शंकर लामिछानेको पचासौं स्मृति दिवस सम्पन्न

मुख्य समाचार

१० माघ २०८२, काठमाडौं ।

शंकर लामिछाने प्रतिष्ठानले साहित्यकार शङ्कर लामिछानेको ५०औं स्मृति दिवसका अवसरमा “शंकर सन्दर्भ” पुस्तकको परिचर्चा कार्यक्रम सम्पन्न ग-यो ।
कार्यक्रमका प्रमुख अतिथि पुष्कर लोहनीले दीप प्रज्वलन सहित शंकर लामिछानेको फोटोमा माल्यार्पण गरेका थिए ।
समालोचक प्रा डा. गोविन्दमान सिंह कार्कीले “पारिजातको शिरिषको फूलको भूमिका शंकर लामिछानेले लेखेकै कारण मदन पुरस्कार पाएको चर्चा सुनेको छु।” भने ।
यसैगरी अर्का समालोचक प्रमोद प्रधानले भने, “जबसम्म हामी पाठकका रूपमा स्थापित हुन सक्दैनौं तबसम्म राम्रो लेखक हुन सक्दैनौं । मैले निबन्ध लेख्न बस्दा गोधुली संसार, एबस्ट्याक चिन्तन प्याज, ताना शर्माको बेलायत तिर बरालिदाको याद आउँछ । जस्ले प्रष्ट पहिचान बोकेर हिंडेको हुन्छ, ती साहित्यकारलाई सम्झन्छौं । बीसजना साहित्यकारभित्र शंकर लामिछाने पर्नु हुन्छ । लामिछानेको अन्तर्वार्ताको उत्कृष्ट संग्रह विम्बप्रतिविम्ब हो । हामी अहिले रहरमा साहित्यकार भएका छौं, लामिछानेले जिम्मेवार भएर लेखे । उनी स्पष्ट र टाढैबाट देखिने नाम शंकर लामिछाने हुन् । उनलाई हाइकु नेपालमा भित्र्याउने लेखकका रुपमा पनि चिन्दछौं ।”
शंकर लामिछाने प्रतिष्ठानका महासचिव नियात्राकार डा दामोदर पुडासैनी किशोरले भने “निबन्ध र साहित्यमा फरक धारमा आएको लामिछाने जति चर्चा हुनुपर्ने त्यो भएको छैन । राज्यले निबन्धका कोशेढुंगालाई बिर्से जस्तो लाग्छ ।”
यसैगरी कवि एवम् पत्रकार भुपेन्द्र खड्काले भने “म शंकरको पाठक भएको नाताले किन पढ्नुपर्छ ? भन्ने सन्दर्भमा चेतन प्रवाह शैली नेपाली साहित्यमा भित्र्याउने सर्जक हुन् । मैले के गर्न सकिन्छ भनेर उहाँका समकालीनहरूसँगका प्रशङ्कोग खोजीमा छु । शंकर पढ्नु भनेको जिम्मेवार पाठक र लेखक हुनु हो भन्ने लाग्छ।”
यसैगरी निबन्धकार श्रीओम श्रेष्ठ रोदनले भने “नेपाली निबन्धका ती धरोहर हुन् जसलाई अन्तर्राष्ट्रिय साहित्यमा पुर्याइयो भने नेपाली साहित्यको ओज र गरिमा बढ्ने थियो । सगरमाथा र बुद्ध मात्रै होइन शंकरका निबन्ध र साहित्यबाट पनि नेपाल चिनिन सक्छ । एकेडेमीले यस्ता धरोहरलाई बिर्सेको छ ।”
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार पुष्कर लोहनीले भने, “मेरो पिताजीको नजिकको मित्र शंकर लामिछाने हुनुहुन्थ्यो । उनका कथा र निबन्ध के भन्ने छुट्याउन गार्हो छ । अब शंकर को भनेर खोज्नुपर्छ, को हो कुमुदिनी भनेर खोज्नु पर्छ। भूमिका सहित हाइकु शिरीषको फूलमा रहेको छ । त्यस्तो लेख्न सक्ने कोही छ ? माया नं ६५३ कथा पढे पछि शंकर लामिछानेलाई चिन्न सकिन्छ ।”
प्रतिष्ठानकी संरक्षक सविता ढुंगानाले सभापतिको आसनबाट सबैलाई उपस्थित भएकोमा धन्यवाद ज्ञापन गरिन् ।
प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै शंकर लामिछानेका निबन्धहरुको अङ्ग्रेजी अनुवादको काम सकिएको बताए ।
कार्यक्रम सञ्चालन कवि यादव भट्टराईले गरेका थिए भने कार्यक्रमको सुरुमा प्रतिष्ठानकी कोषाध्यक्ष वरिष्ठ आख्यानकार पद्मावती सिंहले स्वागत गरेकी थिइन् ।
शंकर सन्दर्भ ग्रन्थको सम्पादन पारशप्रकाश नेपालले गरेका हुन् ।

०००