समालोचना क्षेत्रका एक हस्ती नवीन पौड्यालको नयाँ पुस्तक-सर्जकवृत्त

पुस्तक समीक्षा

अर्जुन पीयूष, कालिम्पोङ

नेपाली साहित्यमा जब-जब प्रबल र दर्बिलो समीक्षाको प्रसङ्ग उठ्ने गर्छ तब पश्चिम बङ्गाल राज्यको कालेबुङ जिल्ला निवासी नवीन पौड्यालको नाम लिनैपर्ने हुन्छ। उनका समीक्षा सम्बन्धित प्रकाशित पुस्तकहरूको लर्को हेर्दा नै लाग्छ उनी समीक्षाका निम्ति जन्मिएका हुन्। उनका प्रकाशित पुस्तकहरू-

१. नेपाली कथा समीक्षा (सहलेखन-समालोचना, २००५)
२. आख्यान अनुशीलन (समालोचना, २०११)
३. साहित्य अनुशीलन (समालोचना, २०१४)
४. साहित्य सन्धान ((समालोचना, २०१८)
५. कृति सन्धान ((समालोचना, २०२०)
६. भारतीय नेपाली समालोचना सन्दर्भिका, (२०२१)
७. नेपाली गीतको सेरोफेरो ((समालोचना, २०२३)
८. चिन्तन समीक्षण (समालोचना, २०२४)
९. सोनपरीसित मित्रता (सचित्र बाल साहित्य, नेशनल बुक ट्रस्टको बाल साहित्य शृङ्खलाअन्तर्गत हिन्दीबाट नेपालीमा अनुवाद।)
अनि भर्खरै प्रकाशित
१०. सर्जकवृत्त (समीक्षात्मक लेख सङ्ग्रह, २०२५)

पुस्तक सम्पादन-

१. साहित्य अकादमी र पच्चीस वर्षको पुरस्कृत नेपाली साहित्य (२००४)
२. कविता विमर्श-जयन्तकृष्ण शर्माका कविताहरूको समसामयिक अध्ययन (समालोचना, २०१४)
३. कविता आलोकन-होमबहादुर छेत्रीका कविताहरूको समसामयिक अध्ययन (समालोचना, २०१५)
४. उत्तर दख्खिन पूर्व पश्छिम-नगेन्द्र शर्माको यात्रापरक लेख संकलन, २०१६)
५. कविता विचरण-राजेन्द्र भण्डारीको कविता अध्ययन (२०२१)
६. महानन्द पौड्याल रचना सञ्चयन (साहित्य अकादमी, नयाँ दिल्लीबाट प्रकाशित, (२०२३) आदि हुन्।

