०७ चैत २०८२, काठमाडौं
नेपाली गीति साहित्यका शिखर प्रतिभा गीतकार किरण खरेललाई साहित्यकार परशु प्रधान तथा उनकी धर्मपत्नी कल्पनाको नाममा प्रधानका चारजना सन्ततिद्वारा स्थापित नगद राशि रू १,००१११/- को सम्मान “परशु- कल्पना स्रष्टा सम्मान” कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.दयाराम श्रेष्ठले समर्पण गरे ।
सम्मान समर्पणपश्चात् प्रमुख अतिथि प्रा.डा.दयाराम श्रेष्ठले स्रष्टा परशु प्रधानको कृतित्व तथा व्यक्तित्वमाथि प्रकाश पार्दै २०४१ मा परशुका २५ कथाहरूको आफूले सम्पादन गरेको बताए। सो कृतिमा समाविष्ट ३५ पृष्ठको भूमिका प्रभाववादी लेखिएछ जुन पूर्ण रहेनछ भन्दै परशुका १३० भन्दा बढी कथाहरूको न्यायपूर्ण समीक्षा हुन बाँकी रहेको चर्चा गरे । उनका कथाहरूको नयाँ ढङ्गबाट समीक्षा गरिनुपर्ने बताए।१७-१८ वर्षको उमेरदेखि कथा,कविता तथा उपन्यास लेख्न शुरू गरेका परशुले जीवनभर जसै जस पाएको उनको कथन थियो ।
गीतकार रमण घिमिरेले सम्मानित व्यक्तित्व किरण खरेलका बारेमा बोल्दै उनको बारेमा बोल्नु भनेको पोखरीमा पौडी खेल्नेलाई समुद्रमा पौडी खेल्न लगाए जस्तै भएको बताए। किरण खरेलको लत भनेकै गीत हो,उनलाई गीतको मात्र तलतल लाग्छ र गीतकै मात लाग्छ भन्दै किरण खरेल भनेको नेपाली गीतको महाविद्यालय भएको बताए।खरेलका गीतहरूमा समवेदना, वेदना र प्रेम हुने गरेको बताउँदै ७०० भन्दा बढी गीतका सर्जक खरेलले रेडियो नेपाल र नेपाल चलचित्र संस्थानमा आबद्ध रहेर गीति क्षेत्रमा योगदान पु-याएको बताए। उनले किरण खरेल रचित छ दशक अघिको चलचित्र माइतीघरको एउटा गीत पनि रमणले गाएर सुनाएका थिए।
शुभकामना मन्तव्य राख्दै गीतकार दिनेश अधिकारीले शुरूका दिनहरूमा लेखन कार्यमा प्रेरित गर्ने व्यक्ति परशु प्रधान रहेको बताए।सूचना विभागमा सँगै रहेर काम गर्दाको स्मरण पनि गरेका थिए।सम्मानित व्यक्तित्व किरण खरेलका बारे बोल्दै गीत लेख्नुपर्छ गीत बज्नुपर्छ भन्ने मान्यता राख्ने किरण खरेल सबै महादेशमा चिनिएका बताए ।
कार्यक्रममा समाजका संरक्षक पवन आलोकले परशु प्रधान आफ्नो गुरू भएको बताउँदै भोजपुरको वीरेन्द्र हाइस्कुलको स्मरण गरेका थिए।परशु प्रधान प्रधानाध्यापक रहेको बेला आफू शिष्य रहेको बताउँदै उनले परशु प्रधानकी धर्मपत्नी कल्पना प्रधान पनि बाल साहित्यकार भएको बताए।स्वास्थ्य अस्वस्थ भएको कारण कल्पना प्रधान कार्यक्रममा उपस्थित हुन नसके पनि सम्मान स्थापनामा उनको योगदान रहेको र उनका सन्ततिले स्थापना गरेको सम्मान समाजलाई जिम्मा लगाएकोमा आभार प्रकट गरेका थिए।
कवि शैलेन्द्र साकारले दाजु परशु प्रधानको बाल्यकालको स्मरण गर्दै उनको जीवनी संक्षेपमा बताएका थिए।
परशु-कल्पना स्रष्टा सम्मानका संस्थापक परशु सुपुत्र प्रतीक प्रधानले आफ्नो स्वागत मन्तव्यमा कार्यक्रम एउटा साहित्यिक तथा पारिवारिक जमघट भएको बताए।चारजना सन्तानको पालनपोषण र शिक्षा दीक्षाको प्रसङ्गमा उनले साहित्यकै योगदान रहेको बताए।सानैदेखि साहित्यिक वातावरणमा हुर्केको र साहित्यको सम्मान गर्ने सोच रहेको बताए ।
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ’रोदन’ले परशु प्रधान नेपाल स्रष्टा समाजको परिकल्पनाकार तथा स्थापनाकर्ता समेत रहेको बताए।स्रष्टाहरू मरेपछि मरे मरे तर बाँचेकाहरूको समेत खोजी हुने नगरेको तीतो यथार्थ कोट्याउँदै उनले परशु आफू मात्र लेख्ने नभई अरूलाई समेत लेख्न प्रोत्साहित गर्ने भएकाले अहिलेसम्म बाँचेको बताए।परशु-कल्पना स्रष्टा सम्मान अग्रज गीतकार किरण खरेललाई अर्पण गर्न पाएर समाज आफैँ सम्मानित भएको बताए।८७ वर्षीय कालजयी गीतकार किरण खरेलको व्यक्तित्वमाथि समेत उनले प्रकाश पारेका थिए।
समाजकी सदस्य डा.शान्तिमाया गिरीले समाजको गतिविधि र क्रियाकलापमाथि प्रकाश पार्दै हावाहुरी र पानीको अवरोध अवस्थामा पनि उपस्थित हुने सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन्।
सो कार्यक्रमको सञ्चालन समाजका सदस्य प्रदीप सापकोटाले गरेका थिए ।
०००
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)
