सँजाय

Uncategorized

लीलाराज दाहाल

वनमा बसोबास गर्ने सबै प्रजातिका वन्य जन्तुहरुले सिंहको अध्यक्षतामा भव्य भेलाको आयोजना गरे ।

समसामयिक समस्याहरुका बारेमा छलफल गर्न भेलाको आयोजना भएको थियो । सिंहले आआफ्ना गुनासा र समस्या खुलस्तसँग राख्न आव्हान गर्यो ।

एउटी बाख्रीले भनी, “हुन त म घर पालुवा स्त्री जनावर हुँ । तपाईहरुको राज्यमा चर्न भनेर आएकी थिएँ ।  त्यो उन्मत्त पुरुष जनावरले मलाई बलत्कार गर्यो । म अन्यायमा परें । क्षतिपूर्ति सहितको न्याय चाहियो !”

लगत्तै एउटा स्यालले भन्यो, “मेरै जातिको धूर्त स्यालले मेरो छोराको अपहरण गर्यो । उसले फिरौती मागेको छ ! ”

यत्तिकैमा हरिण उभियो र आफ्नो कुरा भन्न थाल्यो, ” त्यो छट्टुले मेरो छोरालाई बैदेशिक रोजगारीमा पठाई दिन्छु भनेर परिपञ्च गर्यो । लोभ देखाएर ठगी गर्यो । साह्रै अन्यायमा परियो !”

यसैगरी अन्यले पनि हत्या,आतङ्क, चोरी तस्करी, वातावरण प्रदुषण लगायतका समस्याहरुको उठान गरे !

सबैको कुरा सुनिसकेर सिंहले एकपटक टाउको हल्लायो ।

सबैको ध्यान सिंहतिर गएको थियो । सिंहबाट हुने निर्णयको पर्खाइमा थिए सबै ।

अन्तमा सिंहले ती पीडकतिर हेरेर गम्भिरतापूर्वक भन्यो, “तिमीहरुले मानिसहरुको बानी, व्यहोराको सिको गरेकोमा पहिला तिमीहरुलाई दण्ड दिने घोषणा गर्दछु !”

000

कथाकार परिचयः लीलाराज दाहाल परवानीपुर, सर्लाहीमा जन्मेका हुन् र हाल वागमती नगरपालिका ११, जिल्ला सर्लाही हुँदै हाल ललितपुर बस्छन् । उनी कथा, लघुकथा, गजल, मुक्तक बिधामा रचना गरिरहेका छन् र ती फूटकर रुपमा बिभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।

 

 

Leave a Reply