श्रध्दाञ्जलि संस्मरण: साँझै नपरी अस्ताएको घाम

व्यक्ति बृत्त

दिव्य गिरी

सन् १९७१ मा निर्मित भारतीय हिन्दी सिनेमा ‘अन्दाज’मा गायक किशोर कुमार र गायिका लता मँगेशकरले गाएको मलाई अत्यन्त मनपर्ने, कर्णप्रिय, जीवन्त र सदाबहार गीत छ – जिन्दगी एक सफर हे सुहाना, यहाँ कल क्या हो किसने जाना…। त्यस समयका हिन्दी सिने जगतका सुपरस्टार राजेश खन्ना र ड्रिम गर्ल नामले चर्चित हेमालिनी अभिनित उक्त सिनेमाको त्यो गीत मलाई निकै मनपर्ने मात्र होइन कि त्यसले त्यतिवेला मलाई झक्झकाउन थाल्छ जतिवेला अकस्मात कसैको जीवनलीला नै समाप्त भइदिन्छ । जिन्दगीमा त्यो ‘कल’ अर्थात क्षण वा समय अहिले पनि हुनसक्छ, भोलि पनि हुनसक्छ अर्थात जतिखेर पनि हुनसक्छ । गीतको मूल आसय र भाव पनि यही हो । कसैको पनि जिन्दगीमा भन्नै सकिन्न कहाँ कहिले के हुन्छ । वास्तवमा जिन्दगीको न ठेगान छ न त भरोसा नै । मेरो २०३८ सालमा प्रकाशिक कङ्काल बस्ती शीर्षकको मुक्तकसङ्ग्रहमा तीन हरफीय जापानी शैलीको एउटा कविता छ –

देहसँग छायाँ हुन्छ

त्यही छायाँसँग अल्झिरहेको

मृत्युको दोछायाँ हुन्छ ।

वास्तवमा मृत्यु हरेक क्षण जीवनसँगसँगै हिँडिरहेको हुन्छ । त्यसले कतिखेर आफ्नो क्रुर पञ्जाले जीवनलाई अठ्याउँछ त्यसको अनुमान नै गर्न सकिन्न । एक हप्ता पहिलेको कुरा हो । काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा ब्रेनको अपरेसन गराएर उपचार गराइरहेका पेशल आचार्यलाई गत असार २१ गते बिहिबारका दिन मेरा दुई अभिन्न साहित्यिक मित्र बिमल भौँकाजी र महेश प्रसाइँले हेरेर आएपछि बिमलले फेसबुकमा पेशलको अस्पतालमा उपचार भइरहेको र उनी बोल्न नसक्ने अवस्थामा पुगेको समाचार सामाजिक सञ्जालमा राखेका रहेछन् । साँझपख मैले त्यो समाचार देखें । लगत्तै म भोलिपल्ट बिहान पेशललाई हेर्न अस्पताल गएँ । त्यो दिन उनलाई बिहान ९ बजेदेखि ह्वीलचेयरमा राखेको रहेछ । एक तमास टकटकी लगाएर हेरेर बसिरहेका पेशलको नजिकै गएर मैले ‘पेशलजी म दिव्य गिरी, चिन्नु हुन्छ ?’ भनेपछि उनले आँखा अलिक ठूलो पारे । त्यो देखेर बोल्न मात्र नसकेको, होस चाहिँ रहेछ भन्ने मलाई लाग्यो । मैले उनकी पत्नी गीतासँग कुरा गर्दा उनले पेशलको अपरेसनपछि पनि ब्रेनमा पानी जम्ने समस्याले दु:ख दिइरहेको छ भन्नुभयो । त्यो सुनेपछि मेरो मन खिन्न भयो । अनि मैले दिल्लीतिर लानुपर्ने थियो कि भनें । मेरो जिज्ञाशाको जवाफमा उहाँले मद्दत पनि चाहियो, खर्चको पनि कुरा छ भन्नुभयो । अनि मैले सोचें यो प्राइभेट अस्पतालमा महिनौं दिन राखेर उपचार गराउँदा निकै खर्च लागिसक्यो होला । तर विरामीको अवस्थामा खासै सुधार नभएको र अझै कति दिन उपचारमा राख्ने हो त्यसको पनि टुँगो थिएन । जबसम्म ब्रेनमा पानी जम्ने समस्या समाधान हुँदैन, तबसम्म उपचार लम्बिरहन्छ ।

