११ चैत २०८२ चैत, काठमाडौं ।
वरिष्ठ कथाकार भागीरथी श्रेष्ठको दोस्रो लघुकथाकृति ‘पानीको अर्थ’ लोकार्पण सम्पन्न भएको छ ।
लघुकथा समाज नेपालले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. दयाराम श्रेष्ठ, तुलसीहरि कोइराला, जलेश्वरी श्रेष्ठ, श्रीओम श्रेष्ठ रोदन लगायतले सामुहिक रुपमा लोकार्पण गरे ।
लोकार्पणपश्चात् प्रमुख अतिथि दयाराम श्रेष्ठले लघुकथा लेखनमा संरचनागत शुद्धता हुनुपर्नेमा जोड दिँदै कृतिभित्रका लघुकथाहरूबारे आफ्नो धारणा राखे ।
कार्यक्रममा समीक्षक डा. दीनबन्धु शर्माले श्रेष्ठका लघुकथाहरूमा सांकेतिक प्रभाव र दार्शनिक दृष्टिकोण रहेको उल्लेख गर्दै श्रेष्ठका लघुकथाहरू हल्ला नगर्ने खालको भएको बताए ।
अर्का समीक्षक डा. हरिप्रसाद भण्डारीले श्रेष्ठका लघुकथाहरूको प्रवृत्तिगत चर्चा गर्दै पुस्तकमा समेटिएको ५४ लघुकथाहरूले समाजका विकृति विसंगतिसँगै राजनीति र देशको अवस्थामाथि तिखो व्यङ्ग्य गरेको उल्लेख गरे ।
समाजका संस्थापक अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले भागीरथी श्रेष्ठको उचाइ यस लघुकथाकृतिले अझ उठाएको बताए ।
कृतिकार श्रेष्ठले आफ्नो लघुकथा लेखनका विषयमा बोल्दै पाठकको मायाले यो कृति प्रकाशनमा आएको बताइन् ।
कार्यक्रममा केशव पराजुली, तुलसीहरि कोइराला, पद्मावती सिंह, जलेश्वरी श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।
सो कार्यक्रमको सञ्चालन तारा केसीले गरेकी थिइन् ।
०००
