जया ओझा
मान्छेको वास्तविक शृङ्गार शुध्द, उच्च कर्म हुन्छ
दीनदुखीको सेवा गर्नु मानवीय धर्म हुन्छ
मानप्रतिष्ठा, धनसम्पत्ति शाश्वत केही पनि छैन
सारा संसार जगत् मिथ्या एउटै सत्य ब्रह्म हुन्छ
लोग्नेस्नास्नी, आमाबाबु, सन्तान आफ्ना र आफन्त
नातागोता, मायामोह भन्नु सबै भर्म हुन्छ
जहाँ वास्ता गरिँदैन त्यस्तो ठाउँमा नजानू वेश
आत्मसम्मान गुमाएर बाँच्नु पनि सर्म हुन्छ
मलामी र जन्ती हुन सकेसम्म सरिक हुनु
छिमेकीमा अैँचोपैंचो गर्ने अर्मपर्म हुन्छ
भौतिक शरीर क्षणभङ्गुर छ पक्कै छोडी जानेछ यो
परमात्मामा मिलन हुनु यही आत्माको मर्म हुन्छ
गजलकार परिचयः जया ओझा ओझा साहित्यका कविता, गजल, उपन्यास लगायतका बिधामा कलम चलाउँछिन् । उनी विसं २०५७ सालमा त्रिसुली प्रवाहमा “आमा” शिर्षक कविता प्रकाशन सगै साहित्यिक लेखन अघि बढेकी हुन् । उनका “आवरण”(२०७३), “अनुराग”(२०७८) तथा “रुमानी”(२०८०) तीन उपन्यासहरु प्रकाशित छन् । नुवाकोटमा जन्मेकी उनी हाल काठमाडौंमा वसोवास गर्छिन् । प्रस्तुत गजल उनको प्रकाशनको तयारीमा रहेको “श्रृङ्गार” मा समावेश छ ।