नर्सहरू आएर पेशललाई बेडमा राख्ने व्यवस्था गर्न लागे । उनलाई बेडमा सुताइसकेपछि मैले देखेँ पछाडि फिलामा घाउ पनि भइसकेको रहेछ । त्यति बेला बिहानको एघार बजिसकेको थियो । म त्यहाँबाट हिँडे । पेशलको अवस्था देखेर बाटोभरि मनमा चिन्ता लागिरह्यो । एकजना साहित्यिक भाइ पेशल मलाई दाजुजस्तै मानेर अत्यन्त माया गर्थे उनी । उनको उपचारको निम्ति केही व्यवस्था गरिदिन पाए राहत मिल्थ्यो कि भन्ने सोचें । जडिबुटीमा आएर महेश प्रसाइँलाई फोन गरें । यदि उनी घरमै रहेछन् भने भेटेर कुरा गर्नुपर्‍यो भनेर । उनी बिजुलीको पैसा तिर्न मिनभवनमा गएका रहेछन् । मैले ‘जरुरी कुरा छ, आजै भेट्नु छ’ भनेपछि उनले ‘’काम सकेर तुरुन्त आउँछ, बसिरहनुस्’ भने ’ म एउटा बेकरी चिया पसलमा उनलाई पर्खेर बसिरहेँ । करिव आधा घन्टापछि महेश आए । मैले पेशलको रोग र उनी जटिल अवस्थामा पुगेकोले उपचारको  निम्ति आर्थिक सहयोग जुटाउने बारे कुरा राखें । उनले भने –‘’व्यक्तिपिच्छे पाँचसय/हजार उठाएर काम छैन, उठाउन पनि गाह्रो हुन्छ । सबैको उस्तै विचार हुँदैन, बरु भोलि शनिबार भएकोले पर्सि आइतबार प्रज्ञामा गएर कुलपतिसँग कुरा गर्ने र त्यो भन्दा पहिले पेशलको श्रीमतीसँग अनुमति लिनुपर्छ, नसोधी गर्नु हुँदैन ।’ मलाई उनको कुरा मनासिव लाग्यो । हामी त्यही निष्कर्समा पुग्यौं । मलाई महेशजीले मेरो घरसम्म मोटरसाइकलमा छोडिदिनुभयो ।

पर्सिपल्ट २४ गते आइतबार बिहान महेश र म दुबै जना अस्पताल गयौं । पेशल बेडमा नै सुतिरहेका थिए । हामीले आर्थिक सहयोग जुटाउनेबारे पेशलको श्रीमति गीतासँग कुराकानी गरेपछि उहाँसँग अनुमति लिएर हामी एकेडेमी गयौं । कुलपति भूपाल राईसँग पेशलको रोग, उनको अवस्था र उपचार खर्चबारे कुरा गर्यौँ । उहाँले सक्दो खर्च दिने कुरा गरेपछि उपचार खर्च सम्बन्धी एउटा तयारी निवेदनको फारम लिएर हामी फेरि अस्पताल गयौँ । त्यहाँबाट आवस्यक कागपत्र लिन टीकाथलीस्थित पेशलको घरमा गयौं अनि उनकी कान्छी छोरी शुभेच्षा र छोरा आरम्भसँग भेटेर त्यहाँ नै फाराम भर्‍यौँ । सोमबारको २५ गतेका दिन म दिनभर पाटन अस्पतालमै रहनु परेकोले मँगलबार शब्दाङ्कुरका धीरकुमार श्रेष्ठसहित महेशजी र म अस्पताल गयौं । त्यही दिन पेशललाई मेडिसिटी लैजाने कुरा भएको रहेछ । अस्पतालबाट आवश्यक बील र सिफारिस पत्र लिएर महेश र म फेरि एकेडेमीमा गई कुलपतिसँग भेट्यौँ र निवेदन दियौं । उहाँले आजै रकम स्वीकृत गरिदिन्छु भनेपछि हामी बिमल भौँकाजीको घरमा गयौँ । धीरकुमारलाई हामीले बिमलजीको घरमा बस्न भनेका थियौं । हामी बिमल भौंकाजी, महेश प्रसाइँ, धीरकुमार श्रेष्ठ र मसमेतले त्यहाँ थप उपचार खर्च जुटाउनेबारे छलफल भयो । हामी तेहीँ छँदा एकेडेमीले उपचार खर्च बापत पचास हजार रकम स्वीकृत गरिसकेको खबर राधा कार्कीले दिनुभयो ।