उनीद्वारा लिखित अनि सम्पादित यी कार्यहरूको सूची हेर्दा नै नवीन पौड्याल के हुन् र उनले कस्ता कस्ता कार्य गरेका छन् भन्ने कुरा प्रकाश हुन्छ। उनका अधिकांश समीक्षाहरूमा दार्जीलिङ-कालेबुङ, डुवर्स, सिक्किम लगायत भारतको उत्तर-पूर्वाञ्चल क्षेत्रका प्रायः सबै राज्यमा बसोबास गर्ने लेखक-लेखिकाहरूका पुस्तकबारे, सर्जकबारे अनि त्यहाँको भौगोलिक परिवेश सन्दर्भहरूलाई खोतलेर पाठकसामु ल्याउने भरमग्दूर प्रयास देखिन्छ। अझ उनका समीक्षाहरूमा सर्जकभित्र रहेका तर उनीहरूका सिर्जनाभित्र प्रकाश्य हुननसकेका घटना, उपमा अनि उनका आफ्ना आँखामा परेका सन्दर्भहरूलाई पनि टिपेको पाइन्छ।
उनका अधिकांश समीक्षाहरूमा नेपाल राष्ट्रका व्यक्तिका रूपमा पौड्यालले नचिनेका तर कृतिगत रूपमा परिचित भएका सर्जकहरूका रचनाहरूलाई पनि पारखी ढङ्गमा प्रस्तुत गरेको देख्दा लाग्दछ कि नेपाली साहित्यमा भारत-नेपालमाझको सेतूलाई दर्बिलो बनाउन चाहन्छन्। राष्ट्रका रूपमा हामी अलग अलग भए पनि भाषिक, सांस्कृतिक, धार्मिक अनि परिवेश तथा रहनसहनका हिसाबमा, नाता-गोताका हिसाबमा एउटै पाठशालाका एउटै श्रेणीका विद्यार्थी हौँ भन्ने नवीन पौड्यालको भित्री आशय बुझिन्छ।
नवीन पौड्यालज्यूको नवीन पुस्तक सर्जकवृत्त नेपाली साहित्य अध्ययन समिति, कालेबुङबाट प्रकाशित छ। केही महिनाअघि यो पुस्तक चर्चित साहित्यकारहरूको बाक्लो उपस्थितिमा लोकार्पित भयो। पौड्याल आफ्ना दह्रिला लेखहरूका कारण पनि चर्चित छन्। सिलगढ़ीबाट खेम सामकोटाको सम्पादनमा प्रकाशित हुँदैआएको मध्यमार्ग, नेपाल राष्ट्रको चर्चित अनलाइन पत्रिका साहित्यपोस्ट, समकालीन साहित्य लगायत विभिन्न पत्रिकाहरूमा उनका लेखहरू पाइन्छन्। उनी केवल समीक्षक मात्र नभएर साहित्य अनि समाजमा देखा परेका असान्दर्भिक विषय-वस्तुहरूमाथि बेवाक आफ्ना पक्षहरू राख्ने वर्गमा पर्छन्। त्यसकारण उनी धेरैका नजरमा प्रिय साहित्यकारका रूपमा दह्रिँदैनन्। आजको समयमा देखा परेको चापलुसी, स्तुतिबाज, भजन सङ्गतिभित्र उनी नपर्ने हुनाले धेरैका निम्ति अप्रिय बने पनि नेपाली साहित्यको श्रीवृद्धिमा एक कुशल समालोचक, समीक्षकको लहरबाट उनको नाम कसैले काट्न सक्दैन भन्ने कुरालाई ठोकुवाका साथ राख्न सकिन्छ।
एकपटक हामी सबैले उनको भर्खरै प्रकाशित सर्जकवृत्त समीक्षा पुस्तकलाई हेऱ्यौँ भने मात्र पनि उनका बारेमा एउटा निश्चित धारणा बनाउन सक्छौँ भन्ने मलाई पूर्ण आशा छ।
समीक्षक-आलोचक नवीन पौड्यालज्यूको सर्जकवृत्त पुस्तकमाथि मेरो आफ्नो थप धारणा
साहित्यका विविध विधाहरूमध्ये निबन्धलाई एक प्रमुख विधाको रूपमा हेरिन्छ| निबन्धलाई साहित्यको प्रभावशाली गद्यको रूपमा पनि चित्रण गरिएको छ| निबन्धलाई यस्तो रचना मानिन्छ जसमा विचारलाई विशिष्ट दृष्टि अन्तर्गत प्रस्तुत गरिन्छ| नेपाली साहित्यका समीक्षकका रूपमा स्थापित एक सशक्त स्रष्टाको नाम हो नवीन पौड्याल| नवीन पौड्याललाई चिनाउन उनको जीवनवृतलाई यहाँ कसी लगाउन आवश्यक छैन| उनी एक्लै भारतीय नेपाली साहित्यिक फाँटमा गत्तिलो चिन्हारी बोकेर उभिएका व्यक्तित्व हुन्| उनी कहीँ कतै सीमान्तकृत, ओझेलमा पारिएका जस्ता व्यक्ति देखिए पनि आफ्ना कर्मद्वारा साहित्यमा अग्रगमनको दिशातिर बढ़िरहेका छन् भन्न दायाँ-बायाँ कतै सोच्नु पर्दैन|
