सुबिन भट्टराईको “समर लभ”: एक पाठकीय दृष्टिकोण

पुस्तक समीक्षा

भाष्कर मैनाली शर्मा, दार्जिलिङ

सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ पहिलो पटक विक्रम संवत् २०६९ सालमा प्रकाशित भएको हो। जम्मा २४७ पृष्ठमा फैलिएको यो उपन्यास मझौला आकारको छ। प्रेम सम्बन्धमा आधारित यस उपन्यासको मूल कथावस्तु दुई मुख्य पात्र अतीत र साया बीचको प्रेम सम्बन्ध वरिपरि केन्द्रित रहेको छ।
उपन्यासमा अतीत र साया विश्वविद्यालयमा अध्ययनरत प्रेमी–प्रेमिका हुन्। उनीहरूको पारिवारिक पृष्ठभूमि पूर्ण रूपमा फरक–फरक छ। अतीत नेपाल तराईको विराटनगर क्षेत्रका नेपाली भाषी बाहुन (ब्राह्मण) समुदायबाट आएका पात्र हुन् भने साया काठमाडौंको नेवारी समुदायअन्तर्गत शाक्य वंशकी युवती हुन्। यसरी उनीहरूबीचको प्रेम सम्बन्ध अन्तरजातीय भएकाले दुवै परिवारको कडा आपत्ति रहेको देखिन्छ। तथापि, पारिवारिक विरोधका बाबजुद पनि उनीहरूले आफ्नो प्रेमलाई निरन्तरता दिन्छन् र अन्ततः सायाको परिवारलाई जानकारी नदिई विवाहसमेत गर्छन्।
तर विवाहपश्चात् उनीहरूको सम्बन्धमा क्रमशः प्रेमको ह्रास आउँदै जान्छ। अन्ततः सायाले अतीतसँग सम्बन्ध तोड्छिन्। यस घटनाले अतीतको जीवनमा गहिरो मानसिक असर पार्छ। सायाबाट अलग भएपछि अतीत अत्यन्तै दुःखी हुन्छ। उसले सायालाई पुनः फर्काउन धेरै प्रयास गर्छ तर साया प्रेम वा वैवाहिक सम्बन्धलाई अघि बढाउन तयार हुँदिनन्। त्यसपछि अतीत निराश जीवन बिताउन थाल्छ र सायालाई बिर्सन मादक पदार्थको सहारा लिन पुग्छ।
यही क्रममा अतीत केही समयका लागि सुष्मितासँग कृत्रिम सम्बन्धमा बाँधिन्छ। सुष्मितासँगको सम्बन्धले अतीतलाई बिस्तारै सायालाई बिर्सन सहयोग गरिरहेको देखिन्छ। तर एक दिन सायाको फोन आएपछि अतीत र सायाबीच पुनः सम्पर्क हुन्छ। उनीहरूको सम्बन्ध फेरि अघि बढे पनि पहिलेको जस्तो प्रेमपूर्ण हुँदैन; बरु यसपटक उनीहरूबीच मिलनभन्दा बढी विवाद देखिन्छ। उता सुष्मितासँग पनि अतीतको सम्बन्ध लामो समय टिक्दैन र अन्ततः सुष्मिताले अर्कै युवकसँग विवाह गर्छिन्, जसप्रति अतीतले कुनै आपत्ति जनाउँदैन।
उपन्यासको अन्त्यतिर अतीतले सायालाई आफू केही समय सुष्मितासँग सम्बन्धमा रहेको सत्य बताउँछ। यही खुलासासँगै उपन्यासको अन्त्य हुन्छ। साथै लेखकले यसै उपन्यासको दोस्रो भागको संकेत दिएका छन्, जुन साया शीर्षकमा प्रकाशित भई हाल बजारमा उपलब्ध छ।
समर लभ उपन्यासले प्रेम सम्बन्ध विच्छेदपश्चात् एक प्रेमीले भोग्नुपर्ने पीडा र त्यसबाट उत्पन्न हुने मनोवैज्ञानिक प्रभावलाई अत्यन्त प्रभावकारी रूपमा चित्रण गरेको छ। यसमा फेसबुक, स्काइपजस्ता आधुनिक सामाजिक सञ्जाल सक्रिय रहेको वर्तमान समयलाई ध्यानमा राखेर कथा बुनेको देखिन्छ। पहिले विवाहलाई सात जन्मसम्मको सम्बन्ध मानिने र सम्बन्ध विच्छेद अत्यन्तै दुर्लभ मानिने सामाजिक धारणा आज परिवर्तन हुँदै गएको यथार्थ यस उपन्यासमार्फत् स्पष्ट हुन्छ। साना मतभेदमै पनि वैवाहिक सम्बन्ध टुट्ने आजको यथार्थले विवाहप्रतिको गम्भीरता घट्दै गएको अनुभूति पाठकलाई हुन्छ।
त्यस्तै, विवाहपूर्व प्रेमी–प्रेमिकाबीच शारीरिक सम्बन्धलाई पहिले समाजले अपराधसरह हेर्थ्यो भने आजको समाजमा त्यस्तो सम्बन्धलाई सामान्य रूपमा लिन थालिएको यथार्थ पनि उपन्यासले प्रस्तुत गरेको छ। अन्तरजातीय विवाह आज सामान्य बन्दै गएको भए पनि अझै पनि धेरै प्रेमी–प्रेमिकाका लागि यो सजिलो विषय नभएको कुरा उपन्यासले देखाउँछ। समाज र परिवारको विरोधका बाबजुद पनि आफ्नो प्रेमका लागि संघर्ष गर्ने युवाहरूको यथार्थ चित्र यस कृतिमा भेटिन्छ।
उपन्यासले कलेज जीवनका स्मृतिहरू पनि ताजा गराइदिन्छ। अतीत र सायाको कलेज जीवन, कलेजको परिवेश, साथीहरू, प्राध्यापकहरू, नतिजा प्रकाशनको समयमा हुने विद्यार्थीहरूको डर र उत्सुकता—यी सबै पक्ष लेखकले अत्यन्त जीवन्त रूपमा प्रस्तुत गरेका छन्। यस कारण पाठकलाई आफ्नै कलेज जीवनको सम्झना दिलाउँछ।
भौगोलिक पृष्ठभूमिका रूपमा यस उपन्यासमा काठमाडौं, धनगढी, चितवन तथा नेपालको सुदूरपश्चिम क्षेत्र समेटिएका छन् भने नेपालबाहिर भारतको दिल्ली र युरोपको नर्वे पनि कथाभूमिमा समावेश गरिएको छ।
अन्त्यमा भन्नुपर्दा, ‘समर लभ’ उपन्यासले विशेषगरी युवा पाठकवर्गलाई अत्यन्त आकर्षित गरेको छ। युवावस्थामा भोग्नुपर्ने प्रेम, संघर्ष, विछोड र मानसिक उतार–चढावलाई लेखकले यथार्थपरक रूपमा प्रस्तुत गरेका छन्। यस उपन्यासले पाठकलाई रोमाञ्चित बनाउँछ, कतै हसाउँछ र कतै भावुक बनाई आँसु झार्न बाध्य पार्छ। आगामी दिनहरूमा पनि लेखक सुबिन भट्टराईबाट यस्तै प्रभावशाली र पठनीय उपन्यासहरूको अपेक्षा पाठकवर्गले राखेको छ।

०००