भोलिपल्ट आर्थिक सहयोग जुटाउनका लागी पेशलको श्रीमतीसँग बैंकको नाम र बचत खाता मागेर मैले बिमल भौंकाजीलाई मेसेन्जरमा पठाईदिएँ । बिमलजीले तत्काल सामाजिक सञ्जालमा पेशलको उपचारको निम्ति सहयोग गरिदिन सार्वजनिक सूचनासहित बानेश्वरस्थित राष्ट्रिय बाणिज्य बैंकमा रहेको पेशलको श्रीमती गीताको बचत खाताको नम्बर राखिदिनुभयो । त्यो समाचार पढेपछि साहित्यकार शुभाषचन्द्र पौडेलले तत्काल पाँचहजार रुपैयाँ र अर्को एकजना अपिरिचत व्यक्तिले एक हजार रुपैयाँ बैंक खातामा जमा गरेको रसिद मेरो मेसेन्जरमा आयो । भोलिपल्ट शब्दाङ्कुरका सम्पादक धीरकुमार श्रेष्ठले शब्दाङ्कुरको नामबाट पाँचहजार राखिदिएको कुरा मलाई भन्नुभयो । त्यसको दुईदिनपछि अभिव्यक्तिका सम्पादक नगेन्द्रराज शर्माले पनि आर्थिक सहयोग दिनको निम्ति पेशलकोबारेमा मसँग सोध्नुभयो र केही उपचारको निम्ति केही रकम दिने बताउनु भयो । मैले पेशलको भैंसेपाटीस्थित मेडिसिटीमा उपचार भइरहेको जानकारीसहित सम्पर्कको लागि पेशलकी पत्नी गीताको मोबाइल नम्बर दिएँ । मेडिसिटीमा उपचारपछि पेशललाई बिसेक होला भन्ने ठूलो आशा थियो हामी सबैको ।

बिगत एक महिनादेखि भन्दा बढी समय ब्रेन अपरेसन गरेर काठमाडौंको माइतिघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गराएपछि ललितपुरको भैंसेपाटीस्थित नेपालकै अत्याधुनिक मेडिसिटी अस्पतालमा थप उपचारको निम्ति लगिएको थियो । प्रज्ञाप्रतिष्ठानले उपलब्ध गराएको पचास हजारको चेक बुझ्न कान्छीछोरी शुभेच्छा गएकी थिइन् तर मञ्जुरनामा नभई चेक लिन नमिल्ने भएपछि मैले नै मञ्जुरानामा ल्याइदिने जिम्मा जिएपछि आर्थिक प्रशासन शाखाले चेक शुभेच्छालाई हस्ते सही गराएर चेक दिएको थियो । असार ३१ ग्ते आइतबार बेलुका मञ्जुरनामामा सही गराउन म पेशलको घरमा गएँ । गीता म्याडमले एक दुई दिनमा किमो र रेडियसन थेरापी सुरु गर्ने भनेको छ अस्पतालले भन्नुभयो । मैले मञ्जुरनामामा छोरीको नाम र उहाँको सही गराएर भोलि मञ्जुरानामा प्रज्ञामा लगिदिन्छु भनेर फर्किएँ ।

