उदय निरौला
मन भीडको भर्याँङ्
चडिरहन नै रमाउँछ
भाग्नुहोस जति एकान्त
तपाईं हतपत एक्लै पाउनुहुन्न
मन भीडतिरै भेट्नु हुन्छ ।
जब तपाईं भीडमा पनि
आँफूलाई एक्लै भेट्नुहुन्छ
भीड तपाईं पछि लाग्नेछ
र तपाईं अघि अघि हुनुहुनेछ
र भीड पछिपछि पछ्याउन थाल्नेछ।
त्यो बखत या तपाईंको भीडले स्तुति गर्नेछ
या त ढुंगा हान्दै हान्दै भीडले तपाईंलाई लखेट्ने छ।
जसरी पनि त्यसबखत तपाईं अघि र भीड पछि हुनेछ।
भीडको भाषा बढो बिचित्रको पाउनु हुनेछ
ढुँगाले हाने पनि
स्तुति गरे पनि
भीडबाट अलग भए पछि बिजय तपाईंको नै हुनेछ ।
भीडबाट अलगहुनु आमदब्लम चड्नुभन्दा बढ्तै कठिन छ
सोध्नुस् त!माथि अग्ला पर्वततिर गुफामा ध्यानस्थ योगीहरूलाई
पर्वत चडिरहेका आङछिरिङ र आङरिताहरूलाई
उनीहरू एक्लाएक्लै शिखर पुग्छन्
अपितु भीड उनीहरूकै पछिलाग्छ।
भीड टाढा अमेरिका,युरोप जापानदेखि
तिनीहरूलाई पछ्याउँदै आउँछ जान्छ
एक भीडले छोडी जान्छ
अर्को भीड पुनः तिनलाई पछ्याउँदै आउँछ।
भीड परिणामत:कर्मको उपज रहेछ
र एकान्त पनि कर्मकै उपज रहेछ
असनको भीडमा एक्लै बन्नसक्नु
र माथि पर्वतमा उकालोमा ओरालोमा भीड बनेर रमाउन सक्नु
सुन्दर सुनाखरी टिप्नु
लालिगुराँस शिरमा सिउरनु
अनि कनकचम्पा बनेर सुवास फैलाउनु
आङरिता र देवकोटा एकैचोटि र एकैपटक हुनसक्नु
यथार्थमा जीवन हो कि?हो कि?
जस्तो ।
सायद यसको उत्तर पहरामा उम्रिएको खरुकीलाई
धँगेरो अनि सालिम्बोलाई सोध्नुपर्छ
कसरी पहरामा पनि तिनीहरू मुस्काइरहेकाछन्?
र हामी शहर बजार र अझ विदेशी ठूलाठूला
डाउनटाउन पुगेर पनि भीडमा
नपुगेर पनि भीडमा ।
कठै !मान्छे सदैव भीडमा
एक्लै भीडमा
अनि भीड नै भीर बनिरहँदा पनि रमाउने
अनि परिणाम भीड काँडो बनेर दुख्ता पनि पुनः जुलुस नै चाहने
कस्तो कस्तो !
कट्मिरो टर्रो हलुवाबेत जस्तो
नपाकेको काँचो मेल जस्तो ।
०००
लेखक परिचयः उदय निरौला मूलत कवि हुन् । ईलामको देवनछाप, इरौंटारमा जन्मेका उनी भक्तपुरमा बसोवास गर्छन् । कविता र निबन्ध,संस्मरण र नियात्रामा कलम चलाउने उनका कविता संग्रहहरु कोलाहल पिएर (२०४९), जराहरू किमार्थ मर्दैनन् (२०५४), शीतको मफलर( २०६०), उदय निरौलाका प्रतिनिधि कविताहरू (२०६५), अस्ताउँदो सुर्य टेकेर (२०७८) तथा कोर्दै/मेट्दै (२०५३) निवन्ध सङ्ग्रह प्रकाशित छन् ।
