महेशविक्रम शाह

साभार रचना

नकुल सिलवाल 

 

(नकुल सिलवाल सम्पादित “बगर” साहित्यिक पत्रिकाको “उत्कृष्ट दश” विशेषाङ्कमा प्रकाशित ४ विधाका १०।१० उत्कृष्ट रचनासँगै सिलवाल लिखित प्रतिभा परिचय क्रमसः साभार प्रस्तुत गर्ने क्रममा प्रस्तुत छ, “ महेशविक्रम शाह।) 

 

आई. एससी. को विद्यार्थी हुँदा ललिजन रावलले आफ्ना सहपाठी महेशविक्रम शाहलाई मकहाँ लिएर आएका हुन् बीस वर्षअघि ।

हो, बीस वर्षपछि मेरो घरमा हामी तीन जना फेरि भेट भयौं र बीस वर्षअघिको डेरामा भेट हुँदा भएका रमाइला प्रसङ्ग उठे । बिर्सन चाहेर अतीतलाई कसरी भुल्न सकिन्छ र ! राम्रा ‘कथा’ जस्तै झलझल्ती, झन् सम्झ्यो झन् झलझल्ती । बितेका दस-पन्ध्र वर्ष महेशविक्रमले कथा लेखे प्रशस्तै । खुबै छापिए, चर्चित भए । सुदूरपश्चिम नेपालको तराई क्षेत्रका थारू र कमैया पात्रहरूले कथाकार महेशलाई नेपाली कथाजगत्मा अलग्गै चिनारी प्रदान गरेका छन् ।

कथाले कथाकारको परिचय दिनु चानचुने कुरा होइन । यस अर्थमा महेशविक्रम सफल कथाकार हुन् । विदेश भ्रमणमा जाँदा त्यहाँका पात्र र घटनालाई बडो कुशलतापूर्वक आफ्ना कथामा भित्र्याउन सक्नु पनि शाहको अर्को विशेष पक्ष हो ।

नेपाली कथापरम्परा र प्रवृत्तिमा महेश ‘बेग्लै चिनारी’ हुन् । स्रष्टाको काम सृजना गर्नु मात्र नभई उत्कृष्ट सृजना गर्नु चाहिँ असल कर्म हो । चाहेर सबै सफल र विशिष्ट हुन सक्दैनन्, कमैलाई मात्र प्राप्त हुने गुण महेशविक्रम शाहसँग छ । त्यसलाई बचाइराख्न, धानिराख्न गाह्रो पर्नेछ ।

कर्मठ महेश कति राम्रा कथाकार हराएजस्तै नेपाली वाङ्मयमा हराउने छैनन् । यिनको निरन्तर साधनाले नेपाली कथासाहित्यलाई एक थप उचाइ प्राप्त हुनेछ भन्ने आशा गर्न सकिन्छ ।

त्यसो त तीनचारवटा कथासङ्ग्रह लेख्न थालेको दुई दशकमै नेपाली साहित्यलाई प्रदान गर्नु पनि कहाँ कम हो र ! र पनि नेपाली वाङ्मयलाई स्रष्टाहरूले जति जे दिए पनि कमै हुनेछ । त्यसमाथि पनि राम्रा स्रष्टाले असल कृति दिनु चाहिँ थप उपलब्धि हुनेछ ।

२०४८ सालमा प्रकाशित कथाहरूमध्येबाट छनोट गरेर नै महेशविक्रम शाहको ‘तृष्णा’ कथालाई सर्वश्रेष्ठ दसमा फेरि प्रस्तुत गरिएको छ जुन कथाबाट महेशको वास्तविक कथाकारिताको उठान भएको हो ।