उनको नेपाली साहित्य अध्ययन समिति, कालेबुङद्वारा प्रकाशित ‘सर्जकवृत्त’ पुस्तकमार्फत् केही हराउन लागेका, केही उच्च शिखर चुमेका अनि केही अग्रगामी छलाङ लगाउँदै गरेका स्रष्टाहरूका बारेमा जान्न पाउनेछौँ| नवीन पौड्यालको यो ‘सर्जकवृत्त’ पुस्तक सम्पूर्ण रूपमा समीक्षाको पुञ्ज होइन, सायद यसलाई सर्जक समीक्षित पुस्तक भन्न मिल्ला कि? हामीले पढ्दै, भोग्दै अनि झेल्दै आएका पुस्तकहरूलाई समीक्षाको नाम दिएका पुस्तकहरूको सूची लामै देख्दै आएका छौँ| हिजोआज कसैको पुस्तकमाथि केवल प्रशङ्साका केही शब्दहरू कोरिदिएर आफ्ना निम्ति कुनै कार्यक्रमको पहिलो पंक्ति सुरक्षित बनाउने माहोल खुब रापिलो छ| तर समाजमा केही सीमित व्यक्तिहरूलाई सीमान्तकृत गरिन्छ किनभने ती सीमान्तकृत व्यक्तिहरूले कसैको राप-तापको गीत गाउँदैनन् अनि सोही कित्तामा पर्ने व्यक्तिको नाम हो-नवीन पौड्याल| उनका केही लेखहरू यति प्रचण्ड छन् कि यसै पुस्तकभित्र पनि उनी केही सर्जकहरूको ज्ञान विकासको पक्षमा उभिएका छन् भने तिनै सर्जकहरूको आउँदो भविष्यका निम्ति सुझाउ दिन उनी चुकेका छैनन्| समीक्षा भनेको केवल प्रशङ्सा मात्र होइन अनि केवल आलोचना मात्र पनि होइन| सर्जकको पुस्तकको कुना-काप्चातिर पसेर, त्यसभित्र होचा-अग्ला, भिराला-सम्म परेका ठाउँहरूका सिर्जनाहरूमाथि आफ्नो स्तरको अनुगमन गर्नु पनि हो|
सर्जकवृत्तका लेखक पौड्यालजी नेपाली साहित्यमा एक स्थापित साहित्यकार हुन्| उनी उच्च विचार राख्ने तर कतिपय छिचरा सम्मान पाउनकै निम्ति जे पनि र जस्तो पनि लेख्ने सर्जकका कित्तामा पर्दैनन्| उनको आफ्नै लय छ, आफ्नै शैली र प्राञ्जल विचार छ| त्यसैकारण उनी कसैका पुस्तकलाई सजिलै प्रशङ्साको लेपन लगाउँदैनन्|
नवीन पौड्यालका केही लेखहरू यस्ता पनि छन्, जसले नेपाली समाजमा भुइँचालो ल्याउँछ| उनले समाज नजिकका समस्याहरूलाई समाजकै हित र भलोका निम्ति लेखेका छन्| यस पुस्तकमा नैना अधिकारी, पूजा उपाध्याय, डा. वीणा पौड्याल जस्ता केही नारी सर्जकहरूलाई उभ्याएर आफ्नो नारीवादी चेतनालाई उजागार गरेका छन् भने केही युवा पुस्ताहरू पनि गाभिएका छन्| त्यसरी नै पारसमणि प्रधान, नरबहादुर दाहाल, छविलाल उपाध्याय जस्ता पुराना पुस्ता अनि नव सापकोटा, राजेन्द्र भण्डारी, अविनाश श्रेष्ठ, सचिन राई दुमी, सी. के. श्रेष्ठ जस्ता नामित व्यक्तिहरूका सन्दर्भलाई पनि पुस्तकमा गाभिएको छ भने समशेर अली जस्ता वर्तमान पुस्ताका प्रतिनिधिहरू पनि पुस्तकमा छुटेका छैनन्| त्यसरी नै सामाजिक सङ्गठन निर्माण र साङ्गठिनक सुझबुझ भएका चुनिलाल घिमिरे, हरि ढुङ्गेल जस्ताहरूले पनि त्यतिकै न्याय पाएका छन्, जतिको उनीहरूले पाउनुपर्ने हो|
