१५ भदौ २०८२, चितवन
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले एक विज्ञप्ति प्रकाशित गर्दै रमेश भुसालको ‘छालबाटो’लाई वि.सं. २०८१ सालको पद्मश्री पुरस्कार, नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मालाई
पद्मश्री साधना सम्मान तथा प्रा.डा. अभि सुवेदीलाई पद्मश्री गौरव पुरस्कार प्रदान गर्ने निर्णय भएको जनाएका छन् । यी तीनै पुरस्कार र सम्मानमा तीन लाख नगद राशी रहेको छ ।
विज्ञप्तिमा भनिएको छ, “रमेश भुसालको ‘छालबाटो’ ले कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्णालीको उद्गम र भारतको गङ्गासम्मको यात्रामा कर्णालीको प्रवाह, सीमा सुरक्षा, स्थानीय बस्ती, जलवायु परिवर्तन, वन्यजन्तु, जलविद्युत् र विस्थापनजस्ता गम्भीर विषयलाई नियात्रामार्फत् जीवन्त रूपमा समेटेको छ । प्रतिष्ठानलाई यो पुरस्कार हेतु प्राप्त २०३ पुस्तकहरुमध्येबाट यो पुस्तक पुरस्कृत हुन लागेको हो । प्रतिष्ठानले असार १५ गते विस्तारित सूचि, साउन १५ गते छोटो सूचि र भदौ १५ गते बिजेताको नाम सार्वजनिक गर्ने परम्परा बसालेको छ ।”
पद्मश्री साधना सम्मानको निर्णय सम्बन्धमा विज्ञप्तिमा भनिएको छ “प्रत्येक वर्ष नेपाली साहित्य, संगीत र कलाको क्षेत्रमा दीर्घसाधना गरेर उत्कृष्ट योगदान पुर्याएका दीर्घसाधकलाई प्रदान गरिने पद्मश्री साधना सम्मान यस वर्ष नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शमीलाई अर्पण गर्ने निर्णय गरिएको छ । आफ्नो सम्पूर्ण जीवन भाषा, साहित्य, संस्कृति र कलाको उन्नयनमा समर्पित रमा शर्माका अन्वेषण, समालोचना, जीवनी, निबन्ध, भाषा, बालसाहित्य लगायतका करिब दुई दर्जन पुस्तकहरू प्रकाशित छन् ।
त्यस्तै पद्मश्री गौरव पुरस्कार सम्बन्धमा बिज्ञप्तिमा भनिएको छ, “समाजका विविध क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएवापत प्रदान गरिने पद्मश्री गौरव पुरस्कार यस वर्ष प्रा.डा. अभिनारायण सुवेदीलाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाली र अङ्गेजी दुवै भाषामा कलम चलाउने निबन्धकार, समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि प्रा.डा. अभि सुवेदीका करिब तीन दर्जन कृति प्रकाशित छन् । उहाँ साहित्य सिर्जना तथा समसामयिक लेखनमा अत्यन्तै सक्रिय हुनुहुन्छ । करिब ४० वर्ष त्रिविविमा प्राध्यापन गरेका सुवेदीले युगकवि सिद्धिचरण पुरस्कार, सार्क साहित्य पुरस्कारसहित अनेकौं सम्मान प्राप्त गर्नुभएको छ ।”
यी पुरस्कार र सम्मानहरू हरेक बर्ष कोजाग्रत पूर्णिमाको दिन बिशेष समारोहका बीच समर्पण गर्ने परम्परा रहिआएको छ ।
०००
