३१ असोज २०८२, काठमाडौं
नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजन गरिँदै आएको कथा वाचन कार्यक्रमको तेइसौं श्रृङ्खला सम्पन्न भएको छ ।
सर्वप्रथम पुनर्जागरण अभियानका एक परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले अतिथिहरूको स्वागत गर्दै कार्यक्रमका उद्देश्यहरूबारे संक्षिप्त प्रकाश पारेका थिए ।
हरेक महिना कुनै दिवंगत स्रष्टाको सम्मानस्वरूप एउटा कथा वाचन गरेर कार्यक्रम शुरु गर्ने गरिए अनुसार यस पटक स्रष्टा भीमनिधि तिवारीको कथा ‘चखेवा चखेवी’ वाचन गरिएको थियो । साहित्यकार समिना खनाल पृथाले उक्त कथा वाचन गरेपछि चार जना प्रतिष्ठित कथाकारहरूले २०४० देखि २०७० को दशकसम्ममा प्रकाशित आआफ्ना कथा वाचन गरेका थिए ।
स्रष्टा निर्मोही व्यासले २०४० को दशकमा प्रकाशित ’स्वयम्भूका आँखाहरू’शीर्षकको कथा, स्रष्टा इन्दिरा प्रसाईले ‘आ बराबर आत्महत्या, आत्महत्या बराबर दुष्यन्त’ कथाकार, बाबा न्यौपानेले ‘रतेली’ तथा कथाकार मानसीले ‘चन्द्रिका’ शीर्षकको कथा वाचन गरेका थिए ।
कथावाचनपछि समीक्षक प्रा डा भरतकुमार भट्टराईले कथाकारद्वय इन्दिरा प्रसाई र बाबा न्यौपानेका कथामाथि, समीक्षक प्रमोद प्रधानंले कथाकारद्वय निर्मोही व्यास र मानसीका कथामाथि सङ्क्षिप्त टिप्पणी गरेका थिए ।
अन्त्यमा अभियानका अर्का परिकल्पनाकार पुष्कर लोहनीले आफूले जीवनमा पत्रकारिता, साहित्यसिर्जना, प्राध्यापनमा लामो समय बिताउँदा धेरै साहित्यकारहरूसँग सङ्गत भई बिभिन्न किसिमका तीतामीठा कुराको अनुभव गर्नपाएको स्मरण गर्दै कुनै समयमा दौलत विक्रम बिष्टको ‘एक साँझ’ शीर्षकको कथा आफ्नो पत्रिकामा छापेबापत जेल जानुपरेको कुरा बताए ।
उपन्यासकार शुकदेव उपाध्यायले सञ्चालन गरेका थिए ।