‘सर्जकवृत्त’ पुस्तकलाई हामी दुइ राष्ट्र नेपाल र भारतलाई जोड्ने सेतुका रूपमा पनि हेर्न सक्छौँ| नेपाल-भारत दुवै राष्ट्रका रचनाकारहरू सदैव हाम्रा जातीय संस्कृति, भेषभूषा, रहनसहनका प्रतिनिधि पात्रहरू हुन्| भनौँ एकार्काका पूरक हुन्| सर्जक नवीन पौड्याल बढ़ो सतर्कताका साथ दुवै राष्ट्रका सर्जकहरूका सन्दर्भहरूलाई आफ्ना पुस्तकमा गाभेर दुवै पक्षलाई न्याय दिने कोशिशमा सफल देखिन्छन्| नेपाल राष्ट्रका सर्जक प्रतिनिधि जस्तै गोविन्द गिरी प्रेरणा, कृष्ण बजगाइँ, जनार्दन उपाध्याय, राजेन्द्र सुवेदी जस्ता सर्जकहरूका बारेमा यस पुस्तकमा अध्ययन गर्न पाइनेछ| अर्को कुरा भारत-नेपाल राष्ट्रका माननीय सन्त ज्ञानदिल दासका बारेमा आफ्नो अभिव्यक्ति दिएर सर्जक पौड्याल केवल पुस्तकको सङ्ख्या बढाउन भन्दा ऐतिहासिक पुरुषहरूको योगदानलाई पनि सराहना गर्दै इतिहासका पानामा ऐतिहासिक पुरुषहरू केवल नेपाल राष्ट्रका मात्र होइनन् उनीहरू भारतका पनि जातीय सम्पदा हुन् भन्न उनी हिचकिचाउँदैनन्|
भनौँ यो पुस्तक एक हिसाबले भारत-नेपालको नयाँ भाष्य निर्माण गर्न लागिपरेको जस्तो पनि देखिन्छ| कुनै पनि सर्जकका पुस्तकका सन्दर्भमा एकाध कुराहरू, प्रशङ्साका हरफहरू, केही विवेचनाहरू सबैले गर्छन् तर ती सर्कहरूका बारेमा जान्नुपर्ने धेरै कुराहरू रहेको अनि उनीहरू किनारीकृत हुँदैगरेका तथ्यहरूलाई धेरै कम व्यक्तिले प्रष्ट्याउने गर्छन्| अनि साहस र धैर्यतका साथ उनीहरूका सन्दर्भहरूलाई बढ़ी सौर्य प्रदान गर्दै लेख्ने व्यक्तिका रूपमा नवीन पौड्याललाई पाइन्छ| यसलाई अतिरञ्जना भन्न सायदै सकिएला| हिजो के थियो, त्यो बित्यो| आज के छ र भविष्यमा के हुनेछ अनि कस्तो नीति अप्नाउनुपर्ने भन्नेबारे यस पुस्तकभित्र धेरै कुरा पाउन सकिन्छ| समग्रमा भन्नु पर्दा किनारीकृत पारिएका व्यक्तिहरूका पक्षमा नवीन पौड्याल निर्धक्क लागिपरेको बुझिन्छ| भारतभित्रैका केही आसामतिरका, केही दार्जीलिङ, कालेबुङ अनि केही सिक्किम राज्यका सर्जकहरूका बारेमा यस पुस्तकमा पाठकवर्गले अध्ययन गर्न पाउने छन्| तर डुवर्स लगायत भारतका केही ठाउँहरूका केही सर्जकहरू छुटे कि भन्ने लाग्छ| यद्यपि, भविष्यमा यस सबन्धमा सर्जकवृत्तका लेखक नवीन पौड्यालले विचार गर्नेछन् भन्ने लागेको छ|
हामी सर्जकका विचारहरू पढ्छौँ, उनीहरूका कविता, नाटक, कथा, निबन्ध, प्रबन्धहरूको अध्ययन गर्छौँ तर उनीहरूका बारेमा हामी अनभिज्ञ नै हुन्छौँ| यसरी सर्जकहरूका बारेमा विस्तृत जानकारी धेरै कम लेखकहरूले दिनेगर्छन्| उनीहरूको जीवनवृत्त सम्बन्धमा हामीले जानकारी पाउन आवश्यक छ| पश्चिमेली साहित्यकारहरूका बारेमा हामी धेरै चासो राख्छौँ तर हाम्रै आँगन वरिपरिका सर्जकहरूका बारेमा हाम्रा पाठकवर्गलाई कुनै जदानकारी नै हुँदैन| त्यसकारण नवीन पौड्यालले जसरी सर्जकवर्गका सम्बन्धमा यस पुस्तकमा जुन जानकारी दिएका छन्, त्यसले भविष्यमा आजको समयको वृतान्त जान्नमा हाम्रा युवा पीढ़ीलाई धेरै सहयोग पुग्छ भन्ने मेरो व्यक्तिगत मान्यता रहिआएको छ|
जे होस्, लेखक नवीन पौड्यालले आफ्नो ‘सर्जकवृत्त’ पुस्तक सन्दर्भलाई जसरी व्यक्त्याएका छन्, यो एउटा ऐतिहासिक दस्तावेजको रूपमा भविष्यमुखी पुस्तक बनिनेछ|
०००