श्राबण १ गते सोमबारका दिन प्रज्ञाप्रतिष्ठानमा जनकविकेशरी धर्मराज थापाको जन्मशताब्दीको आरम्भ र केही पुरस्कार विरणको कार्यक्रम थियो । मलाई त्यो कार्यक्रममा निम्ता थियो । त्यस दिन सर्वप्रथम प्रज्ञाको आर्थिक प्रशासन शाखामा गएर मञ्जुरनामा दिएँ र केही समयपछि कार्यक्रममा गएँ । कार्यक्रम सकिन झन्डै दिनको साँढे चार बज्यो । बेलुका म घर पुग्दा झन्डै साँढे पाँच बजिसकेको थियो । त्यसको आधा घन्टापछि कोलकातामा बसेर नेपाली साहित्य, संस्कृति र धेरै धार्मिक संघ संगठनका संस्थापक हुनुभएका गणेश कुमार प्रधानजीले फोनबाट पेशल आचार्य नरहनुभएको खबर थाहा पाएपछि मलाई फोन गरेर सोध्नुभयो । अचानक पेशलको निधनको खबर सुनेर सामाजिक सञ्जाल खोलेर हेरें । मैले सामाजिक सञ्जाल खोल्नुभन्दा ३८ मिनेट अघि न साहित्यकार प्रोल्लास सिन्धुलीयले पेशलको असामयिक अवसान भएको खबर राख्नुभएको रहेछ । तब भने मलाई त्यो दु:खद खबरलाई विश्वास गर्न करै लाग्यो । मैले बिमल भौंकाजी र धीरकुमारलाई फोन गरें । उहाँहरूले पनि त्यो दु:खद खबर थाहा पाइसक्नुभएको रहेछ । झमक्क साँझ परिसकेको थियो । घाटमा जानुपर्ने भनेर महेश प्रसाइँलाई फोन गरें । उनी रामेछापतिरकै एकजनासँग मोटरमा गइसकेका रहेछन् । त्यसपछि धीरकुमारलाई फोन गरें । पानी पर्न थालिसकेको थियो । बादलको स्थिति हेर्दा ठूलै वर्षा हुने संभावना थियो । म फटाफट धीरकुमारको घर गएँ । हामी दुबै उहाँकै मोटरमा जाँदै थियौं । पानी बेजोडले पर्न थाल्यो । मोटरको सिसामा बाफ जमेर अघिल्तिरको दृश्य निकै धमिलो देखिन थाल्यो । धीरजीलाई मोटर चलाउन गाह्रो भयो । पूरै अँधेरोमा अघिल्तिर केही नदेखेपछि मोटर चलाउन सम्भव नै भएन । सिसा खोल्यो भने पानी भित्र आउने नखोले बाफले सिसा नै ढाकि दिने । बाहिरको पानी त वाइपरले सफा गर्दथ्यो तर भित्रको बाफ जमेको हटाउन नसकिने । एकछिन पर्खियौं र फेरि अगाडि बढ्यौं । पानी झन्झन् दर्किन थाल्यो । पानी रोकिएला भनेर एकछिन छेउ लागेर बस्यौं । महेश प्रसाइँ घाटमा पुगिसक्नु भएको थियो । मैले फोनबाट हामी आउन नसक्ने स्थितिको जानकारी गराएँ । पानी रोकिने सम्भावना नै देखिएन । त्यसपछि हामीले यस्तो अवस्थामा नजानु नै ठिक होला भनी फर्कियौं । मौसम र प्राविधिक कारणले गर्दा हामी घाटमा जान सकेनौं । मन खिन्न भयो ।

महालक्ष्मी नगरपालिका वडा नं. ५, टीकाथलीमा मेरो घरभन्दा केही पर घर बनाएर बसेका पेशल मन्थलीबाट घर आएपछि मसँग भेट गरेर साहित्यबारे कुराकानी गर्दथे । आफ्नो लेखनका साथसाथै तीनजना छोराछोरीहरूलाई आफूले सक्षम बनाउन सफल गएकोमा खुसी र गर्व गर्दथे । २०३६ सालदेखि साहित्य लेखन र २०४२ सालदेखि अखबारी लेखनमा लागेका उनी विशेषगरी नेपाली राजनीति र त्यसले पारेको नकारात्मक प्रभावप्रति व्यङ्ग्य गर्दै समसामयिक लेखहरू पनि लेखिरहन्थे । विशेषगरी उनले केही राजनीतिक व्यङ्ग्यसमेटिएका लेखहरू लेखेर अनलाइन पत्रिकामा राखिरहे । बेलाबेलामा साहित्कि कृतिहको प्रकाशन पनि गरिरहे । साँच्चै भन्नुपर्दा नेपाली साहित्यमा एक दर्जन साहित्यिक कृति दिएर साहित्यको क्षेत्रमा आफूलाई स्थापित गराइसकेका पेशलका अरू दुई दर्जन कृतिहरूले प्रकाशनको साइत कुरेर बसेका छन् । कमिलाको ताँती (बालसाहित्य, २०६०), विद्यालयस्तरीय निबन्ध (२०६५), किस्ताको कम्पुटर (२०६६), जून मामा जून (२०७२), मनको दैलो खोल (२०७२) र ब्याक बेञ्चर (निबन्ध) जस्ता महत्वपूर्ण कृति प्रकाशित गरेका पेशलले उत्कृष्ट कवि, परिवेश पुरस्कर (२०५१), तृतिय, कविता महोत्सव, धरान (२०५३), उत्कृष्ट कवि (सम्मान) वीवीसी लण्डन (२०५४), प्रथम, कविता महोत्सव, धरान (२०५५) र राष्ट्रिय शिक्षा पदक (२०६८) बाट पुरस्कृत र सम्मानित भएका थिए । शिक्षामा एम्.ए. र बी.एड् गरेका पेशलको देशको वर्तमान राजनीतिकप्रति पनि निकै चासो र अभिरुची थियो ।

