उत्तम भौकाजी
हल्का हल्का हावाले
त्यो दिनको सम्झना दिलाईरहेछ
लैजाऊ मलाई फेरि
तिम्रै छाँयामा हराउन मन छ – मलाई ।
फूल यो फूल जस्तो छैन्
काँडा यो काँडा जस्तो छैन्
सबै फरक छन् – समय जस्तै
केवल माया मात्र सधैं उस्तै
त्यो घाम त्यो जून
त्यो पिपलु त्यो छाँया
सम्झना आइरहेछ
पलपल हरपल यहाँ
लैजाऊ मलाई फेरि
तिम्रै मायामा हराउन मन छ- मलाई ।
सम्झन्छु म, त्यो बालापन
खेली हुर्केको त्यो ठाँउ
कहाँ पुगे होलान् खोई !
बच्चामा खेलेका साथी सङ्गीहरु ?
त्यो रुप त्यो रङ्ग
त्यो उत्साह त्यो उमङ्ग
छिन भरमै सकिए जस्तो
कति छिट्टै मक्किए जस्तो
लैजाऊ मलाई फेरि
तिम्रै काखमा निदाउनु मन छ – मलाई ।
०००
गीतकार परिचयः कवि-गीतकार उत्तम भौकाजी साँघुटार, रामेछापमा जन्मेका हुन् र उनी काठमाडौंमा स्थायी रूपले बस्छन् । उनको यात्रामा म पनि (विसं२०६९) प्रकाशित छ । उनका गीतका ३ एल्बम समेत प्रकाशित छन् । उनी अहिले अमेरिका यात्राको क्रममा रहेका छन् ।
