भ-याङ (कविता)

मेरो कविताः मेरो रोजाइ

डा. गोबिन्दसिंह रावत

(गोविन्द सीह रावत कवि हुन् । कथाकार हुन् । समीक्षक हुन् । नाटककार हुन् । तर उनको कविता बलवान् छ र तिनले काव्योक निष्ठा कायम राख्छन् । “मेरो कविताःमेरो रोजाई” अन्तर्गत उनको कविता प्रस्तुत छ।)

माथि उक्लनका लागि भ-याङ
तल ओर्लनका लागि
मानिसको जीवनसँग गाँसिएको झै लाग्छ
भ-याङ
जीउनुको पर्यायवाची बनेर

कतिलाई हामीले भ-याङ
बनायौं
आफुमाथि उक्लनका लागि
कतिले हामीलाई भ-याङ
बनायो
आफुमाथि उक्लनका लागि
यो उक्लाई र ओर्लाईमा
हामी भ-याङ
चढ्दै गायौं
हामी भ-याङ
झर्दै गायौं
कहिले आफ्नो स्वार्थमा
कहिले अरुको स्वार्थमा

भ-याङ
चढ्दा चढ्दै लडेर फेरी
भ-याङ
चढेकोलाई पनि मैले देखेको छु
भ-याङबाट लडेर थचारिएर
उठ्नै नकेकोलाई पनि मैले देखेको छु
अझ अरुको बुई चढेर पनि कतिले
भ-याङ
चढेका पनि मैले देखेको छु
तर
लडेर भ-याङ चढेकोलाई
वाहवाही गर्नु भन्दा
हामी अरुको बुई चढेर
भ-याङ
चढेकोलाई स्यावासी दिन्छौं
आफ्नो स्वार्थको कुम्लो भर्नलाई

भ-याङ
एउटा प्रतीक हो हाम्रो संघर्षको
भ-याङ
एउटा खुड्किलाको हाम्रो जीवनको
त्यसैले प्रत्येक खुड्किला चढ्दा
भ-याङमा दृष्टी राख्नु पर्छ
किनभने
भ-याङ
चढ्दा संयमता चाहिन्छ
भ-याङ
ओर्लदा पनि संयमता चाहिन्छ
त्यसैले अरुलाई भ-याङ
बनाएर हैन
त्यसैले अरुको भ-याङ
बनेर पनि हैन
आफ्नो सामथ्र्य र क्षमता देखाएर
आफ्नै बलबुतोमा
भ-याङ चढ्नु पर्छ
होसियार भ-याङ
चढ्दा पनि
होसियार भ-याङ
ओर्लदा पनि
होसियार कतै तपाई कसैको भ-याङ त बन्नु भएको छैन

ooo

कविताको कथा
कविता लेखनबाट नै साहित्यको गोरेटोमा पाईला टेकेको भए तापनि कथा, नाटक, समीक्षा र अधुसन्धान कृतिका रूपमा प्रकाशित छन् तर कविताको पालो आएको छैन । साहित्यकको अरु विधाभन्दा कविता विधा सबैभन्दा गाहे विधा हो । शिखरमा पुगेका कविहरुले कविताको परिभाषा आआफ्नै अनुरुप गरेका छन् । मलाई तुलसी दिवसले कविता जीवन हो यसमा बाँच्न सिक भनेर एकपटक भन्नु भएको सम्झना छ । अनि म पनि कवितामा बाँच्ने प्रयत्न गर्दै आई रहेको छु । कविता चाहेर र चाहेको बेलामा लेख्ने विधा होईन जस्तो लाग्छ मलाई । मेरा साहित्यकर्मी मित्रहरुले आफुले लेखेको पहिलोपटक मलाई सुनाउँदा कविता लेखेको वातावरणका बारेमा जानकारी गराएको सम्झना आलै छ । अशेष मल्ल र दिनेश अधिकारीले पञ्चायत कालमा (२०४० तिर) नयाँ बजेटको विरोधमा हात्ति आयो हात्ति आयो फुस्स र परिवारका लागि माम जोहो गर्न काममा व्यस्त विश्वविमोहन श्रेष्ठले म भात जोडु कि कविता लेखु कविताको पृष्ठभूमि सुनेको थिएँ । कविता मानिसको मनभित्र उब्जिएका तीतामीठा विचारहरुको शाब्दिक चित्कार भएकोले त्यसलाई शब्दमा उतारेर राख्ने गरिन्छ । मेरा कवितामा पनि त्यस्तै धेरै नै पृष्ठभूमिहरु रहने गरेको छ ।
प्रस्तुत भ-याङ कविता मलाई मन पर्ने कविता मध्येको एक हो । जीवनमा विभिन्न चरित्रका मानिसहरुलाई देखेको छु जसले आफ्नो स्वार्थमा अरुलाई भ-याङ बनाएर माथि उक्लने गर्छन् र माथि पुगेपछि अरुले समात्न सक्छ भनेर भ-याङ हटाउने गर्छन । अर्थात आफ्नो काम बनेपछि टाढिदै जान थाल्छन् । जीवनमा मैले धेरैनै उतार चढाव देखेको छु । त्यही अनुभवलाई यस कवितामा समेटेको छु । यो कविता सन् २०१६ (वि.सं. २०७३) मा लेखिएको हो । हामी कतै न कतै कसैलाई भ-याङ बनाएका हुन्छौं भने कतै कसैको भ-याङ पनि बनेका हुन्छौं । यसरी स्वार्थमा भ-याङ बन्दै र बनाउँदै हामी अगाडि बढीरहेका हुन्छौं । भ-याङ एउटा प्रतीक हो मानिसलाई आफ्नो स्वार्थमा प्रयोग गर्ने ।