निर्मोही व्यास पवन आलोक नियात्रा सम्मानद्वारा सम्मानित

समाचार

९ माघ २०८२, काठमाडौं

पवन आलोक नियात्रा सम्मानद्वारा पहिलोपल्ट नियात्राकार निर्मोही व्यास सम्मानित भएका छन् । यस सम्मानका साथ ५० हजार नगद रहेको छ । यस अघि “पवन आलोक नियात्रा पुरस्कार” को रुपमा २५ हजार राशीको पुरस्कार वितरण गरिंदै आएको थियो । यो सम्मान नियात्राकार पवन आलोकका नाममा उनकी धर्मपत्नी रेखा कँडेलद्वारा स्थापना गरिएको हो ।
नियात्राकार निर्मोही व्यासलाई सम्मान समर्पण गर्दै प्रमुख आमन्त्रित व्यक्तित्व घनश्याम राजकर्णिकारले आफूले पनि आधा शताब्दीदेखि यसै विधामा लेख्दै आएकोले ज्यादै खुसी लागेको बताए।
कार्यक्रममा सम्मान स्थापनाकर्ता रेखा कँडेलले स्वास्थ्यका कारण आफ्नो मन्तव्य वाचन गर्न असमर्थ भएकोले उनको लिखित मन्तव्य समाजकी महासचिव भवानी खतिवडाले वाचन गरेर सुनाएकी थिइन्।
सम्मानित व्यक्तित्व निर्मोही व्यासले आफ्नो लेखन यात्राबारे बोल्दै २०१७ सालदेखि साहित्य लेखनमा लागेको र पहिलो रचना पनि नियात्रा नै रहेको बताए।स्रष्टा तारानाथ शर्मा तथा बालकृष्ण पोखरेलको स्मरण गर्दै नियात्राकार व्यासले ती दुई व्यक्तित्वबाट आफूलाई अमोध आशीर्वाद प्राप्त भएको कुरा पनि बताए।मन्तव्यका क्रममा उनले आफ्नो एउटा कविता पनि वाचन गरेर सुनाएका थिए।
कार्यक्रममा समाजका पूर्व अध्यक्षहरू चन्द्रप्रसाद भट्टराई, प्रतीक ढकाल,नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन तथा पवन आलोक नियात्रा पुरस्कारबाट सम्मानित भइसकेकी ईल्या भट्टराईले नियात्राकार व्यासको व्यक्तित्व तथा कृतित्वमाथि संक्षेपमा प्रकाश पार्दै शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा नियात्राकार विष्णुप्रसाद शर्मा पराजुलीले स्वागत मन्तव्य राखेका थिए।मन्तव्यका क्रममा उनले नियात्राको अध्ययन गर्ने,विश्लेषण गर्ने सिद्धान्त बनाउनु पर्ने कुरामा जोड दिँदै नेपाली भाषामा लेखिएका नियात्रा कृतिहरूलाई अन्य भाषामा समेत अनुवाद गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्याउनु पर्ने कुरा बताए।
सभापतिको आसनबाट बोल्दै नियात्रा समाज नेपालका अध्यक्ष मोहन चापागाईंले धन भन्ने कुरा भोग गर्ने र दान गर्ने हो।रेखा कँडेलले पनि धन दान गरेरै सम्मानको काम गरेको बताउँदै दान गर्ने संस्कार वृद्धि हुँदै जाओस् भन्ने कामना पनि प्रकट गरेका थिए।
सो कार्यक्रमको सञ्चालन समाजकी महासचिव भवानी खतिवडाले गरेकी थिइन्।

०००
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)