९ चैत २०८२, न्यूयोर्क
राम गीता वाङमय मन्दिरले प्रत्येक जोर नेपाली वर्षमा प्रदान गरिने ‘प्रतीक ढकाल-लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’ बि.सं.२०८२ को लागि भारतीय नेपाली कवि मनप्रसाद सुब्बाको कविता सङ्ग्रह “पञ्चतत्त्वको पालाम”लाई प्रदान गर्ने निर्णय भएको छ। यसअघि यस पुरस्कारका लागि घोषित उत्कृष्ट ७ कृतिहरूको सूचि प्रकाशन गरेको थियो । तिनै ७ कृतिहरूमध्य कवि सुब्बाको उक्त कृतिलाई ‘वातावरणीय चेत र मौलिक स्थानीय प्रज्ञाको अत्यन्त सुन्दर समायोजन र अभिव्यक्ति’ गरेको मूल्याङ्कन गर्दै उत्कृष्ट ठहर गरी पुरस्कृत गर्ने निर्णय गरेको हो।
यस पुरस्कारमा ५० हजार राशिसहित ताम्रपत्र रहेको छ ।
यसै गरी २०८० सालको अशेष मल्ल-सावित्री रङ्गकर्म पुरस्कार नेपाली रङ्गमञ्च र समग्र नाट्यक्षेत्रको विकासमा अग्रणी भूमिका खेल्नुहुने रङ्गकर्मी तथा कौशी थिएटरकी सञ्चालिका आकांक्षा कार्कीलाई प्रदान गर्ने निर्णय गरिएको छ। यस पुरस्कारमा पनि ५० हजार राशिसहित ताम्रपत्र रहेको छ ।
साथै, समग्र साहित्य तथा नाट्य क्षेत्रमा दीर्घ योगदान पुऱ्याउनु हुने एक-एक साधकलाई ‘रामगीता लाइफटाइम एचिभमेन्ट अवार्ड’ ले सम्मानित गर्ने निर्णय भएअनुसार, यस वर्ष यस उपाधिबाट वरिष्ठ गीतकार तथा समालोचक प्रा. डा. कृष्णहरि बराल तथा वरिष्ठ कलाकार शुषमा शाहीलाई सम्मानित गर्ने निर्णय गरिएको छ । साथै, सञ्चार क्षेत्रमा विशिष्ट योगदान पुऱ्याउने एक जना सञ्चारकर्मीलाई ‘रामगीता विशिष्ट सञ्चार सेवा पुरस्कार’ बाट पुरस्कृत गर्ने निर्णय भएबमोजिम यस वर्ष सो पुरस्कारबाट खसोखास डटकमका सम्पादक किशोर पन्थीलाई पुरस्कृत गर्ने निर्णय गरिएको छ ।
पुरस्कार एवं सम्मान वि.सं २०८३ साल वैशाख १२ गते काठमाडौंमा हुने एक विशेष समारोहबीच प्रदान गरिने छ ।
स्मरणीय छ, न्यूयोर्कलाई कर्म भूमि बनाएकी लेखिका गीता खत्री र उनका श्रीमान राम खत्रीले वि.सं. २०८० मा राम गीता मन्दिर स्थापित गरेका हुन् ।
०००