मलाई पेशल आचार्यसँग परिचय गराईदिने मित्र हुन् महेश प्रसाइँ । तिथिमिति यकिन नभए पनि आजभन्दा नौ दस वर्ष पहिले एकदिन महेश र पेशल आचार्य मेरो घरमा आउनुभयो । परिचय र सोधपुछ गर्दा थाहा भयो पेशल पनि मेरै गाउँ टीकाथलीमा घर बनाएर बस्नुभएको रहेछ । उनको घर वडा नम्बर ४ मा र मेरो वडा नम्बर ५ मा । मूल सडकले छुट्याएको थियो हाम्रो वडालाई । उनको घरसम्म जान मलाई दस मिनेट लाग्ने । उनले आफ्नो घर बनेको ठाउँबारे जानकारी दिएपछि मैले अन्दाज लाइसकेको थिएँ । म त स्थानीय व्यक्ति भएकोले उनको घर कहाँनेर छ भन्ने थाहा पाउन गाह्रो भएन । पहिलो पटकको भेटमा नै उनको स्पष्ट धारणा र विचार सुनेर म उनीबाट निकै प्रभावित भएको थिएँ । शिक्षण पेशा र साहित्य लेखनमा लागेको व्यक्तिको सरलपन र स्पष्ट विचार हुनु स्वभाविकै थियो । उनी मन्थलीको मन्थली माध्यमिक विद्यालयमा पढाउने हुँदा उतै बस्दथे ।

केही समयपछि उनी काठमाडौं आएको बेला उनले बताए अनुसारको घर खोज्दै गएँ । सडकबाट अलिकति भित्र एक तलाको घर रहेछ । संयोग पनि कस्तो भने उनले घर बनाएको त्यो जग्गा मेरो काहिँलाबाले बेच्नुभएको रहेछ । मूल सडकदेखि तलसम्म जम्माजम्मी नौ रोपनीको एउटा विशाल धान खेतको फाँटलाई पाँच खण्डमा विभाजन गरेर हजुरबाले ५ जना छोराहरूलाई अंश भाग लगाउँदा काहिँलाबा र हाम्रो जग्गासँगै परेको थियो । मैले त्यो कुरा पेशललाई भनें । त्यो दिन केही समय उनीसँग साहित्यिक कुराकानी गरेर म फर्किएँ । पेशाको सिलसिलामा पेशल मन्थलीमै बस्ने भएकोले हाम्रो भेटघाट विरलै हुन्थ्यो ।

अङ्ग्रेजी तारिख डिसेम्बर ३१, २०१६ का दिन हामी सामाजिक सञ्जालमा साथीसाथी भयौँ । त्यसपछि त्यही सामाजिक सञ्जालमा उनीसँग बेलाबखत सम्पर्क हुन्थ्यो । हालखबर लेखन र सञ्जोविसञ्चो बारे जानकारी लिइन्थ्यो । त्यस बखत म मेरो पहिलो कवितासङ्ग्रह ‘हराएका इलाकाहरू’ को प्रकाशनको तयारीमा लागेको थिएँ । पेशल मेरो कविता प्रकाशित भयो कि भनेर मेसेन्जरमा सोधिरहन्थे । बि.सं. २०७३ साल कार्तिक १३ गतेका दिन मेरो उक्त कवितासङ्ग्रहको विमोचन हुने भएपछि मैले पेशललाई निमन्त्रणा पठाएँ । उनले आफू उपत्यकाभन्दा बाहिर रहेकोले उपस्थित हुन असमर्थ भएकोले मेसेञ्जरमै काव्यात्मक शुभकामनालाई सस्वरमा पठाए । केही समयपछि उनी काठमाडौं आएको बखत मैले उक्त पुस्तक उनलाई उपलब्ध गराएँ ।

यसरी पेशल आचार्य र मेरो साहित्यिक मित्रताको गाँठो कसिँदै गयो । मेरो क्षेत्रमा अन्य साहित्यकारहरू कोही थिएनन् । मेरो गाउँमा प्रत्यक्ष देखिने साहित्यकार म मात्रै थिएँ । त्यसैले गाउँमा साहित्यिक सत्सँग गर्ने कोही पनि थिएनन् । सबैभन्दा पहिले कोटेश्वरको नरेफाँटमा आएर बसेका महेश प्रसाइँ एकमात्र थिए । महेश प्रसाइँ विराटनगरमै रहँदा पत्र मार्फत हाम्रो सम्पर्क भइरहन्थ्यो । संयोगले उनी काठमाडौंमा त्यो पनि मेरो गाउँभन्दा पारितर्फको नरेफाँटमा महेश प्रसाइँले घर किनेर बस्न आइपुग्नु भयो । धेरै समयपछि इमाडोलको सीतापाखामा आएर कृष्ण प्रधान बस्नुभयो । त्यसपछि इमाडोलकै बोजेपोखरीमा निर्मोही व्यास अनि पछि लोहक्लिथली (लोकन्थली)को मनहरा फाँटमा शब्दाङ्कुरका सम्पादक धीरकुमार श्रेष्ठ आउनुभयो । पछिल्लो समयमा कोलकातामा जागीरका साथसाथै साहित्य, संस्कृति र समाजसेवा गर्नुभएका गणेशकुमार प्रधान र डा.रमेश शुभेच्छु पनि टीकाथली वडा नम्बर ५ मै घर किनेर बस्नुभएको छ । उनीहरूको घर मेरो घरबाट पाँच सात मिनेटको दुरीमा रहेको छ । यसरी हामी केही साहित्यकारहरूको सङ्ख्या बढ्दै गयो ।

