कृतिहरू भएको उल्लेख गर्दै उनले वासु शशीका कृतिहरू रि-प्रिन्ट गरी पुन:बजारमा ल्याउनुपर्ने बताए। पुरस्कृत हुने तीनैजना स्रष्टाहरूलाई बधाई दिंदै गीतकार यादव खरेलले वासु शशी स्मृति परिषद्लाई धन्यवाद दिए।
पुरस्कृत स्रष्टाहरुका बारे परिषद्का उपाध्यक्ष श्रीओम श्रेष्ठले ‘रोदन’ले प्रकाश पारेका थिए। उनले तीनैजना स्रष्टाहरूलाई चिनाइरहनु नपर्ने र नाम नै काफी भएको बताए।
कार्यक्रममा पुरस्कृत व्यक्तित्वहरूले आफ्नो मन्तव्यमा वासु शशी जस्ता साहित्यकारका नाममा स्थापित र कवि कृष्ण जोशीको नाममा स्थापित पुरस्कारबाट सम्मानित हुन पाएकोमा आभार प्रकट गरेका थिए।
परिषद्की संरक्षक श्रीमती जुलुम वैद्य अस्वस्थताका कारण उपस्थित हुन नसकेकाले उनको सन्देश सदस्य सचिव प्रद्युम्नले पढेर सुनाए।
कार्यक्रमको सुरुमा परिषद्का सदस्य सचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य राखेका थिए। जोशीले वासु शशी साहित्य पुरस्कार २०५७ सालदेखि सुरू गरिएको बताउँदै वासु शशी स्रष्टा पुरस्कार भने यसै वर्षदेखि सुरू गरिएको बताए।
सभापतिको आसनबाट बोल्दै गीतकार कालीप्रसाद रिजालले वासु शशीको जीवनको अन्तिम घडिको स्मरण गर्दै घण्टौँ गफ गर्नुपर्ने व्यक्ति चूपचाप बस्नु परेको कुरा भावपूर्ण रूपमा व्यक्त गरेका थिए। वासु शशी ज्यादै भद्र,असल मान्छे भएको बताउँदै उनले आफ्नो मित्रसमेत रहेका वासु शशी प्रबुद्ध व्यक्तित्व भएको र उनका कृतिहरू ज्यादै उत्कृष्ट भएको बताए। वासु शशीबाट प्रेरणा लिएर अरूले पनि सृजना गर्नुपर्ने बताउँदै पुरस्कृत सबैलाई बधाई दिएका थिए।
कार्यक्रमको सञ्चालन कवि ठाकुर बेलवासेले गरेका थिए।
स्मरणीय छ, वासु शशी साहित्य पुरस्कारबाट यसअगि कवि एवं साहित्यकारहरू विनोद अश्रुमाली, मञ्जु काँचुली, बद्री पलिखे, गणेश रसिक, हेम हमाल, विश्वविमोहन श्रेष्ठ, अशेष मल्ल, हरि अधिकारी, कृष्णभूषण बल, काजी रोशन, डा. विष्णुविभू घिमिरे, नरेन्द्रबहादुर श्रेष्ठ, डा. विमल कोइराला, तीर्थ श्रेष्ठ, कणाद महर्षि, उषा शेरचन, गोविन्द गिरी प्रेरणा, शैलेन्दुप्रकाश नेपाल, इन्दिरा प्रसाई, राधेश्याम लेकाली, मोमिला, श्यामल, प्रतिसरा सायमि र विमल वैद्य पुरस्कृत भइसकेका छन्।
यसैगरी वासु शशी साहित्य सम्मानबाट वरिष्ठ साहित्यकारहरु तीर्थराज वन्त, डा. मोहनहिमांशु थापा, तुलसी दिवस, भैरवनाथ रिमाल ‘कदम’, प्रदीप रिमाल, यादव खरेल, गीताकेशरी, शिव रेग्मी, परशु प्रधान, कालीप्रसाद रिजाल, कृष्ण जोशी, रमा शर्मा, श्रीधर खनाल, ज्ञान उदास, भागिरथी श्रेष्ठ, कल्पना प्रधान, श्रेष्ठ प्रिया पत्थर, कर्ण शाक्य, हिरण्य भाेजपुरे, किरण खरेल र मनबहादुर मुखिया सम्मानित भइसकेका छन्।
०००
(सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’काठमाडौंको सहयोगमा)