भानु जयन्तीमा बाल साहित्यका कृतिहरू विमोचित

मुख्य समाचार

२९ असार २०८२, काठमाडौं

भानु जयन्तीको सुअवसर पारेर इन्टरनेसनल स्कुल, धुमवाराहीले एक समारोहबीच बालसाहित्यका दुईवटा कृतिहरू ’नवपालुवाका सम्झनाहरू’ बाल संस्मरणसङ्ग्रह तथा ’पैसा फल्ने रूख’ बालकथा–सङ्ग्रह लोकार्पण गरेको छ ।
लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रमुख अतिथि नेपाल बालसाहित्य समाजका निवर्तमान अध्यक्ष तथा वरिष्ठ बालसाहित्यका स्रष्टा प्रमोद प्रधानले साहित्यको समाजमा गहिरो प्रभाव पर्ने भएकैले तिनको सम्मानमा सालिक बन्ने गरेको बताए ।
त्यसैगरी नेपाल बालसाहित्य समाजका वर्तमान अध्यक्ष विजयराज आचार्यले विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ नयाँ बाल सर्जकहरू जन्मनु खुसीको विषय भएको बताए ।
बालसाहित्य स्रष्टा तथा प्रशिक्षक केशरी अम्गाईले विद्यालय तहमा सिर्जनात्मक लेखनलाई नियमित पठनपाठनका रूपमा समावेश गरी बालबालिकालाई विभिन्न विधामा कलम चलाउन अभिप्रेरित गर्नु आराधनीय कर्म भएको बताए ।
कार्यक्रमका अतिथि लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ’अटल’ले भानुभक्तका केही श्लोक उद्धरण गर्दै नवपालुवाहरूलाई प्रोत्साहित गरे ।
लोकार्पित कृतिमध्ये ’पैसा फल्ने रूख’ अपराजिता तिमल्सिनाको एकल कथासङ्ग्रह हो । यसमा १० वटा कथा रहेको छ । ’नवपालुवाका सम्झनाहरू’ अनुश्री शर्मा, आयुष्मान रेग्मी, काव्य सिम्खडा, पल्लवी ठाकुर, बिहान रोकाया, इभान तुलाधर, अपराजिता तिमल्सिना, आशिया श्रेष्ठ, रजत जेजानी, विराज राई एवम् सौर्यजङ कार्कीको संयुक्त बाल संस्मरणसङ्ग्रह हो । यी दुवै कृतिको सम्पादन साहित्यकार केशरी अम्गाईले गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक अनिरुद्र अर्यालले हरेक विद्यार्थीहरू विद्यालय तहमा नै स्रष्टाका रुपमा चिनाउने योजना रहेको बताए ।