टीकाथली वडा नं.४/५ र इमाडोल वडा नं. १/२ का स्थानीय बासिन्दा मिलेर २०५८ सालतिर त्रिपुर संगम समाज नामको एउटा संस्था स्थापना गरेका थियौं । केही साहित्यिक मित्रहरू पनि त्यस क्षेत्रमा बसोबास गर्न थालेपछि मैले पनि आफ्नो क्षेत्रमा साहित्यिक गतिविधि गर्न त्रिपुर साहित्य समाज नामको साहित्यिक संस्था पनि खोलेर केही समय साहित्यिक कार्यक्रम, पुस्तक विमोचन र सम्मानका कार्यक्रमहरू पनि संचालन गरेको थिएँ । विविध कारणले त्यसलाई निरन्तरता दिन सकिएन । शिक्षण पेशामा मन्थलीतिर नै बस्नु पर्ने कारणले गर्दा पेशल आचार्यले आक्कल झुक्कल मात्र हामीलाई साथ दिन पाउनु भएको थियो ।

पेशल आचार्य मन्थलीमा रहे पनि हामी सामाजिक सञ्जालमा समय समयमा जोडिन्थ्यौँ । एकले अर्काको लेखनी बारे सोधखोज गर्दथ्यौं । २०७४ साल पौष महिनाको ७ गते मन्थलीमा आयोजित उपन्यासकार ‘जगदीश घिमिरे स्मृति चौथो साहित्यिक सभा, २०७४’ मा मैले पनि भाग लिने सुअवसर पाएको थिएँ । त्यस कार्यक्रको सञ्चालन पेशल आचार्यले गरेका थिए । उनले कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गरेको देखेर पेशल लेखक मात्र नभएर एउटा कुशल उदघोषक पनि रहेछन् भन्ने मैले अनुभव गरें । दुई दिनको बसाईमा त्यहाँ पनि मैले उनीसँग सँगत गर्न पाएँ । त्यसपछिका दिनहरूमा उनी आफ्ना अनलाईन र अन्य पत्रपत्रिका प्रकाशित लेखहरू मेसेन्जरमा मलाई पठाइरहन्थे । २०७४ साल भदौ १ गते उनले मसँग अन्तर्वार्ता लिनको लागि मेरो इमेल ठेगाना मागे । केही समयपछि उनले अन्तर्वार्ताको लागि तयारी प्रश्नहरू पठाए । उनले मेरो त्यो अन्तर्वार्ता साहित्यिक मासिक पत्रिका शब्दाङ्कुरमा प्रकाशन गर्नको निम्ति लिएका थिए । मैले ढिला नगरी उनले पठाएका सबै प्रश्नहरूको जवाफ इमेलमा नै पठाइदिएँ । मेरो त्यो अन्तर्वाता शब्दाङ्कुरमा प्रकाशित भयो । उनी आफ्ना प्रकाशित लेख र रचनाहरू बेलाबेलामा मलाई मेसेन्जरमा पठाउँथे । ती लेख र रचनाहरू पढेर म प्रतिक्रिया दिन्थें । यस प्रकार भौतिक रुपमा हाम्रो प्रत्यक्ष भेटघाट नभए पनि सामाजिक सञ्जालमार्फत हाम्रो सम्पर्क भइरहन्थ्यो । पछिल्लो समय अर्थात २०७७ साल साउन १६ गते उनी मेरो घरमा नै आएर मलाई २९ वटा निबन्धहरूको सङ्ग्रह ‘ब्याक बेन्चर’ दिएका थिए । त्यस बखत उनी आफ्नो जन्मदिनको अवसर पारेर काठमाडौं आएका थिए । उक्त सङ्ग्रहलाई डिकुरा पब्लिकेशन, काठमाडौंले २०७६ सालमा प्रकाशन गरेको रहेछ । कुराकानीको सन्दर्भमा उनले आफूले धेरै कृति तयार पारिसकेको र ती सबै कम्पुटरमा नै छ भनी बताएका थिए । नभन्दै विविध विधाको २३ वटा कृति लेखेको कुरा उनले पछिल्लो पटक ‘अक्षता’ राष्ट्रिय दैनिकलाई यही  २०८० सालको बैशाख १६ गते दिएको अन्तर्वार्तामा उल्लेख गरेका रहेछन् ।

