२१ चैत २०८२, काठमाडौं
साहित्यकार योगेन्द्र तिमिल्सिनाको लघुकथासङ्ग्रह “बोकेदाह्री” को लोकार्पण भयो ।
समारोहमा समीक्षकद्वय प्रा.डा. भरतप्रसाद भट्टराई तथा महेश प्रसाईले विमोचित लघुकथासङग्रहका लघुकथाहरुको समीक्षा प्रस्तुत गरे ।
विशेष अतिथि लघुकथाकार ध्रुव मधिकर्मीले साहित्यकार योगेन्द्र तिमिल्सिनाको कथाको क्षेत्रमा लामो पृष्ठभूमि रहेको उल्लेख गर्नु हुँदै बोकेदाह्रीमा समावेश केही लघुकथाहरु बारे चर्चा गरे । त्यस्तै अर्का विशेष अतिथि लघुकथा समाजका सचिव तथा मधुपर्क मासिकका सम्पादक तुलसीहरि कोइरालाले लघुकथाको ऐतिहासिक ष्ष्ठभूमि केलाउँदै यसको लोकप्रियता बढ्दै गएको र लघुकथा लेखन पनि विस्तार हुँदै गएको कुरा उल्लेख गर्नु भयो ।
महेश प्रसाईंले कथाकार योगेन्द्र तिमिल्सिनाको २०२८ सालदेखिको लामो साहित्यिक पृष्ठभूमि केलाउँदै उतिवेलैदेखिका स्थापित सम्पादक र साहित्यिक अध्येता तिमिल्सिनाको लघुकथा कृतिले राम्रो साहित्यिक मूल्य बोकेको बयान गरे । प्रा.डा. भरतप्रसाद भट्टराईले लघुकथासङ्ग्रह बोकेदाह्री मा प्रकाशित चालीस लघुकथाहरुको प्रवृत्तिगत समूहमा विभाजन गरी विस्तृत समीक्षा प्रस्तुत गरेका थिए । मानवीय समवेदना, समकालीन राजनीतिप्रतिको ब्यङ्ग्य, अन्धविश्वास, सामाजिक र साँस्कृतिक विचलन आदि विषयमा कथाहरुको वर्गीकरण गरी उनले लघुकथासङ्ग्रहको समीक्षा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्रष्टा योगेन्द्र तिमिल्सिनाले आफूलाई उत्कृष्ट लागेको २०२८ मा प्रकाशित “मान्छे” शीर्षक लघुकथा वाचन गरेका थिए र उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
हरि गौतमले सञ्चालन गरेको सो कार्यक्रमको अन्त्यमा सभाध्यक्ष डा. तुलसी भट्टराईले २०३२ सालदेखिको आफू र डा. गोविन्दराज भट्टराईको लेखकसँगको साहित्यिक सम्बन्धको चर्चा गर्दै कथाकारलाई अझ उर्जाशील भई साहित्यिक कर्ममा लाग्न शुभकामना दिएका थिए ।
०००