शिक्षण पेशामा संलग्न पेशल आचार्य हाल रामेछापको मन्थली माध्यामिक विद्यालयको प्रधानाध्यापक पदमा कार्यरत थिए । रामेछाप कै दोरम्बा, साँघुटार र मन्थलीमा समेत गरी बत्तीस वर्ष शिक्षण पेशामा नै जीवन व्यतित गरेका उनले बि.सं. २०४२ सालमा “दुई मुक्तक” टुटुल्को हास्यब्यङ्ग्य पत्रिकामा प्रकाशित गरेर नेपाली साहित्यको फाँटमा पाइला टेकेका उनले शिक्षण पेशा मात्र गरेर बसेनन् कि साथसाथै साहित्य लेखनलाई पनि तिब्रताका साथ अघि बढाए । फलस्वरुप उनले विभिन्न विधाका एक दर्जन पुस्तक प्रकाशित गरे । सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा नं. ९ मा २०२३ साल साउन १५ गते जन्मिएका पेशल आचार्य पेशाले एक शिक्षक हुन् र सौखले साहित्यकार । विगत चार दसकदेखि उनले नेपाली साहित्यका विभिन्न विधा विशेषगरी बाल साहित्य, निबन्ध, उपन्यास, कथा साथै उनले पूर्वेली न्युज अनलाईन पत्रिकाको निम्ति लगातार दुई वर्षसम्म समसामयिक लेखहरू लेखिरहे । ‘अक्षता’ राष्ट्रिय दैनिकलाई यही वर्ष २०८० सालको बैशाख १६ गते दिएको अन्तर्वार्तामा आफ्नो भावि योजनाबारे सोधेको प्रश्नमा उनले उत्तर दिएका छन् –

‘म सिनेमाको क्षेत्रमा गएर काम गर्ने धोको थियो । सानामा मैले केही उपद्रो गरेको पनि सम्झन्छु । सिनेमा देखाउने भनेर बुबाको अजन्ता डिक्स्नेरी धुजाधुजा पारेर कैँचीले काटेर बिगारें । बुबाले मज्जाले पिट्नु भयो । अनि त्यतातिरको भूत हट्यो । अझै पनि मेरो एकजना मिल्ने साथी म्युजिक भिडियो र मूभी बनाउँछ । ऊ अझै मलाई फोनमा करकर गरिरहन्छ । सिनेमाका कथा लेख । पटकथा लेख । गीत लेख भनेर । रिटायर्ड भएपछि त्यता जान पनि सकिन्छ । जीवन हो, के थाहा ?

त्यसै गरी लेखनको बारेमा सोधिएको एक प्रश्नको उत्तरमा उनले भनेका छन् – लेखन नै मेरो नशा हो । लेखन नै मेरो प्यासन हो । लेखन नै मेरो जीवन हो । नलेखिरहन म एकछिन पनि बस्न सक्दिन ।

नाम पाएँ । परिचय पाएँ । देशभरिका लेखकहरूले चिन्छन् । त्यही नै मेरो सम्पत्ती हो ।’

साहित्यकार पेशल आचार्यले शिक्षण पेशाबाट अवकास पाउने दिन नजिकिँदै आएको समयमा उनी अझै पनि सिनेमातिर लाग्न सक्ने संभावनालाई नकार्दैनन् । यसै वर्षको माघ महिनामा उनी जागीरे जीवनबाट अवकास पाउँदै थिए । तर त्यो समय आउनु भन्दा पहिले नै उनी ब्रेन ट्युमरजस्तो घातक रोगको सिकार भए । विद्यालयमै वेहोस भएपछि उनी काठमाडौं आएर बानेश्वरस्थित सिभिल अस्पतालमा जँचाउन गए । त्यहाँ उनलाई ब्रेन ट्युमर भएको पत्ता लाग्यो । सिभिल अस्पतालले माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गर्न सिफारिस गरेपछि उनी त्यहाँ गएँ । उनको त्यहाँ अप्रेसन भयो । एक महिनासम्म उपचार गर्दा पनि अस्पतालले ब्रेनमा पानी जमेको समस्यालाई समाधान गर्न नसकेपछि उसले ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा थप उपचारको निम्ति पठायो । तर अफसोचको कुरा, त्यहाँ लगेको एक हप्तामा नै उनको असामयिक निधन भयो ।

नेपाली साहित्यप्रतिको उनको मोह कत्तिको रहेछ भन्ने कुरा उनको अन्तर्वार्ताबाट नै स्पष्ट हुन्छ । साहित्यलाई आफ्नो जीवनको अभिन्न अङ्ग ठान्ने साहित्यकार पेशलले आफ्ना चाहना र इच्छालाई पूर्णता दिन पाउनु भएन । उनको इच्छा अधुरो हुनु भनेको हामी तमाम नेपाली साहित्यकारले उनका कृतिहरू पढ्न नपाउनुबाट हामी पनि वञ्चित हुनु हो भन्ने मलाई लाग्दछ ।

यस प्रकार शिक्षण र लेखनलाई आफ्नो जीवनको अभिन्न अँग ठानेर साहित्य सृजनामा बिगत चालीस वर्षदेखि निरन्तरता दिइरहेका साहित्यिक साधक पेशल आचार्यले ब्रेन ट्युमर जस्तो रोगको उपचारकै क्रममा साउन एक गते सोमबार औँसीका दिन उनको अचानक असामयिक निधन भएपछि नेपाली साहित्यले एउटा प्रतिभाशाली साहित्यकारलाई गुमायो । साहित्यलाई अत्यन्त माया गर्ने र त्यसैमा जीवन समर्पण गरिरहेका पेशल आचार्यले नेपाली साहित्यमा अझै धेरै योगदान दिन बाँकी नै थियो । तर उनी यसरी यो संसारबाट बिदा भए कि जसरी उज्यालो दिइरहेको घामलाई अचानक कालो बादलले ढाकिदिएर अन्धकार पारिदिएजस्तै भइदियो । अर्थात साँझै नपरी अस्ताएको घाम जस्तै नेपाली साहित्यको क्षितिजबाट असमयमै अस्ताए पेशल पनि । मेरो हितैषी, शुभचिन्तक र मलाई अत्यन्त आदरका साथै माया गर्ने मित्र पेशल आचार्यलाई सदाको निम्ति गुमाउनु पर्दाको पीडा म शब्दमा व्यक्त गर्न असमर्थ छु ।

अन्त्यमा मेरा अनन्य मित्र एबम् साहित्यकार स्व.पेशल आचार्यको अमर आत्माले चिर शान्ति पाओस् भन्ने कामनासहित उनीप्रति हार्दिक श्रध्दाञ्जलि अर्पण गर्दै उनको निधनबाट धर्मपत्नी गीता दाहाल (आचार्य), छोरीहरू उत्प्रेक्षा आचार्य, सुभेच्छा–सुमन, छोरा आरम्भमा पर्न गएको यो अपूरणीय क्षतिको निम्ति गहिरो समवेदना प्रकट गर्दछु ।

०००

कवि परिचयः दिव्य गिरी मूलतः कवि हुन् । उनको पहिलोपुस्तक मुक्तक सङ्ग्रह “कङ्काल बस्ती” विसं २०३८ सालमा प्रकाशित भएको थियो । उनका हालसम्म २ मुक्तक सङ्ग्रह, एक गजल सङ्ग्रह, ३ हाइकु सङ्ग्रह, कविता, संस्मरण, कथा र लघुकथाका एक एक सङ्ग्रहप्रकाशित छन् र एक हाइकु सङ्ग्रहको अङ्ग्रेजी अनुवाद पनि प्रकाशित छ । उनी रैथाने काठमाडौं उपत्यकावासी हुन् ।

1 thought on “श्रध्दाञ्जलि संस्मरण: साँझै नपरी अस्ताएको घाम

  1. दिव्य दाजैकाे याे पेशलमाथिकाे ओविच्यूरीले पेशललाई झनै प्रकाश पारेकाे छ । पेशलले बाँच्न पाएका भए नेपाली वाङ्मयमाथि धेरै थाेक गर्ने रहेछन् । ल पेशलजी तपाइँलाई विनम्र श्रद्धाञ्जलि शाेकाप्त परिवारजनमा शाेक सहन सक्ने सहनशक्ति प्राप्त हाेस् ।

Leave a Reply